काभ्रे । बनेपा बजारमा करिब डेढ वर्षदेखि अवरुद्ध अरनिकाे राजमार्ग विस्तारको काम अब सुचारु हुने भएकाे छ।
आइतबार नगरपालिकामा पीडित पक्ष, सडक निर्माण कम्पनी र नगरपालिकाका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतलगायतबीच काम सुचारु हुने सहमति भएको छ। यससँगै अब भने कामले निरन्तरता पाउने बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यले बताउनुभयाे । ‘लामाे छलफल र वार्तापछि हामी सहमतिमा पुगेका छाैं । अब काम राेकिँदैन ।’ प्रमुख शाक्यले भन्नुभयाे ।
सूर्यविनायक-धुलिखेल सडक आयोजना अन्तर्गत साँगा-धुलिखेल सडक खण्डको डिजिटल नापी नक्सा लागू भइसकेकाले सोही नक्सालाई आधार मानी सडक सीमाक्षेत्र कायम गर्ने तथा रेखाङ्कन गरी अवरूद्ध निर्माण कार्य सुचारू गर्ने निर्णय गरिएकाे उहाँले जानकारी दिनुभयाे । यस्तै बैठकमा सडक सीमाभित्र Design Standard नघट्ने गरी सडक निर्माण कार्य अघि बढाउने पनि निर्णय गरिएकाे छ ।
कार्यक्रममा सूर्यविनायक धुलिखेल सडक आयाेजनाका आयाेजना प्रमुख विजयकुमार महताे, बनेपा नगरपालिकाका प्रमुख शाक्य, उपप्रमुख विमला सापकाेटा दाहाल, प्रमुख प्रशासकीय अधिकृत पाेषण लामिछानेलगायत विभिन्न वडाका वडाध्यक्षहरु, सराेकारवाला स्थानीयवासीहरु, काभ्रे उद्याेग वाणिज्य संघका अध्यक्ष प्रताप वैद्य, नापी कार्यालय काभ्रेका जयराम तामाङ, निर्माण कम्पनी र नगरपालिकाका इञ्जिनियरहरु लगायतकाे उपस्थिती थियाे ।
स्थानीयवासीहरुले नगरपालिकामा अरनिकाे राजमार्गले छुनेजति सबै ठाउँमा एकरुपता कायम गरि काम अघि बढाउनु पर्ने र ढलकाे व्यवस्थापनका विषयमा नगरपालिका र आयाेजनासँग माग गरेका थिए । यसपछि अब काम नराेकिने र समस्या देखिएका ठाउँमा तीन वटै पक्षबीच सहमति गरेर मात्र काम अघि बढाउने सहमति भएकाे हाे ।
याे सँगै लामाे समयदेखि राेकिएकाे अरनिकाे राजमार्गकाे बनेपा खण्डकाे कामले गति लिने र समस्या समाधान हुने अपेक्षा राखिएकाे काभ्रे उद्याेग वाणिज्य संघका अध्यक्ष प्रताप वैद्यले बताउनुभयाे । याे सहमतिका लागि आफ्नाे तर्फबाट संघले लामाे प्रयास गरेकाे र आज बल्ल सफल भइएकाेमा उहाँले खुशी व्यक्त गर्नुभयाे । अब साेमबारदेखि नै कामले निरन्तरता पाउने उहाँकाे भनाइ थियाे ।
