बनेपा । जिल्ला सहकारी संघ लिमिटेड (डिस्कोफ) काभ्रेको आयोजनामा बुधबार “सहकारी क्षेत्रमा AI (Artificial Intelligence) को प्रयोग” विषयक एकदिवसीय तालिम संघको सभाहलमा सम्पन्न भएको छ ।

तालिम कार्यक्रममा संघका शिक्षा तथा तालिम ब्यवस्थापन उपसमिति संयोजक शान्ति लामा तामाङको सभापतित्व एवं संघका अध्यक्ष अमन पोटे श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो । तालिमको सहजकर्ताको भूमिकामा प्रविधिमा विज्ञता प्राप्त सन्दिपराज भाट रहनुभएको थियो ।

एआइ प्रविधिको प्रयोगबाट सहकारी संस्थाहरूमा सुशासन, सेवा प्रवाह, वित्तीय व्यवस्थापन तथा सदस्य–संवाद प्रणालीलाई थप प्रभावकारी बनाउने उद्देश्यले आयोजित तालिममा संघका संचालक समिति र लेखा सुपरिवेक्षण समितिको उपस्थिती तथा काभ्रे जिल्लाका विभिन्न सहकारी संस्थाबाट ३२ जनाको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रम संचालन संघका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार श्रेष्ठले गर्नुभएको थियो ।

तालिममा सहकारीहरूको दैनिकी कार्यमा एआई प्रविधि कसरी प्रयोग गर्न सकिन्छ, जोखिम व्यवस्थापन तथा निर्णय प्रक्रियालाई कसरी प्रविधिमैत्री बनाउन सकिन्छ भन्ने विषयमा विस्तृत जानकारी प्रदान गरिएको थियो । एआई आधारित डेटा विश्लेषण, लेखा व्यवस्थापन, सदस्य सेवा स्वचालन, सूचना प्रवाह तथा कागजी कार्यलाई डिजिटल रूपान्तरण गर्ने उपायहरूबारे यस विषयका प्राविधिक विज्ञ सन्दिपराज भाटले सहभागीहरूलाई प्रयोगात्मक रुपमा सहजिकरण गर्नु भएको थियो ।

जिल्ला सहकारी संघ लि.का अध्यक्ष अमन पोटे श्रेष्ठले शुभकामना मन्तब्य राख्दै सहकारी क्षेत्रलाई प्रविधिसँग जोडेर दिगो, पारदर्शी र प्रतिस्पर्धी बनाउन यस्तो तालिम अत्यन्तै आवश्यक रहेको बताउनु भयो। सचिव प्रकाश बञ्जाराले सबै सहभागीहरुलाई स्वागत मन्तब्य राख्नु हुँदै प्रविधिको सकारात्मक र नकारात्मक पक्ष हुने हुँदा तालिमबाट प्राप्त ज्ञान र सिपलाई सही प्रयोग गर्नुपर्ने धारणा राख्नु भयो ।

त्यसैगरि कोषाध्यक्ष अर्जुनप्रसाद सापकोटाले आजको एआई सम्वन्धि तालिम सहकारी ब्यवस्थापनमा कर्मचारीहरुको लागि फलदायी सावित गर्न सिकेका कुराहरु आआफ्नो संस्थामा सहि तरिकाले प्रयोगमा ल्याउनुपर्ने बताउनु भयो । संघका उपाध्यक्ष एवं शिक्षा तथा तालिम ब्यवस्थापन उपसमितिका संयोजक शान्ति लामा तामाङले कार्यक्रमको समापन गर्नुहुँदै सहकारीहरूलाई आधुनिक प्रविधिको प्रभावकारी उपयोगमार्फत सदस्यलाई अझ उत्कृष्ट सेवासुविधा प्रदान गर्न संघ निरन्तर सक्रिय रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

तालिमले सहभागीहरूलाई आवश्यक सीप, ज्ञान र आत्मविश्वास प्रदान गरेको तथा तालिम सम्पन्नसँगै सहभागीहरूका सुझाव तथा अनुभवसमेत संकलन गरिएका छन्, जसले आगामी दिनमा सहकारीहरूका लागि थप प्रभावकारी कार्यक्रमहरू निर्माण गर्न सहयोग गर्ने संघका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार श्रेष्ठले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *