ज्ञानमणि नेपाल कालोटोपी
बनेपा । सरकारले स्वास्थ्य बीमाका लागि साउन १ गतेदेखि नयाँ नियम लागू गरेपछि यसअघि भइरहेको सेवा एकाएक प्रभावित बनेको छ । जसले गर्दा देशभरका सेवाग्राहीहरु जस्तै काभ्रेका नागरिक पनि अहिले हैरान मात्र भएका छैनन्, सरकारले तोकेका स्वास्थ्य संस्थाहरुलाई टाउको दुखाई पनि भएको छ । यता नागरिकहरु भने सरकार जनताको स्वास्थ्य सेवा पाउने अधिकारप्रति गैरजिम्मेवार बनेको आरोप लगाइरहेका छन् ।
सरकारले २०७२ सालदेखि स्वास्थ्य बीमाको माध्यमबाट स्वास्थ्य सेवाको पहुँच र उपभोग बढाउनका साथै गुणस्तरीय स्वास्थ्य सेवाको सुनिश्चित गर्ने उद्देश्यले देशभर स्वास्थ्य बीमा कार्यक्रम संचालनमा ल्याएको थियो । सरकारले आर्थिक वर्ष ०७७÷०७८ देखि ७७ वटै जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम लागू गर्न थालेको हो । स्वास्थ्य बीमा बोर्डको गठन भने २०७२ सालमा भएको थियो । बीमा कार्यक्रममार्फत पाँच जनासम्मको परिवारको तीन हजार ५ सय रुपैयाँ बुझाएपछि त्यस घरमा रहेका सदस्यले एक लाख रुपैयाँ बराबरको औषधि उपचार सरकारले तोकेको अस्पतालमा गराउन सक्नेछन् । पाँच जनाभन्दा बढी सदस्य भए प्रतिसदस्य ७ सयका दरले बीमा रकम थप गर्नुपर्नेछ । पाँच जनाभन्दा बढी सदस्यले प्रतिसदस्य २० हजारदेखि दुई लाख रुपैयाँसम्म निःशुल्क उपचार गर्न पाउने व्यवस्था छ ।

बोर्डले बीमा कार्यक्रमका लागि देशभरिका सरकारी र निजी गरी ३७७ अस्पताल तथा स्वास्थ्य संस्थालाई सूचीकृत गरेको छ । बोर्डले ७७ वटै जिल्लामा कार्यक्रम लागू गरेपछि सबै नागरिकलाई बीमामा आबद्ध गराउने पहल गरिरहेको थियो । अझै पनि मानिसमा स्वास्थ्य बीमाप्रति जानकारी नभएर धेरै मानिस स्वास्थ्य बीमाबाट बाहिर रहेका छन् । यस्तो अवस्थामा स्वास्थ्य बीमा ऐन, २०७४ (दोस्रो संशोधन) तथा नियमावली, २०७५ को (प्रथम संशोधन) ले प्रथम सेवा बिन्दु सरकारी स्वास्थ्य संस्थामा मात्र सीमित रहने स्पष्ट व्यवस्था गरेकाले यो काम काभ्रे जिल्लामा रहेका ४ वटा प्राथमिक स्वास्थ्य केन्द्र र एउटा सरकारी अस्पतालले गर्नुपर्नेछ ।
काभ्रेपलाञ्चोक जिल्लामा २०७६ मंसिर १ गतेबाट स्वास्थ्य बीमा गरेका बिरामीहरुले रेफरल अस्पतालबाट सेवा पाउन थालेका हुन् । त्यतिखेर बोर्डले काभ्रे जिल्लाका लागि प्रथम सेवा बिन्दुका रुपमा पनौती, सुन्थान, धुलिखेल र पाँचखाल प्राथमिक स्वास्थ्य केन्द्र एवं मेथिनकोट अस्पताललाई तोकेको थियो । यस्तै रेफरल अस्पतालका रुपमा धुलिखेल अस्पताल र रेयुकाई एईको मासुनागा आँखा अस्पताललाई तोकेको थियो । तर, स्वास्थ्य बीमा ऐन, २०७४ (दोस्रो संशोधन) तथा नियमावली, २०७५ को (प्रथम संशोधन) ले प्रथम सेवा बिन्दु सरकारी स्वास्थ्य संस्थामा मात्र सीमित रहने स्पष्ट व्यवस्था हुँदाहुँदै बीमाप्रति नागरिकलाई आकर्षित गर्न बोर्डले यो नियम शुरुवाती समयमा पूर्णरूपमा लागू गरेन । तर, यही प्रावधानलाई कार्यान्वयन गराउने क्रममा अहिले बोर्डलाई यो टाउको दुखाईको विषय बनेको हो ।
२०८२ असार १० गते बोर्डले निर्देशन जारी गर्दै श्रावण १ गतेदेखि प्रथम सेवा बिन्दु सरकारी स्वास्थ्य संस्था मात्र रहने तथा रेफरल अस्पतालमा स्वास्थ्य बीमामार्फत उपचार गराउन आउने सम्पूर्ण बिरामीहरुले प्रथम सेवा विन्दुबाट आकस्मिक अवस्थामा बाहेक प्रेषण पूर्जी (रेफरल पत्र) अनिवार्य लिएर आउनुपर्ने निर्णय गरेपछि अहिले यसले नागरिकलाई समस्या भएको हो । किनकी सरकारले तोकेका प्रथम सेवा बिन्दुका स्वास्थ्य संस्थाहरुले आफूहरुसँग पर्याप्त जनशक्ति र पूर्वाधार नभएकाले सेवा दिन नसकिने प्रष्टै बताइसकेका छन् । केहीले सेवा दिए पनि सीमित मात्र भएकाले सर्वसाधारणलाई समस्या भएको हो ।
काभ्रे जिल्लामा १३ पालिका छन् । १ लाख ९९ हजारभन्दा बढी स्वास्थ्य बीमामा आबद्ध छन् । जसमा सरकारले तोकेका प्रथम सेवा बिन्दुहरु ५ वटा मात्र छन् । धुलिखेल र पाँचखाल प्राथमिक स्वास्थ्य केन्द्रले सेवा दिन नसकिने बताइरहेका बेला पनौतीका २ सेवा केन्द्रहरुले साउन ११ गतेसम्म २ हजार ४२० जनालाई रेफरल सेवा दिएको पनौती नगरपालिकाले जनाएको छ । तर पनौतीमै रहेको प्राथमिक सेवा केन्द्र सुन्थानले भने एक विज्ञप्ति जारी गरि अब दैनिक ४० जनालाई मात्र रेफरल सेवा दिने जनाए पनि पछिल्ला दिनमा भीड बढेको भन्दै सेवा बन्द गरेको छ । यसले झन समस्या थपिएको पीडितहरु बताउँछन् ।
जिल्लामा कति छन् स्वास्थ्य बीमा गर्नेहरु ?
हालसम्म जिल्लाको कुल जनसङ्ख्याको ५० दशमलव ८३ प्रतिशतले स्वास्थ्य बीमा गरेको स्वास्थ्य बीमा बोर्डले जनाएको छ । जिल्लामा तीन लाख ६४ हजार ३९ नागरिक छन् । यसमध्ये १ लाख ९९ हजार ६४५ जनाले स्वास्थ्य बीमा गरेको बोर्डले जनाएको हो । १३ स्थानीय तहमध्ये धुलिखेल नगरपालिकाका ३३ हजार ५८ जनाले स्वास्थ्य बीमा गराएका छन् । यस्तै बनेपाका ४१ हजार २०५ जना, पनौतीका ३३ हजार ५३१ जना, पाँचखालका २५ हजार १७५ जना, मण्डनदेउपुरका १८ हजार २८३, नमोबुद्धका १३ हजार १६२, रोशीका १२ हजार १८१ जनाले स्वास्थ्य बीमा गराएका छन् । यसैगरि भुम्लुका ८ हजार १३४, तेमालका ४ हजार २६९ जना, बेथानचोकका ३ हजार ८९४, चौंरीदेउरालीका ३ हजार २५३, महाभारतका २ हजार २८८ जना र खानीखोला गाउँपालिकाका १ हजार २१२ जनाले स्वास्थ्य बीमा गराएका छन् । यो ०८२ असार मसान्तसम्मको तथ्यांक हो ।
राजनीतिक दलहरु के गर्दैछन् ?
साउन १ देखि ९ गतेसम्म चुपचाप बसेका राजनीतिक दलहरुले साउन १० गते बैठक बसेर केही निर्णय गरेका छन् । धुलिखेलका राजनीतिक दलहरुले धुलिखेल अस्पतालबाटै प्रथम बिन्दुको सेवा दिन पाउने गरि निर्णय गर्न दबाब दिने भन्दै निर्णय पनि गरे । अन्ततः साउन १२ गते नेपाली कांग्रेसका केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईंको नेतृत्वमा जिल्लामा रहेका सबैजसो दलका प्रतिनिधि र वडाध्यक्षहरुको टोलीले तत्काल केही महिनाका लागि मात्रै भए पनि धुलिखेल अस्पताललाई नै प्रथम सेवा विन्दु कायम गर्न स्वास्थ्यमन्त्री प्रदीप पौडेललाई ज्ञापनपत्र बुझाए ।
ज्ञापनपत्रमा धुलिखेल अस्पताल प्रथम सेवाविन्दु कायम नभएसम्म प्राथमिक स्वास्थ्य केन्द्र धुलिखेलमा भौतिक पूर्वाधारको व्यवस्था, स्वास्थ्य उपकरण तथा जनशक्तिको व्यवस्था मिलाई प्रथम सेवा विन्दुबाट दिने सेवा सञ्चालन गर्नको लागि निर्देशन दिन भनिएको छ । यस्तै दक्षिण एसियाको दोस्रो र नेपालको पहिलो ‘स्वस्थ शहर’ धुलिखेलमा रहेको १५ बेडको प्रादेशिक अस्पताल सञ्चालनमा ल्याई धुलिखेल नगरमा रहेको सम्पूर्ण स्वास्थ्य चौकीहरुको भौतिक पूर्वाधार, स्वास्थ्य उपकरण एवं जनशक्तिको व्यवस्था गरी गुणस्तरीय सेवा प्रबाहको लागि यथाशिघ्र पहल कदमी गर्न पनि माग गरिएको धुलिखेल नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष बिनोद गौतमले जानकारी दिए । ज्ञापनपत्र बुझ्दै मन्त्री पौडेलले तत्काल सामुदायिक अस्पतालबाट प्रथम सेवा बिन्दुको सेवा दिन नसकिने तर विकल्प के हुन सक्छ यसबारे छिट्टै निर्णय लिइने आश्वासन दिएका छन् ।
सुरुमा नेपाली काँग्रेस, धुलिखेल नगर समितिको बैठकमार्फत बीमा बोर्डले धुलिखेल अस्पताललाई पुरानै अवस्थाको प्रथम सेवा बिन्दु कायम गराइदिनु पर्ने र सो निर्णय नआउँदासम्म धुलिखेल प्राथमिक स्वास्थ्य केन्द्रबाट रेफरल पत्र दिने सेवा सुरु गर्नु पर्ने निर्णय गरेको थियो । यस्तै, नेकपा एमालेको धुलिखेल कमिटीले एक विज्ञप्तिमार्फत बीमा बोर्डले धुलिखेल अस्पताललाई पुरानै अवस्थाको प्रथम सेवा बिन्दु कायम गराइदिनु पर्ने एक मात्र माग गरेको थियो ।
यसैबीच, धुलिखेल नगरमा रहेका क्रियाशील दलहरुको बैठकले पनि बीमा बोर्डले धुलिखेल अस्पताललाई पुरानै अवस्थाको प्रथम सेवा बिन्दु कायम गराइदिनु पर्ने र सो निर्णय नआउँदासम्म धुलिखेल प्राथमिक स्वास्थ्य केन्द्रबाट रेफरल पत्र दिने सेवा सुरु गर्नुपर्ने निर्णय गरेको छ । तर, यो निर्णय कार्यान्वयनमा आउन सकेको छैन । जसले गर्दा नागरिक अन्यौलमा परेका छन् ।
यसैबीच बिहीबार धुलिखेलका नगरप्रमुख अशोक व्याञ्जु, उपप्रमुख निराजन जंगमलगायत वडाध्यक्षहरुको टोलीले काभ्रेमा भएको स्वास्थ्य बीमाको समस्या समाधानका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षणपत्र बुझाएको छ । हाल देखिएका समस्याहरु केही दिनमा समाधान हुने बताइए पनि यो र त्यो हानथाप गर्नेहरुको जमात बढेकाले तत्काल केही ठोस निष्कर्ष भने निस्किएको छैन ।
