बेथानचोक । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–१ मा मौरीपालन व्यवसायको विकास तथा कृषकको आयआर्जन वृद्धि गर्ने उद्देश्यले मौरी प्रवद्र्धन कार्यक्रम सञ्चालन गरिएको छ ।
कार्यक्रममा कृषि विकास कार्यालय, काभ्रेको प्राविधिक तथा आर्थिक सहयोग रहेको छ भने श्री लेकाली पशुपालन तथा कृषि फर्ममार्फत योजना कार्यान्वयन गरिएको छ । उक्त योजना २०८२ चैत १५ गतेदेखि २०८३ जेठ १५ गतेसम्म सञ्चालन हुने गरी तय गरिएको थियो ।
कार्यक्रम अन्तर्गत कृषि विकास कार्यालयबाट रु. ७३ हजार ५०० अनुदान उपलब्ध गराइएको छ भने फर्मको तर्फबाट रु. ७१ हजार २५० लागत साझेदारी गरिएको छ। यसरी योजनाको कुल अनुमानित लागत रु. १ लाख ४४ हजार ७५० रहेको छ ।
मौरीपालन व्यवसाय विस्तारका लागि मौरीसहितका १५ वटा घार (गोला) व्यवस्थापन गरिएको छ । यस कार्यक्रमले स्थानीयस्तरमा मह उत्पादन वृद्धि, परागसेचनमार्फत कृषि उत्पादनमा सकारात्मक प्रभाव तथा कृषकलाई थप आम्दानीको अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ ।
