काभ्रेपलाञ्चोक । जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको नवौं जिल्ला सभा तथा आर्थिक वर्ष २०८२/०८३ को प्रगति समीक्षा कार्यक्रम बिहीबार सम्पन्न भएको छ । कार्यक्रममा प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्याल प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो ।

कार्यक्रम जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दीपककुमार गौतमको अध्यक्षतामा सम्पन्न भएको हो । विशेष अतिथिका रूपमा काभ्रेका प्रतिनिधिसभा सदस्यहरू मधु चौँलागाईं, बदन भण्डारी र राम लामा सहभागी हुनुभएको थियो ।

सभामा जिल्ला समन्वय समितिका प्रमुख गौतमले वार्षिक प्रगति विवरण तथा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो भने स्वागत मन्तव्य उपप्रमुख रिमबहादुर तामाङले राख्नुभएको थियो ।

कार्यक्रममा जिल्लाका प्रदेशसभा सदस्यहरू, प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाका जिल्लास्थित प्रमुखहरू, १३ वटै स्थानीय तहका प्रमुख तथा उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र विभिन्न वडाका वडाध्यक्षहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख अर्यालले स्थानीय तहहरू नागरिकका घरदैलोका सरकार भएकाले पारदर्शी, जवाफदेही र जिम्मेवार भएर काम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले विगतका सरकारले नागरिकलाई सरकार भएको अनुभूति गराउन नसकेको टिप्पणी गर्दै न्यायपालिका, व्यवस्थापिका र कार्यपालिकाले समन्वयात्मकरूपमा काम गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । साथै कर्मचारीतन्त्रले पनि सोही भावना अनुसार प्रभावकारी सेवा प्रवाह गर्नुपर्ने बताउनुभयो ।

सम्बोधनका क्रममा सभामुख अर्यालले आफ्नो पार्टीका गतिविधिबारे समेत चर्चा गर्दै पार्टी सभापति रवि लामिछानेको जन्म जिल्ला काभ्रे भएकाले आफूहरूको जिल्लासँग विशेष सम्बन्ध रहेको उल्लेख गर्नुभयो ।

यस अवसरमा जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकले विपद् व्यवस्थापनमा योगदान पु¥याएको भन्दै जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू तथा विभिन्न स्थानीय तहलाई सम्मानसमेत गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *