पाँचखाल । स्थानीय परिकारको प्रवद्र्धन, महिला उद्यमशीलताको विकास तथा आन्तरिक पर्यटनलाई टेवा पु¥याउने उद्देश्यले पाँचखाल नगरपालिकामा फुड फेस्टिबल आयोजना हुने भएको छ ।

श्री देवीथान महिला समूह, पाँचखाल नगरपालिका–४, काभ्रेपलाञ्चोकको आयोजनामा सञ्चालन हुने उक्त फुड फेस्टिबल प्रत्येक शुक्रबार र शनिबार बोहोरेदोभान चोक, तामाघाटमा आयोजना गरिने आयोजकले जनाएको छ ।

फेस्टिबलमा स्थानीयस्तरमा उत्पादन तथा परिकार गरिएका विभिन्न खानाका परिकारहरू प्रदर्शनी तथा बिक्रीका लागि राखिनेछन् । कार्यक्रममा परम्परागत तथा लोकप्रिय नेपाली खानाका परिकार, खाजा तथा स्थानीय स्वाद झल्काउने विशेष खाद्य सामग्रीको स्टल रहनेछ । यसले स्थानीय उत्पादनको बजारीकरणसँगै महिला समूहद्वारा सञ्चालित साना उद्यमलाई प्रोत्साहन पुग्ने विश्वास गरिएको छ ।

आयोजक श्री देवीथान महिला समूहका अनुसार फेस्टिबलले स्थानीय कृषिजन्य उत्पादनको उपयोग बढाउनुका साथै समुदायमा स्वरोजगार तथा आयआर्जनका अवसर सिर्जना गर्न सहयोग पु¥याउनेछ ।

फुड फेस्टिबललाई पाँचखाल नगरपालिका वडा नं. ४ को कार्यालयले सहयोग गरेको छ । आयोजकले स्थानीयवासी तथा आन्तरिक पर्यटकहरूलाई कार्यक्रममा सहभागी भई स्थानीय स्वादको अनुभव लिन आग्रह गरेको छ ।

स्थानीय संस्कृति, परम्परा र खानाको पहिचानलाई उजागर गर्ने उद्देश्यसहित आयोजना हुन लागेको यस फेस्टिबलले पाँचखाल क्षेत्रको पर्यटन प्रवद्र्धनमा समेत सकारात्मक योगदान पु¥याउने अपेक्षा गरिएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *