जेनजी आन्दोलनले देशका प्रमुख संरचनामा तोडफोड र आगजनी, खर्बौंको क्षति
मध्यमार्ग विशेष
काठमाडौँ । अन्ततः पूर्वप्रधानन्यायाधीश सुशीला कार्की अन्तरिम सरकारको प्रमुख बनेकी छिन् । जेनजी प्रदर्शनपछि उत्पन्न राजनीतिक संकटको तत्काल हल हुनेगरी राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई शुक्रबार अन्तरिम सरकारको प्रमुख नियुक्त गरेका हुन् । संविधानले प्रधानमन्त्री नियुक्त गर्नका लागि धारा ७६ मा व्यवस्था गरे पनि प्रतिनिधिसभाभन्दा बाहिरबाट प्रधानमन्त्री नियुक्त गर्नुपर्ने भएपछि राष्ट्रपति पौडेलले संविधानको धारा ६१ अनुसार कार्कीलाई प्रधानमन्त्री नियुक्त गरेका हुन् ।
संविधानको धारा ६१ (४)ले संविधानको संरक्षक र पालक राष्ट्रपति हुने व्यवस्था गरेको छ । संविधानको धारा ६१ (४) मा भनिएको छ, “संविधानको पालन र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुनेछ ।”
कतै पनि ठाउँ नभएपछि संविधानविद्हरूको सुझावअनुसार राष्ट्रपति पौडेलले ‘अभिभावकीय भूमिका’मा संविधानको प्रयोग गर्दै कार्कीलाई प्रधानमन्त्री नियुक्त गरेका हुन् । यसका लागि राष्ट्रपति कार्यालय शीतल निवासमा शुक्रबार सहमति जुटेको हो । वार्तामा प्रधानसेनापति, राष्ट्रपति र जेनजीका प्रतिनिधि बसेका थिए । यससँगै कार्कीले शुक्रबार नै पद तथा गोपनीयताको शपथ लिएकी छिन् । सुशीला कार्कीलाई प्रधानमन्त्री चयन गरिएसँगै देशले पहिलो महिला प्रधानमन्त्री पाएको छ ।
प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन हुने
राष्ट्रपति पौडेलले प्रधानमन्त्री सुशीला कार्कीको सिफारिशमा शुक्रबार राति प्रतिनिधिसभा विघटन गरेका छन् । भदौ २७ गते शुक्रबार रातको ११ः०० बजेदेखि लागू हुने गरी वर्तमान प्रतिनिधिसभाको विघटन गरेको राष्ट्रपति कार्यालयका उपसचिव रुपेशजंग थापा मगरद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।
नयाँ प्रतिनिधिसभाको निर्वाचनका लागि आगामी फागुन २१ गते बिहीबारका लागि मिति तोकिएको विज्ञप्तिमा उल्लेख छ । विसं २०७९ मा गठन भएको प्रतिनिधिसभा राजनीतिमा आएको परिवर्तनसँगै आफ्नो कार्यकाल पूरा नगरी विघटन भएको छ ।
जेनजी आन्दोलनले देशका प्रमुख संरचनामा तोडफोड र आगजनी
काठमाडौँ उपत्यकासहित देशका विभिन्न ठाउँमा जेनजी प्रदर्शनकारीबाट भएको आक्रमणको निशानामा देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारलगायत महत्वपूर्ण भवन र संरचना क्षति भएका छन् । काठमाडौंका विभिन्न ठाउँमा ‘जेनजी’ समूहबाट आयोजित प्रदर्शनपछि भड्किएको घटना र आगजनीमा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका मुख्य भवन जलेका हुन् । सिंहदरबारमा रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय भवन, रामशाहपथमा रहेको सर्वाेच्च अदालत र नयाँ बानेश्वरमा रहेको संघीय संसद भवन र राष्ट्रपति भवन आगलागीबाट ध्वस्त भएको छ ।

प्रदर्शनकारीले रामशाहपथमा रहेको महान्यायाधिवक्ताको कार्यालय तथा ट्राफिक कार्यालयमा समेत आगजनी गरेका छन् । प्रदर्शनीकारीबाट नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाललगायतका निवासमा तोडफोड र आगजनी भएको छ ।
एमालेका नेता गोकुल बाँस्कोटा, महेश बस्नेत, महेश बर्ताैलालगायतका निवासमा पनि आगजानी र तोडफोड भएको छ । कांग्रेसका नेता गगन थापा, मोहन बस्नेत, राष्ट्रपतिको निजी निवास, सरकारी कार्यालयहरु, प्रधानमन्त्रीको सरकारी निवास वालुवाटार, देशका मुख्य शहरहरूका महत्वपूर्ण भौतिक संरचना र निवासमा पनि आन्दोलनकारीले क्षति पु¥याएका छन् ।

कसरी शुरु भयो आन्दोलन ?
सरकारले भदौ १८ गतेदेखि देशभर संचालनका रहेका २६ सामाजिक संजालहरु दर्ता हुन नआएको भन्दै एकाएक बन्द गर्ने निर्णय गर्यो । त्यसपछि चौतर्फी दबाबले पनि सरकारले संचालन गरेन बरु थप कडाइका साथ बन्द गर्दै लगेपछि भदौ २३ गते २८ वर्षसम्मका युवाहरुले स्वतःस्फुर्तरुपमा शान्तिपूर्ण प्रदर्शनको आयोजना गरे । तर सरकारले सो प्रदर्शनमा प्रहरी परिचालन गरि प्रदर्शनकारीमाथि गोली प्रहार गरि १९ जनाको हत्या गरेपछि स्थितीले अर्कै मोड लियो । भदौ २३ गते ‘जेनजी’ पुस्ताको प्रदर्शनीमा प्रहरी कारबाहीमा १९ जनाको ज्यान गएपछि २४ गतेको प्रदर्शनले उग्ररूप लिएको थियो ।

जेन्जी समूहको आन्दोलनका कारण देशले ठूलो भौतिक क्षति व्यहोरेको छ । कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाका भवनदेखि सार्वजनिक र व्यक्तिका घर, व्यापारिक केन्द्र, सञ्चार माध्यमका भवनलगायत संरचनाहरुमा आगजनी तथा तोडफोड भयो । ती भवनमा रहेका महत्वपूर्ण कागजात र अभिलेख नष्ट भएका छन् । यो क्षतिलाई इतिहासमा भएको सर्वाधिक ठूलो क्षति मानिएको छ । सिंहदरबारको प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयसहित अरू मन्त्रालयका भवन, सर्वाेच्च अदालत र संघीय संसद भवन आगलागीबाट पूर्णरूपमा जलेका छन् । सडक विभाग, विशेष अदालत, अख्तियार जस्ता महत्वपूर्ण कार्यालयहरु जलाइएको छ ।
त्यसैगरी विभिन्न राजनीतिक दलका पार्टी कार्यालय तोडफोड र आगजनी भएका छन् । देशका मुख्य शहरहरूका महत्वपूर्ण सरकारी र निजी भौतिक संरचनामा अर्बौंको क्षति पुगेको छ । विभिन्न प्रदेश राजधानी तथा जिल्लाहरुमा सरकारी तथा निजी संरचनामा तोडफोड र आगजनी भएको छ । कतिपय पालिकाका प्रशासनिक भवन, प्रहरी कार्यालय, जनप्रतिनिधीका निजी निवास र प्रहरी बिटहरु जलाइएका छन् । जिल्लामा रहेका विभिन्न राजनीतिक दल तथा नेताका घरमा पनि आगजनी र तोडफोड भएका छन् ।
प्रधानमन्त्री ओलीले दिए पदबाट राजीनामा
आन्दोलन उग्र बनेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २४ गते पदबाट राजीनामा दिए । जेनजी आन्दोलन नियन्त्रण बाहिर गएर ठूलो जनधनको क्षति भएपछि उनले पदबाट राजीनामा दिएका हुन् ।
शान्ति सुरक्षा कायम गर्न सेना परिचालन
दुई दिनसम्म आगजनी र तोडफोड भएपछि शान्ति सुरक्षा कायम गर्न देशभर नेपाली सेना परिचालन भएको छ । भदौ २४ गते राति १० बजेदेखि देशभर सेनाको नेतृत्वमा सुरक्षाकर्मी परिचालन भएको हो । शान्ति सुरक्षा कायम गर्न र नेपाली नागरिकको रक्षाका लागि आफूहरु खटिएको सेनाले विज्ञप्ति निकालेर जनाएको छ । सेना परिचालन भएसँगै आगजनी, तोडफोड र लुटपाटका घटना रोकिएका छन् । काठमाडौं उपत्यकासहित देशभरको अवस्था सामान्य बन्दै गएको नेपाली सेनाले जनाएको छ ।

सुरक्षाको दृष्टिले संवेदनशील क्षेत्र र सडकमा अहिले नेपाली सेनाले सुरक्षा दिइरहेको छ । लुटपाट र आगजनी गर्नेहरु पक्राउ परिरहेका छन् । काठमाडौंको बानेश्वरमा राष्ट्रिय वाणिज्य बैंक लुट्न खोज्ने पाँच जना पक्राउ परेका छन् । सेनाले अराजक गतिबिधि नगर्न र गरेमा कारबाही हुने चेतावनी पनि दिएको छ । आफ्नो वरपर आपराधिक तथा अराजक गतिविधि भएमा खबर गर्न पनि सेनाले आग्रह गरेको छ ।
यस्तै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले छुट्टाछुट्टै विज्ञप्ति निकालेर अप्रत्याशित र दुःखद घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै शान्ति पुनस्र्थापनाका लागि सबैलाई सहयोग गर्न आग्रह पनि गरेका छन् । अपिलमा सार्वजनिक शान्ति, अमनचयन, अपराध नियन्त्रण र अनुसन्धान गरी कानूनी शासन स्थापित गर्नका लागि सहयोग गर्न आग्रह गरिएको छ ।
यस्तै प्रधानसेनापति अशोकराज सिग्देलले आन्दोलनका क्रममा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै सबैलाई शान्तिपूर्ण समाधानका लागि आग्रह गर्नुभएको छ । नेपालको स्वतन्त्रता, सार्वभौमिकता र राष्ट्रिय एकताको रक्षामा नेपाली सेना सधैँ प्रतिबद्ध रहेको स्मरण गराउँदै उहाँले अहिलेको असहज परिस्थितीमा थप क्षति हुन नदिन सबैलाई शान्त रहन आग्रह गर्नुभएको छ ।
प्रदर्शनमा देशभर ५१ जनाको मृत्यु
भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनमा देशभर ५१ जनाको मृत्यु भएको छ । प्रदर्शनकारीसँग झडप हुँदा प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत २ जना र प्रहरी प्रभाग कोटेश्वरमा कार्यरत एक जनाको मृत्यु पुष्टि भएको छ ।
प्रदर्शनकारीतर्फ प्रहरीको बल प्रयोगमा २१ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रदर्शनको क्रममा आगजनीमा परेर, प्रदर्शनमा भागदौड हुँदा र करेन्ट लागेर १८ जनाको मृत्यु भएको छ ।
देशभरका कारागारबाट ११ हजार ५०५ कैदी भागे
मुलुकमा सृजित विषम परिस्थितीको अनुचित फाइदा उठाउँदै देशका विभिन्न स्थानमा रहेका कारागार तोडेर कैदीबन्दी भगाउने र फरार हुने क्रम बढेको छ । जेनजी पुस्ताको शान्तिपूर्ण प्रदर्शनलाई हिंसात्मक बनाउँदै मुलुकमा अकल्पनीय जनधनको क्षति गरिएसँगै कमजोर सुरक्षा व्यवस्थाको मौका छोपी विभिन्न अपराधमा संलग्न कैदी नै फरार भएपछि समाजमा भय सिर्जना भएको छ ।
कारागार व्यवस्था विभागका अनुसार काठमाडौँको सुन्धारास्थित केन्द्रीय कारागार (जगन्नाथदेवल) तोडफोड गरी पूर्वमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृह सचिव टेकनारायण पाण्डेसहित तीन हजार ४५० कैदी फरार भएका छन् । हालसम्म कम्तीमा ११ हजार ५०५ जना कैदीबन्दी विभिन्न जेल तोडेर फरार भएका छन् । राजधानीको केन्द्र सुन्धाराबाट सबैभन्दा बढी कैदी फरार भएका हुन् । त्यसैगरी गम्भीर प्रकृतिको अपराधमा संलग्न हुने कैदी राखिने सुनसरीको झुम्का कारागारबाट मात्र एक हजार ५७२ जना फरार भएका छन् । मङ्गलबार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने कारागारबाट बाहिरिएपछि नख्खु कारागारमा रहेका अन्य एक हजार २७२ जना कैदी जेल तोडेर फरार भएका थिए । उनीहरू फरार भएको सूचना बाहिरिएपछि अन्य कारागार तोडफोड गर्ने क्रम बढेको हो ।
सुरक्षाका कारण देखाउँदै मङ्गलबार कारागार प्रशासनले रवि लामिछानेलाई उहाँकी पत्नी निकिता पौडेलको जिम्मा लगाएको थियो । यो घटनापछि अन्य कैदीले जेल नै फोडेर भागे । त्यसपछि उत्पन्न अवस्थालाई सुरक्षा निकायले नियन्त्रणमा लिन नसक्दा ठूलो संख्यामा कैदीहरू कारागारबाट भाग्न सफल भएका हुन् । त्यहाँ केही महिलासहितका कैदीबन्दी स्वेच्छाले बसेकाबाहेक सबै कैदीबन्दी फरार रहेको प्रहरीले जनाएको छ । विस्तारै कैदीहरु सम्पर्कमा आउन पनि लागेका छन् ।
प्रगतिशील परिवर्तनको संरक्षण गरेर आगामी यात्रा तय गरिनुपर्छः दलहरु
विभिन्न चार राजनीतिक दलका युवा सङ्गठनहरूले विभिन्न आन्दोलन र प्रगतिशील परिवर्तनहरूको संरक्षण गरेर मात्र मुलुकको आगामी राजनीतिक यात्रा तय गरिनुपर्ने बताएका छन् । नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय जनमोर्चानिकट युवा सङ्गठनहरूले आगामी राजनीतिक निकास लोकतान्त्रिक मूल्य–मान्यताको अधीनमा रहेर मात्र गरिनुपर्नेमा जोड दिएका छन् ।
‘हामी विशेष गरेर अबको आगामी राजनीतिक यात्रा यसअघिका विभिन्न आन्दोलन र प्रगतिशील परिवर्तनहरूको संरक्षण गरेर मात्र तय गरिनुपर्छ भन्नेमा प्रस्ट छौँ,’ युवा सङ्गठनहरूले भनेका छन्, ‘जेन–जी युवाहरूसमेत वर्तमान संविधानको रक्षा गर्दै अघि बढ्ने कुरामा जोड दिइरहेको सन्दर्भमा आगामी राजनीतिक निकास लोकतान्त्रिक मूल्य–मान्यताको अधीनमा रहेर मात्र गरिनुपर्नेमा जोड दिन चाहन्छौँ ।’
नयाँ परिवर्तनतर्फ अग्रसर हुँदै गर्दा ठूलो बलिदानीमार्फत् प्राप्त लोकतान्त्रिक गणतन्त्रका आधारभूत मूल्यहरूलाई कमजोर नबनाइने र तिनको रक्षा हुने व्यवस्था हुनुपर्ने उनीहरूको माग छ । चारै सङ्गठनहरूले बिहीबार संयुक्त वक्तव्य जारी गरेर भनेका छन्, ‘आगामी राजनीतिक निकास संविधानभित्रैबाट निकालिनु पर्छ भनेर माग गर्दछौँ । मुलुकको यस विषम परिस्थितीमा हामी सम्पूर्ण युवाहरूलाई संयमित र सजग तथा नेपालको लोकतान्त्रिक गणतन्त्र, राष्ट्रियता, स्वाधीनता र सार्वभौमसत्ताको रक्षाका निमित्त दृढ भएर क्रियाशील रहन हार्दिक अपिल गर्दछौँ ।’
जेन–जीको आह्वानमा भएको आन्दोलनका क्रममा हालसम्म ५१ जनाको मृत्यु र एक हजार बढी घाइते भएका छन् । उनीहरूले भनेका छन्, ‘यो स्तरको मानवीय क्षति अत्यन्तै दुखद, हृदय विदारक र निन्दनीय छ । सम्पूर्ण मृतकहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौँ ।’ चारै सङ्गठनहरूले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनबमोजिम कारबाही गर्न पनि माग गरेका छन् ।
सर्वोच्चले आइतबारदेखि नियमित सुनुवाइ शुरु गर्ने
सर्वोच्च अदालतले भदौ २९ गते आइतबारदेखि बन्दीप्रत्यक्षीकरणसहित अन्य नियमित सुनुवाइ शुरु गर्ने जनाएको छ । बिहीबारको आकस्मिक फूलकोर्टले आइतबारदेखि बन्दीप्रत्यक्षीकरणका निवेदनको दर्ता तथा नियमित सुनुवाइ कार्य प्रारम्भ गर्ने निर्णय गरेको प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले विज्ञप्ति जारी गर्दै जानकारी दिए ।
भदौ २३ र २४ गते भएको घटनाका क्रममा मृत्युवरण गर्न पुगेका नेपाली नागरिकप्रति गहिरो दुःख व्यक्त गर्दै प्रधानन्यायाधीश राउतले घटनाका क्रममा घाइते भएका सम्पूर्ण नागरिकको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । साथै उनले आगजनी र नष्ट हुनबाट जोगिएका जनताको सम्पत्तिको रुपमा रहेका अदालतका मिसिल कागजातहरु र भौतिक स्रोत साधनको संरक्षणमा खट्नु हुने न्यायाधीशहरु, कर्मचारीहरु, कानुन व्यवसायीहरु, कानुनका विद्यार्थीहरु, सुरक्षाकर्मीहरु एवं सर्वसाधारण नागरिकहरुप्रति हार्दिक धन्यवाद प्रकट गरेका छन् । उनले नेपालको न्यायिक इतिहासका महत्वपूर्ण दस्तावेजहरु करिब–करिब नष्ट हुन गएको उल्लेख गरेका छन् ।

भागेका कैदीबन्दीलाई सम्पर्कमा आउन कारागार व्यवस्थापन विभागको आग्रह
कारागार व्यवस्थापन विभागले जेनजी प्रदर्शनको फाइदा उठाउँदै भागेका कैदीबन्दीलाई सम्पर्कमा आउन आग्रह गरेको छ । कैदीबन्दी र बलबिज्याईंकर्ताहरुलाई सम्पर्कमा आउन आग्रह गर्दै विभागले सम्पर्कमा नआउनेलाई कारबाही गर्ने चेतावनी दिएको छ । विभागका निर्देशक चोमेन्द्र न्यौपानेले विज्ञप्ति जारी गरेर भनेका छन्, ‘सम्पर्कमा नआए कारागार ऐन, २०७९ र प्रचलित कानुन बमोजिम कारबाही हुने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ ।’
त्यस्तै विभागले देशभरका कारागार र बालगृहलाई सर्कुलर पठाएर फरार भएर अर्को जिल्लामा सम्पर्कमा आएका र पक्राउ परेका कैदीबन्दीलाई सोही जिल्लाको कारागारमा राख्न भनेको छ । जेनजी प्रदर्शनपछि देशका २५ वटा कारागारबाट करिब ११ हजार ५०० बढी कैदीबन्दी भागेका छन् ।
नेपालमा नयाँ अन्तरिम सरकार गठनको छिमेकी मुलुक भारत र वेलायतद्वारा स्वागत
नेपालमा नयाँ अन्तरिम सरकार गठनको छिमेकी मुलुक भारत र वेलायतले स्वागत गरेका छन् । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले शुक्रबार अन्तरिम प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेलगत्तै भारतीय विदेश मन्त्रालयले विज्ञप्तिमार्फत यसको स्वागत गरेको हो । विज्ञप्तिमा भनिएको छ ,“हामी सुशीला कार्कीको नेतृत्वमा नेपालमा नयाँ अन्तरिम सरकार गठनको स्वागत गर्दछौँ । हामीलाई आशा छ कि यसले शान्ति र स्थिरतालाई प्रवद्र्धन गर्न मद्दत गर्नेछ ।”
भारतले नजिकको छिमेकी, लोकतान्त्रिक मित्र र दीर्घकालीन विकास साझेदारको रूपमा दुई देश र जनताको कल्याण र समृद्धिका लागि नेपालसँग मिलेर निरन्तर काम गरिरहने जनाएको छ ।
उता बेलायतले पनि नेपालमा गत हप्ताको घटनाक्रमपछि सुशीला कार्की प्रधानमन्त्री पदमा नियुक्त भएको बिषय महत्वपूर्ण कदम भनी उल्लेख गरेको छ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले शुक्रबार अन्तरिम प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेलगत्तै यहाँस्थित बेलायती दूतावासले सामाजिक सञ्जाल फेसबुकमार्फत सो प्रतिक्रिया दिएको हो । बेलायतले सबैभन्दा पुरानो मित्रको रूपमा आगामी चुनौतीहरूलाई स्वीकार गर्दै जवाफदेहीता र समावेशी शासनका लागि नेपाली आकांक्षालाई समर्थन गर्ने जनाएको छ । संयुक्त राष्ट्र संघले पनि यसको स्वागत गरेको छ ।

यस्तो छ प्रधानमन्त्री कार्कीको व्यक्तिगत चिनारी
पहिलो महिला प्रधानमन्त्रीमा नियुक्त भएर सुशीला कार्कीले नेपालको इतिहासमा नयाँ कीर्तिमान राखेकी छन् । सर्वोच्च अदालतको पहिलो महिला प्रधानन्यायाधीश भएर इतिहास रचेकी कार्की देशको पहिलो कार्यकारी प्रमुख बन्न सफल भएकी हुन् । जेनजी समूहको आन्दोलनको मागअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले विषम र असाधारण परिस्थितीमा युवापुस्ताद्वारा प्रकट गरिएको माग र आकांक्षा बमोजिम राजनीतिक दल र सरोकारवालासँगको परामर्शमा उनलाई प्रधानमन्त्रीमा नियुक्ति गरेका हुन् ।
प्रधानमन्त्री कार्कीको जन्म विसं २००९ जेठ २५ गते शङ्खरपुर–३ विराटनगरमा भएको हो । उनले महेन्द्र मोरङ कलेज विराटनगरबाट विसं २०२८ मा बिए र बनारस हिन्दू विश्वविद्यालयबाट २०३१ सालमा राजनीतिशास्त्रमा एमए गरेकी छन् । विसं २०३४ सालमा त्रिभुवन विश्वविद्यालयबाट कानुनमा स्नातक गरी अधिवक्ताका रूपमा उनले विसं २०३५ चैत्र १६ गतेदेखि कानुन व्यवसाय सुरु गरेकी हुन् ।
विसं २०४२ देखि तीन वर्ष महेन्द्र बहुमुखी क्याम्पस धरानमा अध्यापनसमेत गरिन् । उनी विसं २०४५ देखि २०४७ सालसम्म उनले कोशी अञ्चल बारको अध्यक्ष तथा विसं २०५९ देखि २०६१ सालसम्म विराटनगर पुनरावेदन बारको अध्यक्ष बनिन् । विसं २०६१ पुस ५ गते उनले वरिष्ठ अधिवक्ताको उपाधि प्राप्त गरेकी थिइन् । २०६५ माघ ९ गते उनी सर्वोच्च अदालतको अस्थायी न्यायाधीशमा नियुक्त भइन् । विसं २०६७ मङ्सिर २ गते सर्वोच्च अदालतको स्थायी न्यायाधीश बनिन् ।
संयुक्त राज्य अमेरिका, बेलायत, श्रीलङ्का, जापान, चीन, भारत, तान्जिनिया र नेदरल्याण्डलगायत देशको भ्रमण गरिसकेकी उनी नेपाली, अङ्ग्रेजी र हिन्दी भाषामा निपूर्ण छिन् । निडर स्वभाव र सरल जीवनशैली उनको पहिचान हो । उनले प्रधानन्यायाधीशका रूपमा १४ महिना जिम्मेवारी सम्हालेकी थिइन् ।
काभ्रेपलाञ्चोकका विभिन्न १८ वटा सरकारी तथा निजी संरचनामा क्षति
काभ्रेपलाञ्चोक– ‘जेनजी’ आन्दोलनका क्रममा काभ्रेपलाञ्चोकका विभिन्न १८ वटा सरकारी तथा निजी संरचनामा ठूलो क्षति पुर्याइएको छ । विशेषगरी नगरपालिका भवन, प्रहरी कार्यालय तथा जनप्रतिनिधिको घरमा तोडफोड र आगजनी गरी क्षति पुर्याइएको स्थानीय प्रशासनको प्रारम्भिक विवरणमा जनाइएको छ ।

प्रदर्शनका क्रममा मंगलबार बनेपा नगरपालिका कार्यालयमा तोडफोड गरी आगजनी गर्दा महत्वपूर्ण कागजात र सवारी साधन पूर्णरुपमा क्षति पुर्याइएको छ । यस्तै इलाका प्रहरी कार्यालय बनेपा, जिल्ला ट्राफिक प्रहरी कार्यालय, पाँचखाल र पनौतीका प्रहरी चौकी तथा हिँगुवापाटीसहितका प्रहरी बिटमा तोडफोड र आगजनी गरिएको कार्यालयले जनाएको छ । बनेपा नगर कार्यालय भने भग्नावशेषमा परिणत भएको छ ।
प्रदर्शनकारीले पनौती नगर र पाँचखाल नगर कार्यालय तथा सुनकोशी–पाँचखाल खानेपानी आयोजनाको कार्यालयमा समेत तोडफोड गरेका छन् । यसैगरी नेपाल कम्युनिष्ट पार्टी एमाले, काभ्रे र नेपाली कांग्रेसको बनेपास्थित कार्यालयमा तोडफोड गरी आगजनी हुँदा ठूलो क्षति भएको छ । प्रदर्शनकारीले जिल्लास्थित नेपाली कांग्रेसका केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईँ, धुलिखेल नगर प्रमुख अशोक ब्याञ्जू, पनौती नगरप्रमुख रामशरण भण्डारी, उपप्रमुख गीता बञ्जारा तथा पनौतीका पूर्वनगरप्रमुख भीम न्यौपानेका दुई घर, २ नं वडाका अध्यक्ष पुरुषोत्तम अधिकारी र व्यवसायी रामेश्वर थापाको पनौतीको कुशादेवीस्थित घरमा लुटपाट गरी तोडफोड तथा आगजनी गरेका छन् ।
बुधबार सदरमुकाम धुलिखेलस्थित जिल्ला कारागार कैदीबन्दीले आगजनी गरेका थिए । अन्य स्थानका कारागारबाट कैदीबन्दी भागेपछि आफूहरूलाई पनि रिहा गर्नुपर्ने माग राख्दै कारगारभित्र तोडफोड र आगजनी गरेपछि तत्कालै दमकल प्रयोग गरेर कारागारमा भएको आगजनी नियन्त्रणमा लिइएको थियो ।

आन्दोलनमा काभ्रेका दुई जनाको मृत्यु
‘जेनजी’ आन्दोलनका क्रममा जिल्लाका दुई जनाले ज्यान गुमाएका छन् । भुम्लु गाउँपालिका–४ घर भई ललितपुर उपमहानगरपालिका–२५ सुनाकोठी बस्दै आएका २७ वर्षीय सरोज खत्री र तेमाल गाउँपालिका–७ काल्धार घर भई ललितपुरको पाटनमा बस्दै आएका ४२ वर्षीय दिलनारायण तामाङको मृत्यु भएको हो ।

जेन–जी आन्दोलनमा ज्यान गुमाउनेहरुको विवरण

