- ज्ञानमणि नेपाल कालोटोपी
गत अंकबाट निरन्तर……
मिठो बोल्ने सबै मित्र हुँदैनन् । रिसाउने सबै शत्रु हुँदैनन् । नाता पर्ने सबै आफ्ना हुँदैनन् । अनि बोल्ने सबै बाठा र नबोल्ने लाटा कहिल्यै हुँदैनन् । जहाँ तपाईंको कदर हुँदैन, त्यहाँ जाँदै नजानुस् । जसले बुझ्दैन, उसलाई सम्झाउने प्रयास नगर्नुस् । जुन चीज पच्दैन, त्यो चीज कहिल्यै नखानुस्, जो नजरबाट गिर्छ, उसलाई नउठाउनुस् । जीवनमा दुःख आइलाग्यो भन्दैमा नडराउनुस्, मौसम जस्तो बदलिने मान्छेको संगत कहिल्यै नगर्नुस् ।
हामीले उल्लेखित भनाइहरु सुन्दै आएका छौं तर कहिलेकाहिँ समय नै यस्तो बनिदिन्छ की, जे कुरा नगरौं भन्यो त्यही गर्नैपर्छ । जहाँ नजाउँ भन्यो, त्यहाँ नगइ हुँदैन । सोचेजस्तो कहाँ छ र जीवन ? जीन्दगी त झरना जस्तै हुन्छ । अरुले देख्दा सुन्दर हुन्छ, ढुंगामा बजारिँदाको पीडा केवल पानीलाई मात्र थाहा हुन्छ । पानीमा नुन हाल्दा पानी नुनिलो हुन्छ तर नुन देखिँदैन, पानी देखिन्छ । जीन्दगी पनि त्यस्तै हो, अरुले देख्दा सुन्दर लागे पनि मनमा एउटा न एउटा पीडाले सधैं सताइरहेको हुन्छ ।
भगवान भन्नु हुन्छ, युद्ध भनेकै आफन्तसँग हुन्छ । नचिनेको मान्छेसँग त कसले युद्ध गर्छ र ? घरमा तपाईंलाई दुःख दिने त्यही चिनेकै मान्छे हुन्छ, तपाईंको बेइज्जत गर्ने पनि त्यही आफन्त नै हुन्छ । हजुरको प्रसंसा गर्ने बरु बाहिरको मान्छे होला तर नजिकको मान्छेले कहिल्यै गर्दैन । त्यसैले युद्ध भनेकै आफन्तसँग हुन्छ, घरभित्रै हुन्छ, नजिककै मान्छेसँग हुन्छ । त्यसैले हामीले असत्यमाथी सत्यको लडाईं गर्नुपर्छ । जीत ढिलो होला तर एक दिन पक्कै हुन्छ । हामीले यो पनि बुझ्नुपर्छ की जसले तपाईंको कुरा काट्छ नि, उसको मनमा पनि तपाईं नै हुनुहुन्छ । कुरा काटेर के हुन्छ र, तपाईंको गर्धन काट्यो भने हो समस्या हुने । नत्र कुरा काट्नेहरु काट्दै गर्छन्, तपाईं एक दिन गन्तव्यमा पुगेरै छोड्नुहुन्छ । काग कराउँदै गर्छ, पिना सुक्दै गर्छ, हात्ती गन्तव्यमा पुगेरै छोड्छ । गलत गरे हो डराउने, नत्र डराउनै पर्दैन ।
कपट गर्ने मान्छे देख्दा सोझो जस्तो लाग्छ तर त्यो मानिस जस्तो डरलाग्दो कोही हुँदैन । भित्रभित्रै जाल बुन्ने मान्छे स्वार्थी हुन्छ, फाइदा लुट्ने अवसरको खोजीमा हुन्छ । संसार विचित्रको छ, यसलाई जति बुझ्यो त्यति कठिन छ । नबुझे झन कठिन । लाखौं प्रजातीको साझा घर हो पृथ्वी तर मानिसले आफ्नै जस्तो गरेको छ । सबै जीवलाई नियन्त्रणमा पारेको छ । पृथ्वीमाथी जित्न अनेक परिक्षण गरिरहेको छ तर यो विर्सनु हुँदैन की मानिसले प्रकृतिलाई कहिल्यै नियन्त्रण गर्न सक्दैन ।
हरेक दिन सूर्य अस्ताउँछन् र चन्द्रमा उदाउँछन् । तर जीन्दगी यस्तो होइन । आज छ भोलि नहुन पनि सक्छ । त्यसैले घमण्ड नगरौं र पाएको जीन्दगीको सदूपयोग गरौं । भनिन्छ नि, शंख र मूर्खहरु अरुले फूकेपछि बोल्छन् । विद्वान र इमान्दार सधैं झुकेर बोल्छन् र दुश्मन र शत्रुहरु पछाडी लुकेर बोल्छन् । त्यसैले हामीले मान्छे चिनेर त्यही अनुसार व्यवहार गर्न सक्नुपर्छ । तपाईंले सोच बदल्नुपर्छ खुशी आफैं मिल्छ, स्वभाव बदल्नुस् इज्जत आफैं मिल्छ, कसैको पाउमा पर्न जरुरी छैन, बाटो सही रोज्नुस्, गन्तव्य आफैं मिल्छ । जतिसुकै राम्रो कुरा होस्, हाम्रो कमजोरी यसमा छ की, नकारात्मक सोचले हामी हरेक दिन कमजोर हुँदै जान्छौं । तनावको मूल कारण नकारात्मक सोच हो । जति नै गुलियो खानेकुरा भए पनि दाँतमा नुन टाँसिएको छ भने त्यसले गुलियो स्वाद पाउँदैन । त्यसैले सकारात्मक सोच राखौं । आन्तरिकरुपमा जीवनको परिवर्तन आफैं हुन्छ ।
साँचो मनले कसैलाई माया गर्नुहुन्छ भने उसको मायाबाट छुट्नुभन्दा मर्न सजिलो लाग्छ तर हामीले यो भुल्नु हुँदैन कि संसारमा माया गर्ने बाबुआमा बाहेक अरु वीरलै हुन्छन् । कसैको मायामा मर्नुभन्दा पहिले हामीले हाम्रो घरपरिवार, साथीभाइ, आफन्त र बाबुआमालाई याद गर्नुपर्छ । दुनियाँ सबै दोबाटोमा भेट भएका हुन्, दोबाटोमै छोडेर अघि बढ्नुपर्छ । आमाबुबालाई जन्मिँदै ल्याएका हौं । संसारमा बुबाआमाभन्दा ठूलो देवता कोही छैन । यदि कसैले भगवान खोज्दै बुबाआमालाई तिरस्कार गर्छ भने त्यो उसको भ्रम र मूर्खता दुवै हो । मानिसले कुन गलत र कुन सही पहिचान गर्न सकेन भने ऊ सधैं दुःखी र निराश हुन्छ । यसको कुनै औषधी नै छैन ।
क्रमशः……………….।
