बनेपा । यस वर्ष काभ्रेमा हालसम्म ३० जना डेंगु सङ्क्रमित देखा परेका छन् । गत आर्थिक वर्षमा यहाँ करिब ७०० जनामा सङ्क्रमण पुष्टि भएको थियो ।
यो वर्ष साउन १ देखि असोज २२ गतेसम्म ३० जनामा सङ्क्रमण पुष्टि भएको हो । जसमा धुलिखेलमा एक जना, बनेपामा ६ जना, पनौतीमा एक, पाँचखालमा ६, मण्डनदेउपुरमा १४ जनामा सङ्क्रमण देखिएको छ । गत वर्ष बनेपामा धेरै सङ्क्रमित देखिएकोमा यस वर्ष मण्डनदेउपुरमा सबैभन्दा बढी सङ्क्रमण देखिएको छ ।
यस्तै भुम्लुमा २ जना सङ्क्रमित भएका जिल्ला जनस्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । जसमा पुरुषको संख्या १० र महिलाको संख्या २० जना रहेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेंगुबाट बच्नका लागि लामखुट्टेको टोकाइबाट जोगिन, पानी जम्ने ठाउँहरू सफा राख्न र लामखुट्टेको लार्भा नष्ट गर्न आवश्यक रहेको जनाएको छ । ज्वरो आउने, टाउको दुख्ने, मांसपेशी तथा जोर्नी दुख्ने जस्ता डेंगुका लक्षण देखिएमा तत्काल नजिकको स्वास्थ्य संस्थामा गई चिकित्सकको सल्लाह लिन मन्त्रालयले अनुरोध गरेको छ ।
देशभर डेंगु संक्रमितको संख्या पाँच हजार एक सय ९६, काठमाडौँ संक्रमणको रेड जोनमा
देशका ७५ जिल्लामा डेंगु संक्रमित फेला परेका छन् । हाल देशभर संक्रमितको संख्या पाँच हजार एक सय ९६ जना छन् । जसमा पछिल्लो सात दिनमा २ सय ७४ जना थपिएका छन् । यो बर्ष डेंगुबाटै २ जनाले ज्यान गुमाइसकेका छन् ।
काठमाडौं जिल्ला डेंगु संक्रमणको रेड जोनमा परेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी) को तथ्याङ्कअनुसार जनवरी १ देखि हालसम्म उपत्यकामा ५ सय ६५ जना डेंगु संक्रमित भेटिएका छन् ।
संक्रमणको फैलँदो दर अनुसार कुनै जिल्लामा पाँच सय भन्दा बढी संक्रमित भेटिए सो जिल्लालाई संक्रमणको जोखिम बढेको भन्दै रेड जोनमा राख्ने गरिन्छ । यो अवधिमा डेंगु संक्रमित गण्डकी प्रदेशमा १ हजार ३ सय २७ जना पुगेका छन् । यसैगरी बागमती प्रदेशमा १ हजार १९१, कोशी प्रदेशमा ७३७ जना, मधेश प्रदेशमा ११२ जना, लुम्बिनीमा ९११, कर्णालीमा २९६ र सुदूरपश्चिम प्रदेशमा क्रमशः ६२२ जना संक्रमित रहेका छन् ।
विगतका वर्षहरूमा नेपालमा डेंगुको संक्रमणदर हेर्दा अगस्ट र सेप्टेम्बरसम्म डेंगु संक्रमण तीव्र फैलदै आएको छ । नेपालमा यसअघि सन् २०१० मा तराईका रूपन्देही, नवलपरासीलगायतका जिल्लामा डेंगुले महामारीको रूप लिएको थियो ।
नेपालमा पहिलोपटक सन् २००६ मा चितवनमा डेंगु पुष्टि भएको थियो भने सन् २०१९ मा पनि धरानमा डेंगुले महामारीको रूप लिएको थियो । त्यस्तै सन् २०२२ मा पनि काठमाडौँ उपत्यकामा डेंगुले महामारीकै रूप लिएको थियो । त्यसैगरी यो बर्ष पनि काठमाडौंमा डेंगु बढेको छ । पछिल्ला वर्षहरूमा वर्षाको समयमा डेंगु संक्रमण जनस्वास्थ्यको गम्भीर समस्याको रूपमा देखिने गरेको छ ।
पानी परेसँगै पानी जम्ने र जमेको पानीमा लामखुट्टेका लार्भा बढ्न थालेपछि संक्रमण दैनिक बढ्दो छ। पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्छ‚ ती फुल लार्भा बन्छन् र त्यही लार्भा वयस्क भएपछि मानिसलाई टोकेपछि डेंगु फैलिन्छ ।
अबको एक महिना संक्रमण बढ्ने हुँदा घर बाहिर निस्कँदा पूरा बाहुला भएको कपडा लगाउन, झुल टाँगेर सुत्न र खेतबारीमा काम गर्दा लामो बाहुला भएको लुगा लगाउन र झ्यालढोकामा जाली हाल्न स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ ।
यसका साथै घरवरपरका खाल्डाखुल्डी पुर्ने र खानेपानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्न, गमलाको प्लेट, फूलदानी, कुलर आदिको पानी कम्तीमा हप्ताको एकपटक फेर्ने, पानी जम्मा गर्ने भाँडालाई लामखुट्टे छिर्न नसक्ने गरी छोप्ने, साँझबिहान करेसाबारीमा जाँदा, घर बाहिर जाँदा, बालबालिकालाई लैजाँदा लामखुट्टेले नटोकोस् भनेर विशेष सावधानी अपनाउन मन्त्रालयले आग्रह गरेको छ ।
