काठमाडौं । सरकारले विज्ञापन बोर्डको रिक्त अध्यक्ष पदमा लक्ष्मण हुमागाईंलाई नियुक्त गरेको छ ।
हुमागाईंलाई सरकारले बोर्डको रिक्त अध्यक्षमा पुनः नियुक्ति गरेको हो । यसअघि हुमागाईं आफ्नो चारवर्षे कार्यकाल सकेर बिदा हुनुभएको थियो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गत वैशाख ५ गते सार्वजनिक सूचना प्रकाशित गरी आवेदन माग गरेकोमा सबै प्रतिस्पर्धीलाई पछि पार्दै हुमागाईं उक्त पदमा पुनः नियुक्त हुनुभएको हो ।
सरकारले २०७८ सालमा विज्ञापन बोर्डको गठन गरेको थियो । आमसञ्चार माध्यम, वाह्य विज्ञापन (होर्डिंङ्ग बोर्डमार्फत), सामाजिक सञ्जालबाट हुने विज्ञापनका साथै सभा समारोह, चलचित्र घर, मेला महोत्सवमा हुने विज्ञापनको अनुगमन तथा नियमन गर्न बोर्डको गठन गरेको हो ।
सिफारिश समितिले व्यवसायिक कार्य योजना, प्रस्तुतीकरण तथा अन्तर्वार्तामा उच्च अंक प्राप्त गर्ने तीन जनाको नाम मन्त्रिपरिषदमा पेश गरेको थियो । जसमा सर्वोत्कृष्ट अंक ल्याउन सफल हुमागाईंलाई नियुक्ति गरिएको सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरूङ्गले जानकारी दिनुभयो ।
त्यस्तै सरकारले जापान सरकारबाट छात्रवृत्ति परियोजनाको लागि प्राप्त हुने जापानी येन ५७२ मिलियन (करिब ५३ करोड ७६ लाख रुपैयाँ) बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय पनि गरेको छ ।
