धुलिखेल । धुलिखेल नगरपालिकाले आर्थिक वर्ष २०८१÷२०८२ को बार्षिक गतिविधि तथा सेवा प्रवाह सन्र्दभमा तेश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ । कार्यक्रमलाई दिगो विकासका लागि नागरिक मञ्चले सहजिकरण गरेको थियो ।
प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद मरासैनीको अध्यक्षतामा भएको कार्यक्रममा नगरपालिकाले प्रदान गरेको सेवाका बारेमा सामाजिक विकास शाखा प्रमुख विदुर गौतमले प्रतिवेदन प्रस्तुत गर्नुभयो । शाखागतरुपमा भएका प्रगति तथा चुनौतीहरुका बारेमा समेत कार्यक्रममा गतिविधिहरु प्रस्तुत गरिएको थियो ।
जसअनुसार धुलिखेल नगरपालिकाले आर्थिक वर्षको अन्त्यसम्ममा चालुतर्फ ८९.७१ प्रतिशत, पुँजीगततर्फ ६६.६१ प्रतिशत, वित्तिय ब्यवस्थातर्फ ८६.७० प्रतिशत र कुल जम्मा ८२.३३ प्रतिशत प्रगति गरेको छ । क्षेत्रगततर्फ सबैभन्दा धेरै कार्यालय संचालन तथा प्रशासनिकतर्फ ९० प्रतिशत खर्च भएको छ भने सबैभन्दा कम आर्थिक विकासमा ३८ प्रतिशत खर्च भएको छ ।
यसैगरि दिगो विकासका लागि नागरिक मञ्चले नागरिकहरुसँग लिएको बहिर्गमन प्रतिवेदन र नागरिक प्रतिवेदन सहजकर्ता एवं नेपाल पत्रकार महासंघ काभ्रे शाखाका पूर्वअध्यक्ष मोतिराम तिमल्सिनाले प्रस्तुत गर्नुभयो । सेवाग्राहीको समग्र भनाइमा कार्यालयका राम्रा पक्षहरुमा कर्मचारीहरुको व्यवहार मिलनसार र सन्तोषजनक, कार्यालयको व्यवस्थापन पक्ष राम्रो र सेवाग्राहीको सेवा प्रवाहमा सन्तुष्ट नै रहेको देखिएको प्रतिवेदनमा उल्लेख छ ।
कार्यक्रममा एकीकृत समाजवादीका दयासागर श्रेष्ठले नगरपालिकाले पारदर्शिता तथा सुशासनका लागि उठाएका विषय सकारात्मक रहेको बताउँदै खानेपानी, जग्गा ब्यवस्थापन लगायतका विषयसँगै तीन तहका सरकारसँगको अन्तरसम्वन्धमा ध्यान दिन सुझाव दिनुभयो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद मरासैनीले नागरिकहरुले उठाएका सवालहरु तथा नगरपालिकाले निर्माण गरेका कानून र तीन तहका सरकारसँगको समन्वयका बारेमा आवश्यक सुधार गर्ने प्रतिवद्धता ब्यक्त गरेका थिए । सार्वजनिक सुनुवाइ भनिए पनि सर्वसाधारणको उपस्थिती नगन्य थियो भने नगर प्रमुख, उपप्रमुख, वडाध्यक्षलगायतका जनप्रतिनिधिको पनि उपस्थिती थिएन ।
