ज्ञानमणि नेपाल कालोटोपी
वर्तमान युग संचार, सूचना तथा प्रविधिको युग हो । यसमा विशेषगरि पत्रकारहरु बढी अपडेट भइरहेका हुन्छन् र हुनुपर्छ पनि । यससँगै नेपाली पत्रकारितामा विकृति र विसंगतिहरु पनि फैलिएका छन् । यो अवस्था देख्दा बरु पुरानै अवस्थामा संचार माध्यमहरु ठीक पो थिए कि भन्ने लाग्न सक्छ । यसलाई स्वभाविक मान्नुपर्ने अवस्था पनि छ । यतिबेला पत्रकारिता क्षेत्रमा पनि विकृति र विसंगतिले जरा गाडेको छ । यहाँसम्म कि पत्रकारले अहिले आफूलाई पत्रकार हुँ भन्न पनि अप्ठ्यारो मान्नुपर्ने अवस्था छ ।
समाजमा धेरै समस्याहरु छन् । परम्परागत मान्यताले समाज पछाडि परेको यथार्थ एकातिर छ भने भ्रष्ट्राचार पनि ऐंजेरुको रुपमा देखा परेको छ । विकास निर्माणका काम त्यस्तै लथालिंग छन् । सामाजिक कुरितीहरुलाई पनि पन्छाउनु पर्ने अवस्था एकातिर छ भने सानासाना विवादले पनि समस्याको रुप लिएर समाज विखण्डन गराउने तत्वहरुको पनि कमी छैन ।
समाज सुधारमा पत्रकारिता
समाजका समस्याहरुको उजागर गरेर जनमानसमा सही सूचना प्रवाह गर्न संचारमाध्यमले ठूलो भूमिका खेल्न सक्छन् । खासमा यो दायित्व नै संचार माध्यमको हो, तर पछिल्ला दिनहरुमा संचार माध्यमहरुले दिने सूचनाहरुमा पनि विश्वसनियता देखिँदैन । च्याउसरि उम्रिएका मिडियाहरुले दिने सूचनाका सामाग्रीहरु नागरिकले पत्याउनै नसक्ने अवस्था एकातिर छ भने समाजलाई जोड्ने भन्दा पनि बिगार्ने प्रवित्ति पनि देखिन्छ ।
विकसित परिस्थितीमा यतिबेला पत्रकारिताले समाजमा रहेका नराम्रा विषयहरुलाई उठाउँदै त्यहाँ कसरी र के गरेर हुन्छ, नागरिकलाई सचेत बनाउनु पर्छ । जहाँ पत्रकारहरुले ठूलो भूमिका निभाउन सक्छन्, सक्नु पर्छ पनि । यतिबेला देशमा तीन तहका सरकार छन् । पत्रकारहरुले स्थानीय सरकारहरुसँग समन्वय गरेर गाउँठाउँका समस्यालाई आफ्ना संचार माध्यमबाट प्रकाशित, प्रशारित गरेर समाजको एउटा जिम्मेवार निकायको रुपमा अग्रसर गराउन सक्नुपर्छ ।
चौथो अंगको भूमिका र चुनौतीहरु
सरकारले कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकापछि पत्रकारितालाई राखेको छ । यसको मतलब पत्रकारिता क्षेत्र यसैपनि जिम्मेवार निकाय त हो नै, त्यसमाथि पनि समाजले मिडियामा आएका विषयलाई चासोको रुपमा लिने गरेका पनि छन् । तर पछिल्ला केही वर्षयता पत्रकारिता क्षेत्र आफैं समस्यामा छ । समस्यामा रहेर पनि पत्रकारहरुले आफ्नो भूमिका निर्वाहमा कुनै कमी हुन नदिने प्रयास गरिरहेका छन् । देशका कुनाकुनामा पुगेर त्यहाँका घटनाक्रमहरु र नराम्रा कामहरुमा कलम कुदाउने गर्नेहरुले साँच्चै नै समाजमा परिवर्तन पनि आएका छन् । पत्रकारितामा पनि विशेषगरि पछिल्लो समय खुलेका सामाजिक संजालमा आएका विषयवस्तुहरुले गर्दा भने वास्तविक पत्रकारहरुको महत्वमाथि प्रश्न खडा गरेको छ ।
समय अनुसार सामाजिक संजाल नभइ हुँदैन तर यिनीहरुमा नियमनको भने खाँचो देखिन्छ । पहिले यी माध्यमहरु सुधार गर्नुपर्छ अनि मात्र यिनीहरुले समाजमा सकारात्मक सन्देश प्रवाह गर्न सक्ने यथार्थलाई सबै तहका सरकारहरुले सोच्न जरुरी देखिन्छ ।
के गरिरहेका छन् पत्रकारहरु ?
विगतमा आपत विपतमा पत्रकारिताले आफूलाई सधैं अग्रपंक्तिमा राखेर काम गरिरहे । चाहे ०६२÷०६३ को जनआन्दोलन होस् वा ०७२ सालको विनासकारी भूकम्प र त्यसपछिका अन्य घटनाक्रम नै किन नहोस् । मिडियाको रोल उल्लेखनिय रहेको थियो । हालैको बाढीपहिरोमा पनि संचारमाध्यमले नागरिकलाई सूचना प्रवाहमा आफूले सकेको योगदान गरिरहे । यसर्थ पनि आगामी दिनमा पनि पत्रकारहरुले यस्तै रचनात्मक भूमिका खेल्न जरुरी छ ।
हुन त प्राचिन कालमा सूचनाको पहुँच कसलाई नै थियो र ? तैपनि मानिसहरुले खबर आदानप्रदान त गरिरहेकै थिए । तर यो त्यो जमाना होइन, प्रविधिले गाँजेको आधुनिक समाज हो । यतिबेला मानिसहरु क्षणक्षण अपडेटमा हुन्छन् । उतिबेलै नयाँ विषय वस्तुहरुको सिर्जना हुन्छ । जसलाई आमजनमानससमक्ष पुर्याउन संचार माध्यम नै चाहिन्छ । यति मात्र होइन, कतिबेला कहाँ के भइरहेको छ वा आज विश्वमा कुन ठाउँमा के भइरहेको छ भन्ने तत्काल जानकारीका लागि पनि पत्रकारिताले ठूलो भूमिका खेलिरहेको छ । भविष्यमा हुनसक्ने भवितव्यका बारेमा पनि भविष्यवाणीहरु आइरहेका हुन्छन् । तिनीहरुको जानकारी दिने सहज माध्यम पनि पत्रकारहरु नै बनिरहेका छन् । यसर्थ पनि यतिबेला नागरिकको भरोसाको केन्द्रमा पत्रकारिता छ भन्दा फरक पर्दैन ।
विश्वासमा रहन के गर्ने ?
यतिबेला पत्रकारिता क्षेत्रले आफूलाई नागरिकले विश्वास गर्ने बनाउन निकै चुनौती छ । अझ स्वतन्त्र भनिएका संचार माध्यमहरु राजनीतिक दलका मुखपत्रहरु जस्ता हुन थालेका छन् । पार्टी केन्द्रीत विषयवस्तुहरु, त्यो पनि आफ्ना समर्थक दलले गरेका जे काम पनि सही र अरु दलले गरेका सबै गलत भन्ने जस्ता विषयवस्तु दिएर नागरिकलाई भ्रममा पार्ने प्रवित्ति पनि केही पत्रकारहरुको पाइएको छ । यो एकदमै गलत मात्र होइन, स्वतन्त्र भनिएको पत्रकारिता क्षेत्रभित्र मौलाएको विकृति पनि हो । अझ कतिपय ठाउँमा त पत्रकार हुँ भन्दै केही व्यक्तिले बार्गेनिङ गर्ने र पैसा असुल गर्ने गरेका घटनाहरु पनि बाहिर आइरहेका छन् । यसर्थ यस्ता क्रियाकलापमा भने पत्रकारले गम्भीर हुनुपर्छ र आफ्नो मर्यादामा रहेर काम गर्नुपर्छ । त्यतिबेला मात्र वास्तविकरुपमा समाज परिवर्तनको संवाहक भएर संचार जगत रहन सक्छ । यसमा दुईमत छैन ।
