रोशी । रोशी गाउँपालिका–९ मंगलटार क्षेत्रमा विक्षिप्त तथा वेवारिसे अवस्थामा रहेका एक पुरुषको प्रहरीले उद्धार गरेको छ ।
इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले मंगलटारस्थित क्षेत्रमा नाम, थर तथा ठेगाना खुल्न नसकेका ती व्यक्तिलाई सोमबार उद्धार गरी आवश्यक संरक्षणको व्यवस्था गरेको हो । उद्धारपश्चात् रोशी गाउँपालिकासँग समन्वय गरी ती व्यक्तिलाई सुरक्षित आश्रयका लागि धुलिखेलस्थित मानव कल्याण समाज (सेवा घर) मा पठाइएको प्रहरीले जनाएको छ ।
प्रहरीले सहाराविहीन तथा वेवारिसे व्यक्तिहरूको संरक्षणमा सक्रिय भूमिका खेल्दै आएको मानव कल्याण समाजप्रति आभार व्यक्त गरेको छ । समाजले विभिन्न कारणले परिवार तथा समुदायबाट टाढिएका, मानसिकरूपमा अस्वस्थ तथा बेवारिसे अवस्थामा रहेका व्यक्तिहरूलाई आश्रय, संरक्षण र हेरचाह प्रदान गर्दै आएको छ ।
स्थानीय तह, प्रहरी प्रशासन र सामाजिक संस्थाबीचको समन्वयले मानवतावादी कार्यलाई थप प्रभावकारी बनाएको भन्दै नागरिकहरूलाई पनि सामाजिक उत्तरदायित्व निर्वाह गर्दै यस्ता व्यक्तिहरूको संरक्षणमा सहयोग गर्न आग्रह गरिएको छ ।
