ज्ञानमणि नेपाल कालोटोपी
पनौती । राष्ट्रिय कृषि कम्पनी लिमिटेडद्वारा काभ्रेको पनौतीमा आर.के.सि. एन.एल फूड बैंकको सञ्चालनमा आएको छ । वैशाख ५ गते यसको उद्घाटन भएको हो । स्थानीय उत्पादनलाई प्राथमिकता दिएर प्रविधिमा आधारित सेवा प्रदान गर्ने उद्देश्यले फूड बैंकको सञ्चालन गर्न लागिएको संस्थाका अध्यक्ष विशाल हुमागाईंले जानकारी दिनुभयो । नेपाली किसानले उत्पादनमा भोग्नु परेका समस्या समाधान गर्न र उत्पादनको बजारलाई सहजीकरण गर्ने फूड बैंकको उद्देश्य रहेको उहाँले बताउनुभयो ।

मुख्य कार्यालय कौशलटारमा रहेको संस्थाको पनौती नगरपालिका वडा नं ४ मा सहजीकरण कार्यालय रहने र संस्थाले किसानले उत्पादनको मूल्य नपाउने, बिचौलियाको प्रभाव रहने तथा उपभोक्ताले महँगोमा खरिद गर्नु पर्ने अहिलेको अवस्थामा यो समस्यालाई कसरी स्थायी समाधान गर्ने भन्ने विषयलाई स्थानीय तहको समन्वयमा काम गर्ने लक्ष्य राखेको छ ।

सरकारले ल्याएको नीतिलाई कार्यान्वयन गर्न नसक्दा कृषिमा धेरै समस्या आएको उल्लेख गर्दै अध्यक्ष हुमागाईले उत्पादनलाई मागसँग जोड्ने नीति लिएको बताउनुभयो । किसानको मिहेनत अनुसार उत्पादित वस्तुले किन बजार पाएन भन्ने विषय बुझ्न नसक्दा कृषिमा ठूलो समस्या आएको हो । कृषि साक्षरता, उपभोक्तामा सतर्कता र स्थानीय तहको भूमिकाले पनि कृषिमा भएका समस्या समाधान गर्न सकिने संस्थाले जनाएको छ ।

किसानहरुले उचित मूल्य पाउन, उत्पादित वस्तुमा विषादी न्युनिकरण गर्न, किसानमा नेतृत्व विकास, कृषिमा आधारित प्रविधिको प्रयोग गरी कृषि क्षेत्रमा नयाँ आयाम थप्ने संस्थाको उद्देश्य रहेको छ । ०८७ सालसम्ममा ६० लाख किसानसँग जोडिँदै उनीहरूलाई निर्वाहमुखी मात्र नभइ व्यवसायिक बनाउने अभियानमा संस्था अघि बढ्ने उहाँले बताउनुभयो । हाल ४ हजार किसान संस्थामा आवद्ध छन् ।

भोलिका दिनमा बहुसंख्यक किसानसँग आफ्ना कार्यक्रम पुर्याउने र नेपालको कृषिमा रुपान्तरण गर्ने अध्यक्ष हुमागाईले बताउनुभयो । काभ्रेका सबै किसानलाई समेटेर अघि बढ्ने लक्ष्य राखेको संस्थाले शुरुवातमा पनौती, बेथानचोक र धुलिखेलमा कार्यक्रम शुरु गर्ने तथा सहकारी र किसान समुहमा कार्यक्रम अघि बढाउने संस्थाले जनाएको छ । कार्यक्रममा पत्रकार महासंघ काभ्रेका अध्यक्ष विनोदकुमार न्यौपानेले संस्थाको उद्देश्य एकदमै राम्रो भएको उल्लेख गर्दै निजी क्षेत्रको लगानीले कार्यक्रम सञ्चालन भएकोमा सफलताको कामना व्यक्त गर्नुभयो ।

कार्यक्रममा धुलिखेल नगरपालिकाका कार्यवाहक नगरप्रमुख निराजन जंगमले कृषिमा प्रविधिको प्रयोग आवश्यक रहेको बताउनुभयो । संस्थाले लिएको उद्देश्य र लक्ष्य हासिल गर्नका लागि सफलताको शुभकामना दिँदै उहाँले स्थानीय उत्पादनलाई प्राथमिकता दिने नीति लिएर संस्था अघि बढ्न सुझाव दिनुभयो । उहाँले कृषिमा सम्भावना धेरै रहेको तर सो अनुसार काम हुन नसक्दा समस्या आएको बताउनुभयो । कृषक आफैँले पनि उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्य राख्न जरुरी रहेको उल्लेख गर्दै स्थानीय तहको तर्फबाट सहयोग गर्न तयार रहेको बताउनुभयो ।

प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख दीपक गौतमले संस्थाले नमुना कार्यक्रम सञ्चालन गर्न लागेकोमा खुशी व्यक्त गर्दै उदाहरणीय काम गर्न शुभकामना दिनुभयो । कृषि क्षेत्रमा परिवर्तन गर्न अग्रसर रहेको संस्थाको कामलाई सम्मान गर्दै उहाँले उत्पादन भएका वस्तुको बजारीकरणका लागि अब सहज हुने विश्वास व्यक्त गर्नुभयो । काभ्रेका केही पालिकामा उत्पादन भएका कृषि उपज बजार नपाउँदा खेर गइरहेको अवस्थामा संस्थाले यसलाई बजारिकरणमा भूमिका खेल्न अनुरोध गर्नुभयो । चुनौती धेरै भएकाले विस्तारै काम गर्ने गरि अघि बढ्ने संस्थाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *