काभ्रे । गत असोज १० देखि १३ गतेसम्म परेको अविरल वर्षाका कारण आएको बाढी तथा पहिरोले काभ्रे जिल्लाका विभिन्न पालिकामा २ हजार ५ सय ७७ घर पूर्णरुपमा क्षति भएका छन् ।
७ सय ५१ वटा घर आंशिक क्षति भएको र ६८ घर परिवार स्थानान्तरणका लागि सिफारिस भएका छन् । सहरी विकास तथा भवन कार्यालय काभ्रेपलान्चोकले जानकारी दिएको जानकारी अनुसार सरकारी भवन १२ वटा पूर्णरुपमा क्षति भएका छन् । यस्तै १ सय ३५ वटा आंशिकरुपमा क्षति भएका छन् । सार्वजनिक भवन ८ वटा पूर्णरुपमा क्षति भए भने १ सय ३४ वटा आंशिक क्षति भएको तथ्यांक छ ।
पालिका अनुसार बेथान्चोक गाउँपालिकामा ६ सय २९, नमोबुद्ध नगरपालिकामा ४ सय ८९ र रोशी गाउँपालिकामा ३ सय ५० र तेमालमा ४ सय ३९ घर पूर्णरुपमा क्षति भएका छन् । यसैगरि चौरीदेउरालीमा १ सय ३४, भुम्लु गाउँपालिकामा १ सय २२, धुलिखेलमा ८०, पाँचखालमा ७६, खानीखोलामा ४५, महाभारतमा २३, बनेपामा ४७, पनौतीमा ५९ र मण्डनदेउपुर नगरपालिकामा ८४ वटा घर पूर्णरुपमा क्षति भएका छन् ।
जिल्लामा ६८ घर परिवार स्थानान्तरण गर्नुपर्ने अवस्थामा छन् । जसमा खानीखोलामा ५, मण्डनदेउपुरमा १३, चौरीदेउरालीमा २३, पाँचखालमा १३, रोशीमा ९ र बेथान्चोकमा ५ घर परिवार स्थानान्तरणका लागि आवेदन परेको छ । जिल्लाका १३ स्थानीय तह मध्ये रोशी, पनौती, बेथानचोक, तेमाल, नमोबद्ध, मण्डनदेउपुर लगायतका स्थानीय तह बढी प्रभावित भएका थिए ।
मानवीय क्षति पनि उच्च रहेको थियो । जसमा मृत्यु ७९ जना र घाइते ७८ जना भएका छन् भने अझै ६ जना बेपत्ता छन् । बाढीपहिरोको तीन महिनापछि बल्ल क्षतिको पूर्ण विवरण आएको हो । अब सबै पालिकाले पुनर्निर्माणलाई प्राथमिकतामा राखेको जनाएका छन् । यसका लागि उनीहरुले बजेट संशोधन पनि गरिरहेका छन् ।
