• ज्ञानमणि नेपाल कालोटोपी

बनेपा । प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै गर्दा यतिबेला काभ्रे क्षेत्र नम्बर २ पनि चर्चामा छ । विगतका निर्वाचनहरुमा नेकपा एमालेले पटक पटक जित्दै आएको यो क्षेत्र एमालेका प्रभावशाली नेता मानिएका पूर्वमन्त्री गोकूल बाँस्कोटाले २ पटक जितेको क्षेत्र हो । तर एमालेले यहाँ यो पटक बाँस्कोटाको ठाउँमा अशोक व्याञ्जुलाई उठाएको छ ।

यस्तै नेपाली कांग्रेसको राजनीतिमा लामो समय खर्चिएका केन्द्रीय सदस्य मधुप्रसाद आचार्य पनि यही क्षेत्रबाट उम्मेदवार बन्नुभएको छ । उहाँ ०७४ सालमा गोकूल बाँस्कोटासँग यही क्षेत्रबाट पराजित हुनुभएको थियो । उहाँ नेपाली कांग्रेसका काभ्रे जिल्ला पूर्वसभापति समेत हुनुहुन्छ ।

यही क्षेत्रबाट नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट वसुन्धरा हुमागाईं उम्मेदवार बन्नु भएको छ । उहाँ यसअघि ०७४ सालको निर्वाचनमा प्रदेश सांसद हुँदै वागमती प्रदेशका कृषिमन्त्रीसमेत हुनुहुन्थ्यो ।

उता नयाँ भनिएका दल रास्वपाबाट बदन भण्डारी पहिलो पटक प्रतिनिधि सभाको उम्मेदवार बन्नुभएको छ । उहाँ यसअघि नेकपा एमाले, समाजवादीलगायत पार्टीमा रहँदै पछिल्लोपटक राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट अहिले उम्मेदवार बन्नुभएको हो । यस्तै कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीले यस क्षेत्रमा होटल व्यवसायी ज्योत्सना सैंजुलाई उम्मेदवार बनाएको छ । उहाँ राजनीतिमा नयाँ अनुहारको रुपमा देखिनुभएको छ ।

यता राष्ट्रिय प्रजातन्त्र पार्टीले युवा नेता रन्जिब श्रेष्ठलाई उम्मेदवार बनाएको छ । उहाँले राप्रपाको राजनीतिमा लामो समय बिताइसक्नुभएको छ ।

निर्वाचन क्षेत्र नम्बर २ मा १६ दल र ८ स्वतन्त्र गरी २४ जनाको उम्मेदवारी दर्ता भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जसमध्ये दुईवटा दल र एक जना स्वतन्त्र गरी ३ जना महिला उम्मेदवार छन् ।

यस्तै नेमकिपाबाट मुना तामाङ, नेपाल कम्युनिष्ट पार्टी संयुक्तबाट राजन थापा, नेशनल रिपब्लिक नेपालबाट सुकमान तामाङको उम्मेद्वारी परेको छ भने राष्ट्रिय जनमोर्चाबाट सूर्वणविक्रम थापा, मितेरी पार्टी नेपालबाट हरिबहादुर थापा, मंगोल नेशनल अर्गनाईजेशनबाट उमेश तामाङले पनि उम्मेदवारी दर्ता गराएको कार्यालयले जनाएको छ ।

यस क्षेत्रमा जनता समाजवादी पार्टीबाट रकम लामा तामाङ, श्रम संस्कृति पार्टीबाट टंकबहादुर लामा, प्रगतिशील लोकतान्त्रिकबाट रमेशबहादुर घर्ति क्षेत्री र नेपाल कम्युनिष्ट पार्टी (माओवादी)बाट कान्छाराम घिसिङले पनि उम्मेद्वारी दर्ता गराउनु भएको छ ।

त्यस्तै यहाँ आशा तामाङ, उमेश थापा, केशवराज तिमल्सिना, गणेशप्रसाद अधिकारी, डिल्लीप्रसाद न्यौपाने, लेनिन विष्ट, विष्णुकुमार श्रेष्ठ र सीताराम मैनालीले स्वतन्त्र उम्मेदवारी दिनुभएको छ ।

उम्मेदवारका आआफ्नै प्रतिबद्धता, विकास र सुशासनमा जोड
यस क्षेत्रमा उम्मेदवारी दिएका २४ जना नै उम्मेदवारहरु सबै आफूले जित्ने दाबी गर्छन् । यी सबै अवस्थाको सरसर्ती अवलोकन गर्दा पुराना भनिएका दलहरु नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी नेकपा तथा नयाँ दल रास्वपाबीच नै कडा प्रतिस्पर्धा हुने आँकलन गरिएको छ ।

यता कांग्रेस र एमालेभित्रको आन्तरिक विवादको फाइदा अरु दलहरुले लिन सक्ने पनि धेरैको अनुमान छ । जीत–हार त चुनावी नतिजाले देखाउने नै छ तर त्यसअघि सबैजसो उम्मेदवारहरुले आआफ्ना चुनावी एजेण्डाहरु जनतासामू राखिरहेका छन् ।

बदलिएको कांग्रेसको नेतृत्व गर्दै जेनजी पुस्ताका माग र सुशासन कायम गर्न आफ्नो उम्मेदवारी दर्ता भएको कांग्रेस नेता मधु आचार्य बताउनु हुन्छ । इञ्जिनियरसमेत रहनु भएका उहाँ अब कांग्रेस पुराना कमजोरी सुधार गर्दै नयाँ ढंगले गगन थापाको नेतृत्वमा अघि बढीसकेको र जनताले आफूलाई विश्वास गर्ने दाबी गर्नुहुन्छ ।

यस्तै एमालेका जिल्ला अध्यक्षसमेत भइ २ कार्यकाल धुलिखेल नगरपालिकाको मेयर भइसक्नु भएका एमाले उम्मेदवार अशोक व्याञ्जु पनि एमालेले आफ्नो बिरासत जोगाएर काभ्रेको विकासमा थप बल पुग्ने दाबीसहित आफ्नो जीत पक्का रहेको बताउनु हुन्छ । उहाँले पनि चुनाव कोही जित्ने र हार्नेमा मात्र सिमित नरही आजको आवश्यकता अनुसारको राजनीतिक प्रणाली सुधार गर्ने लक्ष्यका साथ आफू चुनावमा आएको बताउनु भयो ।

उता एमालेकै राजनीतिक पृष्ठभूमी रहेर नेकपा समाजवादी हुँदै अहिले नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट उम्मेदवार वसुन्धरा हुमागाईं आफू प्रदेशको कृषि मन्त्री हुँदा शुरु भएका कामहरुलाई निरन्तरता र पूर्णता दिनका लागि आफूले उम्मेदवारी दिएको बताउनुहुन्छ । विकासप्रेमी काभ्रेली जनताले यो पटक आफूलाई खोजीरहेको दाबी गर्दै उहाँले युवापुस्ताले सुशासन चाहेको र आफूले जितेमा त्यो सम्भव रहेको बताउनु भयो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बदनकुमार भण्डारी जेनजी आन्दोलनले खोजेको युवा पुस्तान्तरण, भ्रष्टाचार अन्त्य तथा जनहीतमा आवश्यक नीतिहरु निर्माणका लागि आफूले उम्मेदवारी दिएको बताउनुहुन्छ । उहाँले पुराना दलहरुका कामहरु पटक पटक देखिसकिएकाले अब नयाँ आएकाहरुलाई अवसर प्रदान गर्न जनता उत्सुक रहेको आफूले पाएको दाबी गर्नुभयो । देश परिवर्तनका लागि पनि आफ्नो जीत आवश्यक रहेको उहाँको भनाइ थियो ।

नागरिकका अपेक्षा सुशासन, इमानदार नेतृत्व, रोजगारी, गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवामा केन्द्रित रहेको र जनताले विकास र स्थायित्व चाहेको राप्रपाका उम्मेदवार रन्जिब श्रेष्ठ बताउनुहुन्छ । भ्रष्टाचार, बेरोजगारी र मूल्यवृद्धि अझै समाधान हुन नसकेको भन्दै उहाँले नागरिकको मनस्थिती आशा र निराशाको बीचमा रहेको र यो चुनावले वास्तविक परिवर्तन ल्याउन सकियोस् भन्ने चाहनाका साथ आफूले उम्मेदवारी दिएको बताउनुहुन्छ । उहाँले प्रदेश संरचना खारेज र हिन्दु धर्मसहितको राजतन्त्रको स्थापना गर्ने एजेण्डासहित आफू अघि बढेको बताउँदै आत्मनिर्भरतामुखी अर्थतन्त्र निर्माण गर्ने आफ्नो लक्ष्य रहेको बताउनुभयो ।

यसैगरि उज्यालो नेपाल पार्टीकी उम्मेदवार ज्योत्सना सैंजु नयाँ तरिकाले नेपालको निर्माण गर्ने र सामाजिक न्याय, सुशासन र समृद्धिका लागि आफू राजनीतिमा आएको बताउनुहुन्छ । बेथितीको अन्त्यका लागि र पुराना नीति हटाएर नयाँ नीति निर्माणका लागि पनि यो पटक जनताले उज्यालो नेपाल पार्टीलाई जिताउनुहुन्छ भन्नेमा आफू विश्वस्त रहेको उहाँको दाबी छ ।

यता पर्यटन व्यवसायीसमेत रहेका नेपाल कम्युनिष्ट पार्टी संयुक्तका उम्मेदवार राजन थापा यसअघिका नेतृत्वहरुले गरेका गल्तीका कारण राजनीति नै खराब बनाएकाले त्यसलाई सुधार गर्न र समाजको आवश्यकता भ्रष्टाचार नियन्त्रण रहेकाले त्यसको अन्त्यका लागि आफू चुनावी मैदानमा आएको बताउनु हुन्छ ।

यसरी सबैजसो उम्मेदवारहरुले आआफ्नै तर्क अघि सारे पनि यो पटक काभ्रे क्षेत्र नम्बर २ का मतदाताले कसलाई रोज्छन् त्यो भने हेर्न बाँकी छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *