पनौती । बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्था पनौती सेवा कार्यालयको आयोजनामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा ३७ जना रक्तदाताहरूले उत्साहजनक सहभागिता जनाउँदै रक्तदान गरे । कार्यक्रम नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखाको प्राविधिक सहयोगमा सञ्चालन गरिएको थियो ।
मानव जीवन बचाउन रक्तदान महत्वपूर्ण माध्यम भएको उल्लेख गर्दै आयोजक संस्थाले समुदायमा मानवीय सेवा र सामाजिक उत्तरदायित्वको भावना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जनाएको छ । कार्यक्रममा समाजसेवी, सहकारीकर्मी तथा स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो । रक्तदान कार्यक्रममा सहभागी दाताहरूले “रक्तदान जीवनदान” भन्ने सन्देशलाई आत्मसात गर्दै स्वेच्छिकरूपमा रक्तदान गरेका थिए ।
सेवा कार्यालयका संयोजक रमेश जंगमले रक्त अभावका कारण कसैले पनि उपचारबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले यस्ता कार्यक्रम नियमितरूपमा सञ्चालन गरिने बताउनुभयो । रक्तदान गर्ने सम्पूर्ण दाताहरूलाई आयोजक संस्थाको तर्फबाट प्रमाणपत्रसमेत प्रदान गरिएको थियो । कार्यक्रममा वक्ताहरूले एक थोपा रगतले कसैको अमूल्य जीवन बचाउन सक्ने भएकाले स्वस्थ व्यक्तिले नियमित रक्तदान गर्नुपर्नेमा जोड दिएका थिए ।
आयोजक संस्थाले कार्यक्रम सफल बनाउन सहयोग गर्ने नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखा, स्वयंसेवक, सहभागी तथा सम्पूर्ण सहयोगीहरूप्रति आभार व्यक्त गरेको छ । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखाका उपमन्त्री प्रदिप के. सी. बञ्जारा र नि. सभापति रघुनाथ हुमागाईले प्रमाणपत्र बितरण गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *