धुलिखेल । साइकल कल्चर कम्युनिटीको आयोजना तथा धुलिखेल अस्पतालको सहकार्यमा आगामी पुस १७ गते (जनवरी १, २०२६) देखि पाँचथरको चिवाभञ्ज्याङदेखि बैतडीको झुलाघाटसम्म बृहत् साइकलयात्रा हुने भएको छ ।
बुधबार काभ्रेपलाञ्चाकको धुलिखेल अस्पतालमा आयोजित पत्रकार सम्मेलनमा यसको जानकारी दिइएको हो । आयोजकका अनुसार मध्यपहाडी लोकमार्ग हुँदै पूर्व–पश्चिम साइकलयात्रा हुनेछ । साइकलयात्रा अवधीभर एक हजार आठ सय किलोमिटर साइकलयात्रा हुने आयोजनाका संयोजक तारालाल श्रेष्ठले जानकारी दिनुभयो ।
साइकलयात्रामा ५२ हजार मिटर उचाई पूरा गर्ने अनुमान छ । सो यात्रामा मेचीदेखि महाकालीसम्मका साइकलयात्री सहभागी हुन सक्नेछन् । एक महिनासम्म चल्ने यात्रामा धुलिखेल अस्पतालको प्राविधिक सहयोगमा विभिन्न शहरहरूमा क्यान्सर र अन्य स्वास्थ्यसम्बन्धी सचेतनामूलक कार्यक्रमहरू पनि हुनेछन् ।
साइकलयात्रामा जोडिएका सहयोगीहरूबाट प्राप्त सहयोग क्यान्सर बिरामी सहयोग कोष स्थापनाका लागि धुलिखेल अस्पतालमा हस्तान्तरण गर्ने लक्ष्य रहेको कार्यक्रम संयोजक श्रेष्ठले जानकारी दिनुभयो । सिन्धुपाल्चोक जिल्लाको लिसंखुपाखरका हर्क लामाले यसको नेतृत्व गर्दैछन् । लामासँगै स्तन क्यान्सरको तेस्रो चरणलाई परास्त गर्दै सक्रिय जीवन जीउँदै आएकी कविता चित्रकार पनि सहभागी हुने आयोजकले जानकारी दिएको छ ।
कार्यक्रम एकदमै प्रभावकारी र सन्देशमूलक रहेको धुलिखेल अस्पतालका निर्देशक डा. रामकण्ठ माकजुले बताउनुभयो । सोही कार्यक्रममा धुलिखेल अस्पतालका डा. सुमनराज ताम्राकारले लेख्नु भएको पुस्तक “अर्बुद मन्थनः दीर्घ जीवन” को विमोचन पनि गरिएको थियो । अस्पतालका निर्देशक माकजुले यसको विमोचन गर्नुभएको हो । यसमा मानव शरीरमा लाग्ने सबैखाले क्यान्सर र उपचारका बारेमा उल्लेख गरिएको छ । साइकलयात्रा अभियानमा रोटरी क्लब, लायन्स क्लब, विभिन्न व्यापारी संघसंस्था, उद्योगीलगायतको साथ रहने अपेक्षा गरिएको छ ।
कार्यक्रममा आयोजकले दिएको जानकारी
साइकल कल्चर कम्युनिटीले धुलिखेल अस्पतालसँगको सहकार्यमा वृहत् साइकल यात्रा आयोजना गर्ने भएको छ । पूर्व–पश्चिम मध्यपहाडी लोकमार्ग हुँदै सन् २०२६ जनवरी १ मा पाँचथरको चिवाभञ्याङबाट शुरु भई बैतडीको झुलाघाट पुगेर अन्त्य गरिने यस साइकल यात्राको नेतृत्व क्यान्सरसँग सङ्घर्षरत साइक्लिस्ट हर्क लामाले गर्ने भएका छन् ।
सन् २०२० मा उनको पिसाव थैलीमा क्यान्सर देखिएपछि धुलिखेल अस्पतालमा उपचार गरिएको थियो । उपचारकै क्रममा पनि उनले पहिलेझै सक्रिय साइक्लिङलाई निरन्तरता दिएका थिए । क्यान्सर उपचारपश्चात पनि साइकल प्रतियोगिताहरु जित्दै आइरहेका उनी अन्तर्राष्ट्रिय साइकल प्रतियोगिताहरुमा समेत सहभागी भइरहन्छन् । अफ्रिकामा आयोजित संसारकै सबैभन्दा विशाल साइकल प्रतियोगिता Cape Epic–२०२५ मा सहभागी भएका उनी नेपालका उच्च हिमालहरुमा साइक्लिङ टुर गर्ने एक अगुवा साइक्लिस्ट हुन् ।
सन् २०१६ देखि निरन्तर साइकल प्रतियोगिताहरुमा सहभागी उनी क्यान्सरसँग सामना गर्दै राष्ट्रिय प्रतियोगिताहरुदेखि Yak Attack जस्ता साहसिक अन्तर्राष्ट्रिय साइकल प्रतियोगिताहरुमा विजयी बन्दै आएका छन् ।
यस्तै स्तन क्यान्सरको तेस्रो चरणबाट उठेर साइकलमार्फत सक्रिय सकारात्मक जीवनशैली अपनाई आएकी कविता चित्रकार हर्क लामासँगै उक्त साइकल यात्रामा सहभागी हुनेछिन् । उनले संसारकै उच्चतम हिमालमा आयोजना गरिने अन्तर्राष्ट्रिय साइकल प्रतियोगिता Yak Attack–२०२५ मा सहभागी भइ अन्नपूर्ण सर्किट थोरोला पास यात्रा सम्पन्न गरेकी थिइन् । नेपाली महिला साइकल समुदाय माझ कविता चित्रकार एक नमुना साहसिक नव साइक्लिस्टको रुपमा परिचित छिन् । जन्मदिने आमा र दिदी दुबै उनको काखमै क्यान्सरका कारण बितेको यथार्थ भोगेकी कविताले आफू पनि क्यान्सरको अन्तिम स्टेजमा पुगेको यथार्थ सामना गर्न असमर्थझैं बनेको अवस्थामा साइकलको सहाराबाट नयाँ जीवन पाएको बताउँदै आएकी छिन् ।
साइकलमार्फत कविताको जीवनमा देखिएको परिवर्तनबाट उनको उपचारमा संलग्न चिकित्सकहरुसमेत उत्साहित छन् । नियमित साइक्लिङलाई नै जीवनको सबैभन्दा अमूल्य जीवनशैली बताउँदै आएकी उनी यस यात्रामार्फत क्यान्सरसँग संघर्षरत मानिसलाई सक्दो सहयोग जुटाउन उत्सुकताका साथ सहभागी हुँदैछिन् । बाँकी जीवन आफूमा जस्तै अरुमा पनि सकारात्मक ऊर्जा भर्न उनी यस साइक्लिङ यात्राप्रति समर्पित छिन् ।
कूल १८०० किमी दुरी पार गर्ने यस साइकल यात्रामा ५२ हजार मिटर उचाई लाभ गरिने छ । त्यसक्रममा मेचीदेखि महाकालीका साइकलप्रेमी तथा सहयोगीहरु यात्रामा जोडिनेछन् । एक महिनासम्म जारी रहने यस साइकल यात्रामा विभिन्न सचेतनामूलक कार्यक्रमहरुको आयोजना गरिने छ । कतिपय स्थानमा स्वास्थ्य जाँच कार्यक्रम पनि सञ्चालन गरिनेछ । स्थानीय संघसंस्थाले आफ्नो क्षेत्रमा विविध कार्यक्रमको आयोजनासहित यस यात्रालाई सहयोग गर्न सक्नेछन् । जो कोही व्यक्ति सहभागी भई यस यात्रालाई उत्सवमयी बनाउन र आफ्नो गक्ष्यअनुसार कोषमा मुष्ठीदान गर्न सक्नेछन् । यस साइकल यात्राबाट प्राप्त रकम क्यान्सर विमारी सहयोग कोष स्थापनाका लागि धुलिखेल अस्पताललाई हस्तान्तरण गरिने छ ।
नेपालमा वार्षिक २२ हजारभन्दा बढी क्यान्सर रोगी थपिन्छन् । करिब १५ हजार नागरिक बर्षेनी क्यान्सरबाट मृत्युवरण गर्छन् । जबकी अधिकांश क्यासर रोकथाम वा उपचारयोग्य मानिन्छ । यद्यपि क्यान्सरले बर्षेनी यति ठूलो संख्यामा मानिसको ज्यान लिइरहेको देखिन्छ । भारी उपचार खर्चले धेरै नेपाली गरिबीतर्फ धकेलिन्छन् । नेपालमा क्यान्सर पीडितले आवश्यक हेरचाह पाउन कठिन देखिन्छ । यसर्थ, यस साइकल यात्रा नेपालका लागि नमुना कार्य बन्न सक्छ । यस यात्राले सचेतनाका साथसाथै नीति निर्माणमा समेत टेवा पुर्याउने छ । यस कार्यले आगामी दिनमा कोष स्थापना, सहकार्यगत एकता तथा उबििष्बतष्खभ अबचभ लाई सघाउँदै आम नागरिकमाझ क्यान्सरपछि पनि साहसिक, उद्देश्यपूर्ण र आशावादी जीवन जीउन मार्गनिर्देश गर्नेछ । अरुका लागि दीप बाल्यो भने आफ्नो बाटो त्यसै उज्यालो हुन्छ भन्ने मान्यताअनुसार यस अभियानलाई सहयोग गरिदिन आयोजकले सबैमा अनुरोध गरेको छ ।
