काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ मा नेपाली कांग्रेस काभ्रे क्षेत्र नम्बर १ का उम्मेदवार गुणराज मुक्तानलाई सघाउन काठमाडौँमा नमोबुद्ध नगरवासीको भेला आयोजना गरिएको छ ।

विभिन्न पेशा व्यवसायका लागि काठमाडौँमा बस्दै आएका उनीहरुले प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ मा मुक्तानलाई जिताउन सबै लाग्ने प्रतिबद्धता पनि जनाएका छन् ।

नेपाली कांग्रेस नमोबुद्ध काठमाडौँ सम्पर्क समितिले बुधबार काठमाडौँमा गरेको अन्तरक्रिया तथा चियापानमा सहभागी उनीहरूले उपत्यकामा रहेका नमोबुद्धवासीलाई मतदानको सहज वातावरण बनाउन व्यवस्थापन गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा नेपाली कांग्रेसका अग्रज नेता शिवप्रसाद हुमागाईँले मुलुक निर्वाचनमा होमिसकेका कारण सरकारले निर्वाचनको वातावरण बनाउनुका साथै र सुरक्षा प्रदान गर्नुपर्ने बताए । लोकतान्त्रिक पार्टीभित्र विभिन्न मतभेदहरू हुनसक्ने भन्दै उनले निर्वाचनमा पार्टीका उम्मेदवारलाई जिताउन सबै एकजुट भएर लाग्ने बताए ।

प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका नेपाली कांग्रेस काभ्रेपलाञ्चोकका सचिव गुणराज मुक्तानले नेपाली कांग्रेस पार्टीले अघि सारेका उद्देश्य, दृष्टिकोण पूरा गर्न आफू उम्मेदवारको रुपमा उभिएको भन्दै सुशासन, पारदर्शिताका साथै राज्य सञ्चालन गर्दाका त्रुटी र काभ्रेका समस्या सदनमा प्रखररूपमा उठाउने बताए । पार्टीका विभिन्न जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेको बताउँदै उनले आफू ‘बोक्न गरुङ्गो नहुने र काम लगाउन अप्ठ्यारो नहुने’ पात्र भएकाले कांग्रेसको जितको लागि सबैको साथ र सहयोगको अपेक्षा गरे ।

कार्यक्रममा नेपाली कांग्रेस काभ्रेपलाञ्चोक जिल्ला कार्यसमिति सदस्य रहेका काभ्रे काठमाडौँ सम्पर्क समितिका पूर्वसभापति भोला भट्टराई, सभापति बद्रीराज तिमल्सिना, प्रतिनिधिसभा क्षेत्र नम्बर १ काठमाडौँ सम्पर्क समितिका सभापति राजन लामा, नेपाल तरुण दलका केन्द्रीय सदस्य रोशनराज पाण्डे, स्मिता मुक्तान, नमोबुद्ध काठमाडौँ सम्पर्क समितिका सभापति आकाश तामाङ, सचिव नवेश तामाङ, केदारप्रसाद पौडेललगायतले सहज तरिकाले मतदानमा भाग लिन पाउने व्यवस्था गर्न समिति सक्रिय रहने प्रतिबद्धता व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *