काठमाडौँ । वैदेशिक रोजगारीमा गएका श्रमिकमध्ये औसतमा दैनिकको चार जनाको शव भित्रिने गरेको छ ।
वैदेशिक रोजगार बोर्डको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको दस महिनामा वैदेशिक रोजगारीमा गएकामध्ये एक हजार २१७ जनाको शव भित्रिएको हो । यो तथ्याङ्क अनुसार प्रत्येक महिना १२२ जना र दिनमा चार वटा शव नेपाल भित्रिन्छ ।
तथापि यो सङ्ख्या वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएर गएका करार अवधिभित्र रोजगारीका क्रममा ज्यान गुमाएर बोर्डबाट आर्थिक सहायता लिनेको मात्र हो । भ्रमण भिसामा गएका र करार अवधि सकिएर पनि विदेशमै काम गरिरहेको अवस्थामा ज्यान गुमाउनेको सङ्ख्या यसमा पर्दैन तर त्यसको पनि नतिजा उस्तै रहेको बताइन्छ, यसको आधिकारिक तथ्याङ्क भने भेटिँदैन ।
बोर्डका अनुसार गत आर्थिक वर्षमा एक हजार ३७८ जनाले ज्यान गुमाएका थिए । चालु आवको १० महिना र गत आवको तथ्याङ्क विश्लेषण गर्दा चालु आवमा वैदेशिक रोजगारीमा मृत्यु हुनेको सङ्ख्या बढ्ने देखिन्छ । वैदेशिक रोजगारीमा ज्यान गुमाउनेको ठूलो सङ्ख्या मध्यपूर्वका (खाडी) र मलेसियामा काम गर्ने श्रमिक छन्  । अन्यमा दक्षिण कोरिया, जापान, युरोपेली देशलगायत रहेका छन् ।
बोर्डका अनुसार वैदेशिक रोजगारीमा ज्यान गुमाएका परिवार र अङ्गभङ्ग भएर फर्किएकालाई आर्थिक सहायतास्वरूप ५८ करोड रुपियाँ भुक्तानी गरिसकिएको छ भने ८८ करोड रुपियाँ भुक्तानीको क्रममा छ । बोर्डले आर्थिक सहायता वितरणका आधारमा वैदेशिक रोजगारीका क्रममा मृत्यु हुने नेपालीको सङ्ख्या यकिन गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *