पनौती । सामुदायिक बचत तथा ऋण सहकारी संस्था, पनौतीको ३१ औं स्थापना तथा एकीकरण दिवस सोमबार सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष मुकुन्द शर्माको सभाध्यक्षता एवं पनौती नगरपालिकाका नगर प्रमुख रामशरण भण्डारीको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको हो । कार्यक्रममा पनौती नगरपालिकाका उपप्रमुख गीता बन्जारा विशिष्ठ अतिथिको रुपमा रहनुभएको थियो ।

संस्थाका सचिव सरोजकुमार तिमल्सिनाले सञ्चालन गरेको कार्यक्रममा संस्थाकी उपाध्यक्ष भवानी थापाले ३१ औं स्थापना तथा एकीकरण दिवस हर्सोल्लासका साथ मनाउन पाउनु हामी सबैको लागि गौरवको विषय भएको विचार व्यक्त गर्दै संस्थाको निमन्त्रणालाई स्विकार गरी कार्यक्रममा सहभागी प्रमुख अतिथि, अतिथि लगायत सम्पूर्ण सहभागीहरुलाई संस्थाका तर्फबाट स्वागत गर्नुभएको थियो ।

प्रमुख अतिथि नगर प्रमुख रामशरण भण्डारीले नगरकै नमुना सहकारीको रुपमा रहेको उल्लेख गर्दै यस संस्थाले एकीकरण अभियानसँगै सदस्य सेवा र सहकारी सेवालाई उत्कृष्ट पार्दै सहकारीहरुको सिकाईको केन्द्रको रुपमा स्थापित हुन र सहकारीका सिद्धान्त र नीतिलाई पालना गर्दै उत्कृष्ट सहकारीको रुपमा पहिचान कायम राख्न सफल रहोस् भन्दै नवनिर्वाचित अध्यक्षको नेतृत्वको सञ्चालक समिति र लेखा समितिको कार्यकाल सफलतासहितको शुभकामना व्यक्त गर्नुभयो ।

पनौती नगरपालिका वडा नंं ४ का अध्यक्ष दिपकप्रसाद दाहालले जस्तोसुकै परिस्थितिमा पनि आफूलाई अब्बल सावित गर्न सफल यस संस्था सधैं दिगो र सुरक्षित संस्थाको रुपमा कायम रहन सकोस् भन्ने शुभकामना दिनुभयो । कार्यक्रममा बागमती प्रदेश सहकारी संघका सचिव देवराज न्यौपानेले प्रदेशभित्रको उत्कृष्ट संस्थाको रुपमा आफूलाई उभ्याउन सफल रहेकोमा बधाई दिंदै एकीकरण अभियानलाई सफलिभूत पार्न पनि संस्थाको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै हाल आएको अध्यादेशका विषयमा समेत चर्चा गर्दै संस्थाको अभैm सफलताको कामना गर्नुभयो ।

जिल्ला सहकारी संघका अध्यक्ष अमन पोटेले प्रदेशकै ठूलो र उत्कृष्ट सहकारीको रुपमा स्थापित हुन सफल संस्थाले सदस्य सेवा र सहकारी सेवालाई उत्कृष्ट पार्दै लगेको उल्लेख गर्दै सहकारीका ऐन र नियम र आन्तरिक सुशासनलाई पूर्ण पालना गर्दै उत्कृष्ट सहकारीको पहिचान कायम राख्न सफल रहोस भन्दै नवनिर्वाचित अध्यक्षको नेतृत्वको सञ्चालक समिति र लेखा समितिको कार्यकाल सफलतासहितको शुभकामना मन्तव्य राख्नुभयो ।

नेपाल रेडक्रस सोसाईटी काभ्रेका उपसभापति ज्ञानबहादुर लामाले हरेक परिस्थितिमा आफूलाई उत्कृष्ट र सुरुवातको संस्थाको रुपमा स्थापित गर्न सफल संस्थाले निःशुल्क रगतको सम्झौताको सुरुवात गरेसँगै सदस्य र समुदायप्रति पूर्ण प्रतिवद्ध रहेको सदस्यमैत्री सेवामा सधैं अग्रणी रहेको प्रमाणित गरेको उल्लेख गर्दै सधैं सर्वोत्कृष्ट संस्थाको रुपमा रहन सफल रहोस् भन्ने कामना गर्नुभयो ।

संस्थाका सल्लाहकार शम्भुलाल श्रेष्ठले स्थापनादेखि नै समुदाय केन्द्रित कार्यमा अग्रणी रहेको स्मरण गराउँदै उत्कृष्ट सञ्चालकहरुको नेतृत्व रहेको यो संस्था सहकारी अभियानको अभियान्ताको रुपमा अग्रणी भूमिकामा रहेर कार्य गरिरहेको चर्चा गर्दै संस्था उत्कृष्ट व्यक्तिहरुको शुरुवाती संस्थाको रुपमा रहेकोमा गौरवान्वित महशुस भएको उल्लेख गर्दै सुशासन कायम राखि सञ्चालन हुन सकोस भन्ने शुभकामना व्यक्त गर्नुभयो ।

संस्थाका निवर्तमान अध्यक्ष प्रकाश बन्जाराले ३१औं स्थापना दिवस तथा एकीकरण दिवसको रुपमा मनाइरहँदा गौरवको महशुस भएको उल्लेख गर्दै संस्थापक सदस्यहरुको सुरुवातले नै आजको दिन सम्भव भएको उल्लेख गर्नुभयो । संस्थागत विकासक्रमलाई स्मरण गर्नु हुँदै उहाँले अबको अभियान संस्थागत सुदृढीकरणलाई प्राथमिकतामा राखि सदस्यहरुलाई संस्थाका वस्तु तथा सेवाको जानकारी गराउँदै संस्थागत विकासमा लाग्नुपर्ने यसकार्यमा सधैं साथ र हातेमालो रहने प्रतिबद्धताका साथ मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा बागमती प्रदेश सहकारी संघ, बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ, जिल्ला सहकारी संघ, काभ्रे, नेपाल रेडक्रस सोसाईटी, नेपाल पत्रकार महासंघ, काभ्रेपलाञ्चोकका नवनिर्वाचित अध्यक्ष लगायत सञ्चालक समितिहरुलाई कार्यकाल सफलताको शुभकामनासहित सम्मान गरिएको थियो ।
संस्थाको स्थापना दिवसको अवसरमा सामुदायिक विद्यालय तथा निजी विद्यालयतर्फ आवेदन प्राप्त भएका मध्ये उत्कृष्ट अंक हासिल गर्ने संस्थाका सदस्य तथा परिवार मध्येबाट छात्र तथा छात्रा गरी ४ जनालाई उत्कृष्ट एसईई सम्मान, ३ जनालाई सामुदायिक छात्रवृत्ती, ८० वर्षभन्दा माथि उमेरका ३५ जना ज्येष्ठ सदस्यहरुको सम्मान, साथै संस्थाका उत्कृष्ट शेयर खरिदकर्ता, उत्कृष्ट बचतकर्ता सदस्यहरु र उत्कृष्ट ऋणी सदस्यहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो ।
संस्थगत विकास तथा विस्तारमा योगदान गरेका संस्थाका पूर्व संचालकहरुलाई संस्थामा गर्नुभएको योगदानको उच्च कदरका साथ आगामी दिनहरुमा पनि साथ र सहयोगको अपेक्षासहित सम्मान गरिएको थियो । कार्यक्रममा वर्षको उत्कृष्ट कर्मचारीको रुपमा युवाज्योती सेवाकेन्द्रमा कार्यरत बजार प्रतिनिधी सुजना तामाङ र उत्कृष्ट सेवा केन्द्रको रुपमा कुन्तावेशी सेवाकेन्द्र पुरस्कृत भएको थियो ।

कार्यक्रमको क्रममा प्रमुख कार्यकारी अधिकृत मदन बस्नेतले संस्थाको स्थापनाकालदेखि हालसम्मको अवस्था, स्थापनाको आवश्यकता र उद्देश्य लगायत विकास र सेवा विस्तारको विषयमा प्रकाश पार्नुभयो । उहाँले ३१औं स्थापना दिवस मनाउँदै गर्दा संस्थाको कार्यक्षेत्र काभ्रेपलाञ्चोक, काठमाडौं, भक्तपुर, ललितपुर, मकवानपुर र सिन्धुलीसहित ६ जिल्लाभित्रका संस्थामा आवद्ध रहेर प्रत्यक्षरुपमा सेवा प्राप्त गरिरहनुभएका ६० हजार ३ सय ६४ शेयर सदस्यहरु र कारोबार अंक ६ अर्ब २४ करोड, कर्मचारी १३४ जना, मुख्य कार्यालय बाहेक १८ वटा सेवाकेन्द्रहरुमार्फत सहकारी वित्तीय सेवाका साथै गैरवित्तीय सेवाहरुसमेत प्रदान गर्दै आएको जानकारी गराउनुभयो ।
उहाँले समयसापेक्ष प्रविधिमैत्री सेवा अन्तर्गत सामुदायिक स्मार्ट बैंकिङ, सेवा, एटिएम, क्यूआर पेमेन्ट साथै कनेक्ट आइपिएसमार्फत रकम ट्रान्सफर लगायतका सेवाहरु सदस्यहरुलाई उपलब्ध गराउँदै आएको जानकारी गराउनुभयो । जसमा सदस्यमैत्री सेवाहरु अन्तर्गत जन्मदेखि मृत्युसम्मका सुत्केरी भेटघाट, सदस्य स्वास्थ्य राहत, घातक रोग उपचार राहतदेखि सदस्य तथा पारिवारिक समवेदना राहतसमेतको राहतका कार्यक्रम, सम्मान तथा पुरस्कार लगायत सामाजिक कार्यहरुसमेत सञ्चालन गरिरहेको यस संस्था १८ वटा सहकारी संस्थाहरु एकीकरण भई यस अवस्थामा आइपुगेको जानकारी गराउनुभयो ।

कार्यक्रमको समापनमा संस्थाका अध्यक्ष एवं कार्यक्रमका सभाध्यक्ष मुकुन्द शर्मा वाग्लेले संस्थाले सदस्यमैत्री सेवा उपलब्ध गराउने क्रममा ३१औं स्थापना तथा एकीकरण दिवसको दिनबाट नेपाल रेडक्रस सोसाईटी रक्त सञ्चार शाखासँगको सहकार्यमा संस्थाका शेयर सदस्यहरुलाई निःशुल्क रगत उपलब्ध गराउन सुरुवात गरिएको जानकारी गराउनुभयो । सम्झौता अनुसार सदस्यहरुले संस्थाको सिफारिसमा निःशुल्क रगत प्राप्त गर्न सक्ने उल्लेख गर्नुभयो । संस्थाका संस्थापकहरुले संस्था स्थापना गरी सुरुवाती जग बसालिदिनु भएकोले नै आजको अवस्थामा पु¥याउन सकिएकोमा संस्थापक सदस्यहरुप्रति हार्दिक सम्मान प्रकट गरेका थिए ।

कार्यक्रममा पनौती न.पा. ४ का वडा अध्यक्ष, छाता संगठनका अध्यक्ष तथा प्रतिनिधिहरु लगायत पत्रकार महासंघका अध्यक्ष लगायत पत्रकारहरु, नेपाल रेडक्रस सोसाइटीका उपसभापति र सञ्चालक समिति सदस्यहरु, लेखा सुपरीवेक्षण समितिका संयोजक तथा सदस्यहरु लगायत विषयगत उप समिति र सेवाकेन्द्र व्यवस्थापन उप–समितिका संयोजक तथा सदस्यहरुको सहभागिता रहेको थियो । स्थापना दिवसको अवसरमा सोहि दिन संस्थाले आफ्नो मुख्य कार्यालय प्राङ्गणमा आयोजना गरेको रक्तदान कार्यक्रममा ४५ जना रक्तदाताहरुले रक्तदान गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *