तेमाल । काभ्रेको तेमाल गाउँपालिकालाई यस आर्थिक वर्षका लागि पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ । बुधबार पालिका अध्यक्ष एवं पालिकास्तरीय खोप समितिका संयोजक चन्द्रबहादुर तामाङको अध्यक्षता तथा जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका उपप्रमुख एवं जिल्ला खोप समन्वय समितिका उपसंयोजक रिमबहादुर तामाङको प्रमुख आतिथ्यतामा एक कार्यक्रमको आयोजना गरी गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको हो ।
यो पालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्ने पालिकामध्ये जिल्लामै पाँचौँ नम्बरमा पर्न सफल भएको छ । यसवर्ष नमोबुद्ध नगरपालिका पहिलो भयो भने मण्डनदेउपुर नगरपालिका दोस्रो, भुम्लु गाउँपालिका तेस्रो र पाँचखाल नगरपालिका चौथो पालिका भएका छन् ।
यस कार्यमा सक्रिय भएर खट्नु हुने सबैलाई धन्यवाद दिँदै प्रमुख अतिथी तामाङले पूर्णखोप सुनिश्चित गर्ने कार्य अन्त्य नभइ शुरुवात भएको बताउनुभयो । उहाँले आफ्ना विगत सम्झँदै पहिले र अहिले निकै फरक भएको र पछिल्ला केही वर्ष यता खानपान, रहनसहनलगायतले मानिसहरुमा रोगको जोखिम बढेको बताउनुभयो । उहाँले ती रोगहरुलाई न्यूनिकरणका लागि बालबालिकालाई पूर्ण खोप लगाउन जरुरी रहेकोमा जोड दिँदै विगत केही वर्ष यता नागरिकले आफ्नो र बालबालिकाको स्वास्थ्यमा धेरै ध्यान दिइरहेको उल्लेख गर्नुभयो । खोप लगाउने कार्यलाई सामान्य नठान्न आग्रह गर्दै उहाँले यसलाई निरन्तरता दिने गरि काम गर्न सम्बन्धित पक्ष र स्वास्थ्यकर्मीहरुलाई अनुरोध गर्नुभयो ।
कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय काभ्रेका खोप अधिकृत पार्थमणि न्यौपानेले तेमाल गाउँपालिका जिल्लाका पालिका मध्ये पाँचौँ पूर्णखोप पालिका भएको बताउँदै सबै सूचकहरु पूरा गरेर केही हप्ताभित्रै जिल्लाका सबै १३ वटै पालिकालाई यस अभियानमा अटाइने बताउनुभयो । उहाँले खोपको गुणस्तर बचाउनका लागि वातानुकुलित खोप केन्द्र बनाउनु पर्ने र यसमा पालिकाले विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।
न्यौपानेले नेपालमा हाल भइरहेका खोप अभियानहरु एकपछि अर्को सफल भइरहेको उल्लेख गर्दै राज्यले एकपटक एक जना बालबालिकालाई खोप लगाउँदा ७ हजार खर्च हुने र २३ महिनासम्म खोप लगाउँदा राज्यले प्रतिबालबालिका ५० हजार बढी लगानी गरिरहेको जानकारी दिनुभयो ।
कार्यक्रममा पालिका उपाध्यक्ष दलमान थोकरले पालिकाले स्वास्थ्य क्षेत्रमा गरेको लगानीले पूर्णता पाएको बताउँदै यसलाई आगामी दिनमा पनि निरन्तरता दिइने उल्लेख गर्नुभयो ।
गाउँपालिकाका अध्यक्ष चन्द्रबहादुर तामाङले आफ्नो पालिकाको पहिलो प्राथमिकता स्वास्थ्य क्षेत्र रहेको र नागरिकको स्वास्थ्यप्रति आफूहरु सधैं सजग रहेको धारणा व्यक्त गर्नुभयो । उहाँले समयमा खोप नपाउँदा बालबालिकाहरु धेरै रोगका शिकार भइरहेको अवस्थामा आज तेमालमा पूर्णखोप सुनिश्चित अभियान सफल भएका कारण अब पालिकामा रोगका शिकार हुने बालबालिका कम हुने आशा व्यक्त गर्नुभयो । उहाँले विशेषगरि पछिल्ला दिनहरुमा पालिकामा दीर्घ र गम्भीर रोगका बिरामीहरु पनि बढेका र यसलाई न्यून गराउन किसानहरुले विशेष ध्यान दिएर विषादी प्रयोगमा सावधानी अपनाउनु पर्ने र यसो गर्न सके मात्र रोगहरुमा कमी ल्याउन सकिने बताउनुभयो । उहाँले आगामी वर्ष पहिलो पूर्णखोप सुनिश्चित पालिका बनाउने गरि आजैदेखि काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै यस अभियानमा साथ र सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गर्नुभयो ।
हाल पालिकामा १६ देखि २३ महिना मुनीका ८३ जना पूर्णखोप प्राप्त बालबालिका रहेका गाउँपालिका स्वास्थ्य शाखा प्रमुख शिवहरि पाठकले जानकारी दिनुभयो । उहाँका अनुसार वडानम्बर १ मा १०, वडानम्बर २ मा १३, वडानम्बर ३ मा ७ जना, वडानम्बर ४ मा ९, वडानम्बर ५ मा ९, वडानम्बर ६ मा ७ जना बालबालिकाले खोप लगाएका छन् ।
यस्तै वडानम्बर ७ मा पूर्णखोप लगाउनेको संख्या ९, वडानम्बर ८ मा १५ र वडानम्बर ९ मा ४ जना गरि जम्मा ८३ जना रहेको उहाँले जानकारी दिनुभयो । यस्तै पालिकामा १५ महिना मुनीका १५१ जना बालबालिकाले हाल खोप लगाइरहेका पनि उहाँले दिनुभएको तथ्यांकमा उल्लेख छ ।
कार्यक्रममा प्रमुख अतिथि, विशेष अतिथि, पालिका प्रमुख, पालिकाका विभिन्न वडाका वडाध्यक्षहरु, विभिन्न विद्यालयका शिक्षकहरु, कार्यपालिका सदस्यहरु, स्वास्थ्य स्वयंसेविकाहरुलगायत जनप्रतिनिधिहरुले हरेक बालबालिकाको खोप पाउने अधिकारलाई सुनिश्चित हुने गरि काम गर्ने प्रतिबद्धता जनाउँदै प्रतिबद्धतापत्रमा हस्ताक्षर पनि गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *