बनेपा । बनेपा नगरपालिका–७ स्थित तीनदोबाटो क्षेत्रमा विद्यार्थी समूहबीच भएको झडप (ग्याङ फाइट) सम्बन्धी भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले घटनाको अनुसन्धान गरी संलग्न विद्यार्थीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयद्वारा जारी प्रेस विज्ञप्तिअनुसार जेठ १३ गते साँझ करिब ५ बजे तीनदोबाटो क्षेत्रमा विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीहरूबीच झडप भएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो । उक्त घटनालाई गम्भीर रूपमा लिँदै प्रहरीले तत्काल आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ ।
प्रहरीले झडपमा संलग्न बनेपा नगरपालिकाका विभिन्न विद्यालयमा अध्ययनरत ८ जना विद्यार्थीलाई विभिन्न स्थानबाट नियन्त्रणमा लिएर सोधपुछ तथा सम्झाइबुझाइ गरेको जनाएको छ । भविष्यमा यस्ता झडप, असामाजिक तथा उच्छृङ्खल गतिविधिमा संलग्न नहुने प्रतिबद्धता गराइएपछि उनीहरूलाई अभिभावक तथा विद्यालय प्रतिनिधिको उपस्थितिमा जिम्मा लगाइएको विज्ञप्तिमा उल्लेख छ ।
प्रहरीका अनुसार नियन्त्रणमा लिइएका विद्यार्थीमध्ये कक्षा ९ मा अध्ययनरत २ जना, कक्षा १० मा अध्ययनरत ५ जना र कक्षा ११ मा अध्ययनरत १ जना रहेका छन् । उमेरका आधारमा १५ वर्षका ४ जना, १६ वर्षका ३ जना र १७ वर्षका १ जना विद्यार्थी रहेको जनाइएको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले अभिभावक, विद्यालय प्रशासन तथा समुदायलाई बालबालिका तथा किशोर–किशोरीहरूको व्यवहार, संगत र गतिविधिप्रति थप जिम्मेवार र सचेत हुन अनुरोध गरेको छ । प्रहरीले यस्ता गतिविधि दोहोरिन नदिन सबै पक्षको सहकार्य आवश्यक रहेको जनाएको छ ।
