बनेपा । बनेपा नगरपालिकाको सहजीकरण तथा नगरभित्र क्रियाशील विभिन्न सहकारी संस्थाहरूको आयोजनामा सहकारी क्षेत्रका समसामयिक समस्या, विशेषगरी खराब ऋण असुली तथा डिजिटल प्रणालीको प्रभावकारी कार्यान्वयन सम्बन्धी दुईदिने अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ ।
बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्थाको सभाहलमा सम्पन्न चौथो लटको उक्त कार्यक्रममा सहकारी संस्थाहरूमा बढ्दो खराब ऋण व्यवस्थापन र असुली प्रक्रियालाई प्रभावकारी बनाउने विषयमा विस्तृत छलफल गरिएको थियो । कार्यक्रममा खराब ऋण असुलीका लागि तल्लो तहदेखि विभिन्न कानुनी चरण पार गर्दै कर्जा असुली न्यायाधिकरणसम्म पुग्ने सम्पूर्ण प्रक्रियाबारे जानकारी प्रदान गरिएको थियो ।
कार्यक्रममा आधुनिक सूचना प्रविधिको प्रयोगलाई प्राथमिकतामा राख्दै ‘सेक्योस अनलाइन प्रणाली’ लगायतका डिजिटल माध्यममार्फत आवश्यक प्रक्रिया अगाडि बढाउने विषयमा समेत सहभागीहरूलाई प्रशिक्षण तथा जानकारी गराइएको थियो । यसले सहकारी संस्थाहरूको कार्यसम्पादनलाई थप प्रभावकारी, पारदर्शी र प्रविधिमैत्री बनाउने अपेक्षा गरिएको छ । छलफलका क्रममा सहकारी क्षेत्रप्रति आम बचतकर्ताको विश्वास अभिवृद्धि गर्नुपर्ने आवश्यकता औँल्याइएको थियो । बचतकर्ता र सहकारी संस्थाबीचको आपसी विश्वास, पारदर्शिता र उत्तरदायित्वलाई थप सुदृढ बनाउँदै लैजानुपर्नेमा सहभागीहरूले जोड दिएका थिए ।
कार्यक्रममा बनेपा नगरपालिकाका प्रतिनिधिहरूले आर्थिक वर्ष २०८२÷०८३ देखि सहकारी संस्थासम्बन्धी अधिकांश प्रशासनिक तथा प्राविधिक कार्यहरू डिजिटल माध्यमबाट सञ्चालन हुने जानकारी गराएका थिए । पुनर्लेखन वा संशोधित विनियम प्रमाणीकरणजस्ता विशेष कार्यबाहेक अन्य अधिकांश कामका लागि सहकारी संस्थाहरू नगरपालिकामा प्रत्यक्ष उपस्थित भइरहन नपर्ने व्यवस्था गरिएको जनाइएको छ । नगरपालिकाको यो पहलले सहकारी संस्थाहरूको सेवा प्रवाहलाई सहज, छरितो र प्रविधिमैत्री बनाउनुका साथै समय र लागतको बचत गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ । कार्यक्रममा सहभागी सहकारी संस्थाका प्रतिनिधिहरूले यस्ता अन्तरक्रिया तथा क्षमता अभिवृद्धि कार्यक्रमले सहकारी क्षेत्रका चुनौती समाधान गर्न र संस्थागत सुशासन प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए ।
कार्यक्रमको समापनसँगै सहकारी क्षेत्रलाई अझ व्यवस्थित, उत्तरदायी र विश्वसनीय बनाउने दिशामा सबै सरोकारवालाहरूबीच सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *