सिन्धुपाल्चोक । इन्द्रावती गाउँपालिकामा रहेको श्री नौली महादेव महिला विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४ औं वार्षिक साधारण सभा तथा छैठौं अधिवेशन बिहीबार सम्पन्न भएको छ। गाउँपालिका अध्यक्ष झम्कनाथ नेपालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा आफ्नो भनाइ राख्दै अध्यक्ष नेपालले राज्यले संस्थाको प्रकार हेरेर सहयोग तथा अनुदान प्रदान गर्ने र बचत तथा ऋण सहकारी संस्थालाई त्यति प्राथमिकता नदिने भएकाले नौली महादेवलाई पनि कृषि सहकारी संस्थामा रुपान्तरण गर्न आग्रह गर्नुभयो ।
महिलाहरूको आर्थिक अवस्था मजबुत बनाउने दृष्टिकोणका साथ गाउँपालिका अघि बढेको बताउँदै उहाँले गाउँपालिकाकै केन्द्र नवलपुरमा अवस्थित यस सहकारीले पालिकाभित्र रहेका अन्य सहकारीहरू भन्दा फरकपन ल्याउन र सबैले अनुशरण गर्ने गरी काम गर्न सुझावसहित त्यसका लागि गाउँपालिकाले खेल्नुपर्ने भूमिकामा तयार रहेको बताउनुभयो। गाउँपालिका अहिले दुध, मासु र खाद्यान्नमा आत्मनिर्भर भएको बताउँदै फलफूलमा पनि आत्मनिर्भर हुनका लागि काम गरिरहेको बताउनुभयो ।
कार्यक्रमका विशिष्ट अतिथि महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका सचिव तथा सहकारीका पूर्वाध्यक्षसमेत रहनुभएका अन्जु ढुंगानाले जुन महिलाको हातमा पूँजी हुन्छ तब त्यो घर सबल र सक्षम बन्ने धारणा राख्नुभयो । वडा नम्बर ४ का अध्यक्ष क्षेत्रबहादुर तामाङले यस सहकारीले महिलाको सवालमा धेरै कामहरूको गरेको बताउँदै सहकारीको प्रशंसासमेत गर्नुभयो। सहकारीलाई यहाँसम्म ल्याउन सक्षम नेतृत्वले मात्रै सक्ने भएकाले अब आउने नेतृत्व पनि यसलाई प्रभावकारी तरिकाले अघि बढाउन सक्षम महिला छनोट गर्न सुझाव दिनुभयो ।
महिलाहरूलाई आर्थिकरुपमा सबल र व्यवसायिक बनाउन विगतमा पनि वडाले यस सहकारीसँग सहकार्य गरी विभिन्न काम गरेको बताउँदै आगामी दिनमा पनि वडा स्थानीय सरकार सहकारीको साथमै रहने र सँगसँगै अघि बढ्ने उहाँको भनाइ छ। साथै सहकारीलाई झैं उचाइमा पु¥याउन आउने नेतृत्व र समिति सक्षम होस् भनी शुभकामना पनि व्यक्त गर्नुभयो । सहकारीका सदस्य तथा मेलमिलाप संघका संयोजक दयाकुमारी मिश्रले शुभकामना मन्तव्य राख्दै ऋणी दिदीबहिनीहरूले ऋण समयमा तिर्न अनुरोध गर्नुभयो ।
आर्थिक वर्ष २०८२ असार मसान्तसम्म २३ जना नियमित किस्ता रकम बुझाउने सदस्यहरूलाई कार्यक्रमको अवसरमा फिर्ता रकमसमेत आज प्रदान गरिएको छ। उनीहरूले नियमित किस्ता बुझाएबापत आएको ब्याजबाट ५ प्रतिशत रकम फिर्ता पाउँदै आएका छन् ।
सहकारीमा नियमित बचत, बाल बचत, पर्व बचत, आवधिक बचत, जेष्ठ नागरिक बचत तथा गर्भवती बचत गरी १ हजार ३०२ जना बचतकर्ता सदस्य रहेको सहकारीमा हाल २ करोड ९ लाख २१ हजार ८१९ निक्षेप रहेको आर्थिक प्रतिवेदनमा उल्लेख छ। साथै सहकारीले यस आर्थिक वर्ष ३ करोड ३० लाख १७ हजार ४४२ को कारोबार गरेको पनि आर्थिक प्रतिवेदनमा उल्लेख छ । साथै छैठौं अधिवेशनबाट सानुकान्छी राना मगरको अध्यक्षतामा ११ सदस्य नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ ।
