बनेपा । बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय र बनेपा नगरपालिकाको आर्थिक सहयोगमा आमा–बाबुविहीन ११ जना बालबालिकालाई शिक्षा, स्वास्थ्य तथा पालनपोषणमा सहयोग पु¥याउने उद्देश्यले सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ ।

बनेपा नगरपालिकाको आयोजनामा सम्पन्न कार्यक्रममा आमा–बाबुविहीन बालबालिकाहरूलाई आर्थिक सहुलियतस्वरूप सामाजिक सुरक्षा भत्ता प्रदान गरिएको हो । उक्त सहयोगले बालबालिकाको शिक्षा, स्वास्थ्य सेवा तथा दैनिक जीवनयापनमा सहजता पुग्ने विश्वास व्यक्त गरिएको छ ।

कार्यक्रममा नगरपालिकाकी उपप्रमुख विमला सापकोटा दाहाल, अन्य जनप्रतिनिधि, सरोकारवाला निकायका प्रतिनिधि तथा अभिभावकहरूको सहभागिता रहेको थियो । वक्ताहरूले बालबालिकाको संरक्षण, शिक्षा र समुचित विकासका लागि स्थानीय तह र प्रदेश सरकारको सहकार्यलाई अझ प्रभावकारी बनाउँदै लैजानुपर्नेमा जोड दिएका थिए ।

बनेपा नगरपालिकाले यस्ता सामाजिक सुरक्षासम्बन्धी कार्यक्रमलाई निरन्तरता दिँदै जोखिममा रहेका तथा अभिभावकविहीन बालबालिकाको जीवनस्तर सुधारमा विशेष ध्यान दिइरहेको उपप्रमुख सापकोटाले बताउनुभयो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *