काभ्रे । नेपाल प्रजातन्त्र सेनानी संघ काभ्रेको दोश्रो जिल्ला अधिवेशन सम्पन्न भएको छ । गत शनिबार बनेपामा सम्पन्न अधिवेशनमा ६ जना सेनानीहरुलाई सम्मान गरियो । सम्मानित हुनेहरुमा राजेन्द्र खरेल, इन्द्रमणि अधिकारी, सानुलालबहादुर तामाङ, कुबेर कृष्ण कायस्थ, मिश्रीलाल श्रेष्ठ र प्रेमबहादुर महाजु हुनुहुन्छ ।
सम्मानित हुने सेनानीहरुलाई प्रमुख अतिथी नेपाल प्रजातान्त्र सेनानी संघका केन्द्रीय अध्यक्ष बालकृष्ण दाहालले सम्मान पत्र, नेपाली कांग्रेसका केन्द्रीय सदस्य मधु आचार्यले दोसल्ला, केन्द्रीय सदस्य गणेश लामाले माला र कांग्रेस जिल्ला उपसभापति रमेश हुमागाईंले मायाको चिनो प्रदान गर्नु भएको थियो । कार्यक्रममा प्रमुख अतिथि बालकृष्ण दाहाल, नेपाली कांग्रेस केन्द्रीय सदस्य मधु आचार्य र गणेश लामा, सेनानी संघका बाग्मती प्रदेश संयोजक गोपाल गिरी, केन्द्रीय प्रतिनिधि कृष्णा अमात्य र नेपाली कांग्रेस जिल्ला उपसभापति रमेश हुमागाईंले र सम्मानित हुनेहरुका तर्फबाट इन्द्रमणि अधिकारीले सम्बोधन गर्नुभएको थियो ।
कार्यक्रममा स्वागत जिल्ला सेनानी संघको उपाध्यक्ष रामहरी श्रेष्ठले र धन्यवाद ज्ञापन बाग्मती प्रदेश समितिका सदस्य गोबर्धन कर्माचार्यले गर्नुभएको थियो । अधिवेशनले तदर्थ समितिका पदाधिकारीहरुलाई नै केही थप गर्ने गरी सर्वसम्मतले चयन गरेको छ भने केन्द्रीय प्रतिनिधिमा इन्द्रमणि अधिकारी, गोबर्धन कर्माचार्य र मुकुन्द कोइरालालाई चयन गरेको छ । थप एक सदस्यमा केशवप्रसाद पौडेल हुनु भएको छ भने बाँकी कार्यसमितिले मनोनयन गरि पदपूर्ति गरिने छ । कार्यक्रममा सचिव प्रताप ताम्राकारले प्रगति प्रतिवेदन र राजन श्रेष्ठले आय व्यय विवरण पेस गर्नु भएको थियो । सोही दिन वीर गणेशमान सिंहको ११० औं जन्मदिन र सुवर्ण शम्शेरको स्मृति दिवस परेकाले दुवै दिवंगत नेताहरुको सम्झना गरिएको थियो । अधिवेशनले सुरेश सैंजुको अध्यक्षतामा कार्यसमिति निर्विरोध चयन गरिएको थियो ।
