भकुण्डेवेंसी । नमोबुद्ध नगरपालिकाको आयोजनामा आज असार ३ गते बुधबार मेयरसँग बालबालिका संवाद कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा नगरभित्रका विभिन्न विद्यालयमा अध्ययनरत बालबालिकाहरूको उत्साहजनक सहभागिता रहेको थियो ।
सहभागी बालबालिकाहरूले नगरप्रमुख कुन्साङ लामासमक्ष आफ्ना जिज्ञासा, विचार तथा सुझावहरू प्रस्तुत गर्दै खुला संवाद गरेका थिए । संवादका क्रममा बालबालिकाहरूले शिक्षा, स्वास्थ्य, खेलकुद, बालअधिकार तथा स्थानीय विकाससँग सम्बन्धित विविध विषयमा आफ्ना धारणा राखेका थिए ।
नगरप्रमुख लामाले बालबालिकाका प्रश्नहरूको जवाफ दिँदै उनीहरूका सुझावलाई नगरपालिकाको नीति तथा कार्यक्रम निर्माणमा समेट्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
बालबालिकाको सहभागिता र नेतृत्व विकासलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रमले स्थानीय सरकार र बालबालिकाबीचको सम्बन्धलाई थप सुदृढ बनाउन सहयोग पुगेको सहभागीहरूले बताएका छन् ।
