बनेपा । काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा अवस्थित ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानले वैशाख २६ गते “छैठौं ज्ञानकुञ्ज रोड रेस–२०८३” आयोजना गर्ने भएको छ । प्रतियोगिताबारे जानकारी दिन प्रतिष्ठानले मंगलबार होटल उग्रचण्डीमा पत्रकार सम्मेलनकाे आयोजना गरेको थियो ।

कार्यक्रममा विद्यालयका प्रबन्ध निर्देशक प्रताप वैद्यले रोड रेसको उद्देश्य विद्यार्थीमा शारीरिक तन्दुरुस्ती, अनुशासन, प्रतिस्पर्धात्मक भावना र स्वस्थ जीवनशैलीको प्रवर्द्धन गर्नु रहेको जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगिता विद्यालयले ०७६ सालदेखि हरेक वर्ष निरन्तरता दिँदै आएको कार्यक्रम हो, जसले विद्यार्थी मात्र नभई अभिभावक र स्थानीय समुदायमा समेत खेलकुदप्रति सकारात्मक सन्देश प्रवाह गर्दै आएको छ ।

रोड रेसमा विभिन्न उमेर समूहका विद्यार्थीहरूको सहभागिता रहनेछ । निर्धारित रुट र सुरक्षा व्यवस्थापनका लागि आवश्यक तयारी भइरहेको र स्थानीय प्रशासन तथा सरोकारवालासँग समन्वय गरिएको विद्यालयले जनाएको छ । कार्यक्रमलाई व्यवस्थित, सुरक्षित र उत्साहपूर्ण बनाउन स्वयंसेवक परिचालन, प्राथमिक उपचारको व्यवस्था तथा ट्राफिक व्यवस्थापनमा विशेष ध्यान दिइने कार्यक्रममा जानकारी दिइएकाे थियाे ।

विद्यालयले यो प्रतियोगितामार्फत विद्यार्थीमा शारीरिक सक्रियतासँगै आत्मविश्वास र सहकार्यको भावना विकास गर्ने अपेक्षा राखेको छ। साथै, अभिभावक र स्थानीयवासीलाई पनि कार्यक्रम अवलोकन र समर्थनका लागि उपस्थित हुन आग्रह गरिएको छ।
“छैठौं ज्ञानकुञ्ज रोड रेस–२०८३” बनेपामा खेलकुद गतिविधिलाई थप चलायमान बनाउने र स्वस्थ समाज निर्माणतर्फ सकारात्मक योगदान पुर्‍याउने विश्वास आयोजकले लिएकाे छ ।

एसईई परीक्षा २०८२ मा सहभागी विद्यार्थीले मात्र प्रतियाेगितामा भाग लिन पाउनेछन् । यस्तै सहभागीले १०० रुपैयाँ प्रवेश शुल्क बुझाउनु पर्नेछ भने छात्र र छात्रा गरि दुई विधामा प्रतियाेगिता हुनेछ । छात्रा दाैड ३.६ किलाेमिटर र छात्र दाैड भने ७ किलाेमिटरकाे हुने आयाेजकले जनाएकाे छ । दुवै विधामा प्रतिश्पर्धीमध्ये पहिलाे हुनेले ३० हजार, दाेस्राे हुनेले २० हजार र तेस्राे हुनेले १० हजार पुरस्कार पाउनेछन् । वैशाख २४ गतेभित्र नाम दर्ता गराउनु पर्नेछ भने सहभागीले एसईईकाे प्रवेशपत्र वा विद्यालयका प्रधानाध्यापककाे प्रमाणित प्रतिलिपी तथा रंगिन फाेटाे पेश गर्नु पर्नेछ । छात्रहरुकाे दाैड पनाैतीदेखि विद्यालयसम्म र छात्रा दाैड तीनदाेबाटाे,चारदाेबाटाे, चण्डेश्वरी हुँदै विद्यालयसम्म रहने विद्यालयका प्रबन्ध निर्देशक वैद्यले जानकारी दिनुभयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *