पाँचखाल । काभ्रेको पाँचखालमा निर्माण हुने भनिएको असफाल्ट प्लान्टले राजनीतिक रुप लिन थालेसँगै निर्माण अन्योलमा परेको छ । शुरुमा स्थानीयवासीहरुले विरोध गरेपछि पछिल्लो हप्ता सबैजसो राजनीतिक पार्टीहरुले विज्ञप्ति जारी गरि आआफ्ना धारणा सार्वजनिक गरेका छन् । धेरैजसोले निर्माण वातावरणमैत्री नभएको भन्दै विरोध गरेका छन् ।
पाँचखाल नगरपालिकाकी उपमेयर सूर्यमाया दनुवारले फेसबुकमा स्टाटस लेख्दै पाँचखालवासीको समर्थन र आसपाल्ट व्याचिङ प्लाण्टको असर र प्रभावबारे आम पाँचखालवासी नागरिकको धारणाप्रति उच्च सम्मान रहेको उल्लेख गरेकी छिन् । यससँगै अब अन्य विषयमा पनि सकारात्मक र रचनात्मक तबरले लागौं भन्दै उपमेयर दनुवारले दलित, विपन्न, भूमिहीन र अब्यवस्थित बसोवासीलाई जग्गा उपलब्ध गराउने, जग्गा बर्गिकरण गरि जग्गाको कारोबार खुलाउने, स्वास्थ्य बीमा प्रथम बिन्दु सेवा प्रदान गर्ने र फोहोर मैलाको दीर्घकालिन व्यवस्थापनलगायतका विषयमा पनि आवाज उठाउन सबैलाई आब्हान गरेकी छिन् ।
मापदण्ड विपरीत, बल मिच्याईद्वारा जनस्वास्थ्य र वातावरण प्रतिकुल, पुरातत्व सम्पदा र मानववस्ती नै पूर्णजोखिममा पार्दै स्थापित गर्न खोजिएको अलकत्रा प्लान्टको विपक्षमा जुट्न भन्दै सबैजसो दलहरुले विरोध गरेका छन् । यतिबेला पाँचखाल नगरपालिकामा नेपाली काँग्रेसको नेतृत्व छ । यही पार्टीका पाँचखाल नगर सभापति संजय तामाङले पनि घुमाउरो शैलीमा विरोध गर्दै सबै प्रक्रिया पुर्याएर नागरिकको स्वास्थ्यलाई ध्यान दिँदै निर्माण कार्य अघि बढाउन अनुरोधसहितको विज्ञप्ति जारी गरेका छन् ।
यसैगरि नेकपा एमालेले पनि आफू विकास विरोधी नभएको तर स्थानीयको चाहाना विपरित बलमिच्याइँ गरि निर्माण थालिएको योजना अस्वीकार्य रहेको उल्लेख गरेको छ । पार्टीका नगर कमिटी अध्यक्ष विष्णुहरि पौडेलले सो स्थानमा प्लान्ट राख्दा धार्मिक सम्पदामाथि पनि क्षति हुने जनाएका छन् । यस्तै माओवादी केन्द्रले पाँचखाललाई कृषि शहरको रुपमा विकास गर्नुपर्नेमा यो विपरित आसफल्ट प्लान्ट निर्माण हुन लागेको भन्दै विरोध गरेको छ । रास्वपाले पनि वातावरण प्रभाव मूल्यांकन नगरि र स्थानीयवासीसँग समन्वय नगरि योजनाका लागि सामान झार्नु गलत भएको जनाएको छ ।
एकीकृत समाजवादी, नेकपा (बहुमत), बगाले थापा कल्याण परिषद्लगायतले आयोजना निर्माणको विरोध गरेका छन् । यति मात्रै होइन, साउनको दोस्रो हप्ता स्थानीयवासीहरुले निर्माण रोक्नुपर्ने मागसहितको ध्यानाकर्षणपत्र जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालयमा बुझाइसकेका छन् । उता निर्माणपक्षले भने विरोध गर्नुपर्ने कुनै कारण नभएको दाबी गर्दै आयोजना पूर्णरुपमा वातावरणमैत्री रहेको जनाएको छ ।
वातावरणमैत्री भएको कम्पनीको दाबी
यता काभ्रेको पाँचखाल नगरपालिका वडा नम्बर ८ होक्सेमा स्थापना गर्न लागिएको असफाल्ट ब्याच मिक्स प्लान्ट विवादमा आएपछि निर्माण कम्पनीले आफ्नो धारणा सार्वजनिक गरेको छ । प्लान्ट स्थापना गर्न लागेको कम्पनी वन्दन भगवती निर्माण सेवाले उक्त प्लान्टबाट वातावरणमा कुनै असर नपर्ने दाबीसहित सहयोगका लागि सबैलाई अनुरोध गरेको छ ।
साउन २८ गते धुलिखेलमा पत्रकार सम्मेलन गरेर वन्दन भगवती निर्माण सेवा प्रालिका प्रबन्ध निर्देशक रामजी पन्त ‘मुकेश’ले निर्माण उद्योगका लागि अत्यावश्यक असफाल्ट ब्याच मिक्स प्लान्ट उत्पादनका लागि संसारभर ख्याति कमाएको १ सय ५० वर्ष अघि नै स्थापित अम्मान कम्पनीले यूरोपेली मापदण्डको स्विस प्रविधिमा आधारित प्लान्टले वातावरणमा कुनै असर नगर्ने दाबी गर्नुभयो ।
उहाँका अनुसार, उक्त मेसिनमा धुवाँ र धुलो नियन्त्रण गर्ने स्वचालित कम्प्युटराइज प्रविधि जडान गरिएको छ । विगतमा बिटुमिन र गिट्टी पोलेर सडकमा नै बनाइने अलकत्राले जस्तो यसले प्रदूषण गर्दैन । मेसिनभित्र रहेको २५४ स्क्वायर मिटरको १ सय ६८ वटा फिल्टरबाट प्रशोधन भएर यसले काम गर्छ, धुवाँ उड्दैन, बाफ मात्रै निस्किन्छ, गिट्टीमा हुने धुलो पनि हिलोको रुपमा बाहिर आउँछ, जुन पुनः प्रयोग गर्न मिल्ने खालको हुन्छ ।
राष्ट्रिय प्रतिष्ठाको विषय बनेको सूर्यविनायक–साँगा–धुलिखेल तथा निकट भविष्यमा निर्माण हुने धुलिखेल–खावा सडकसहित पाँचखाल नगरपालिकाभित्र रहेका विभिन्न सडकमा असफाल्ट पिच गर्ने उद्देश्यले स्थापना गर्न लागेको प्लान्टका कारण छोटो समयमा गुणस्तरीय निर्माण गर्ने लक्ष्य रहेको कम्पनीको दाबी छ । प्रत्यक्ष अप्रत्यक्ष रूपमा १ सय जनासम्मलाई रोजगारी दिन सक्ने प्लान्ट स्थापना हुँदा पाँचखाल र जिल्लावासी प्रत्यक्ष अप्रत्यक्षरुपमा लाभन्वित हुने बताइएको छ ।
३० रोपनी जग्गामा स्थापना हुने उक्त प्लान्ट ती दुई सडक आयोजना निर्माणपछि अन्यत्र लैजाने र त्यहाँ रहेका पुरातात्विक संरचना, वन जङ्गल लगायतका कुनै पनि पूर्वाधारलाई असर नगर्ने कम्पनीले प्रष्ट पारेको छ ।
स्थानीय तहदेखि सदनसम्म अनर्गल प्रचारबाजी एवं भ्रम छरिएको भन्दै कम्पनीले त्यसमा कुनै सत्यता नभएको जिकिर गरेको छ । यस्तै किसिमको प्लान्ट यसअघि नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरको तिनकुने र पेप्सीकोलातर्फ, बालाजु तिनपिप्ले, ललितपुरको भैसेपाटी, भक्तपुरको सूर्यविनायक नगरपालिका जगाती चोक नजिक, काभ्रे बनेपाको जनागाल लगायतका स्थानमा संचालनमा आइसकेको छ ।
पाँचखालमा प्लान्ट निर्माण हुनेभएपछि वातावरणमा असर पार्ने र स्थानीयसँग कुनै सल्लाह नै नगरी काम अघि बढाइएको भन्दै स्थानीयहरुले विरोध गरेका छन् । कुनै पनि हालतमा काम हुन नदिने अडानमा रहेका उनीहरुले जिल्ला समन्वय समिति प्रमुख दिपक गौतमलाई साउन १४ गते ध्यानाकर्षण पत्र बुझाएको छ । यस्तै सोही दिन प्रमुख जिल्ला अधिकारीसमक्ष पनि उनीहरुले प्लान्ट निर्माण रोक्न अनुरोधसहितको पत्र बुझाएका थिए । त्यसपछि कम्पनीले आफ्नो धारणा सार्वजनिक गरेको हो ।
उता भदौ २ गते यसको विरोधमा स्थानीयहरुले निर्माणस्थलमा कालोझण्डा देखाउँदै नगरपालिका घेराउ गरेका छन् । यसले योजना निर्माणमा अन्यौल पैदा गरेको छ । निर्माण कम्पनीले भने निर्माण सामाग्रीहरु आयोजनास्थलमा खसालिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *