पाँचखाल । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–४ स्थित अरनिको राजमार्गमा बुधबार बिहान भएको सवारी दुर्घटनामा एक युवतीको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार बुधबार बिहान करिब ९ः३० बजे पाँचखालको भित्री सडकबाट मुख्य राजमार्ग क्रस गर्ने क्रममा प्रदेश ३–०२–०१३ प ९५०१ नम्बरको स्कुटरलाई काठमाडौंबाट बाह्रबिसेतर्फ जाँदै गरेको बा ०८–००१ ज ०१५० नम्बरको विद्युतीय -ईभी) गाडीले ठक्कर दिएको थियो ।
दुर्घटनामा स्कुटर चालक सिन्धुपाल्चोकको जलबीरे गाउँपालिका–१ घर भई हाल पाँचखालस्थित एक माइक्रोफाइनान्स संस्थामा कार्यरत करिब २४ वर्षीया मीनकुमारी श्रेष्ठ गम्भीर घाइते भएकी थिइन् । उनलाई तत्काल उपचारका लागि धुलिखेल अस्पताल लगिएकोमा बिहान १०ः४८ बजे उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेका हुन् ।
दुर्घटनामा ईभीमा सवार सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–७ निवासी ६५ वर्षीय गोपाल भुजेलको घाँटीमा मध्यम चोट लागेको प्रहरीले जनाएको छ। उनलाई स्थानीय मेडिकलमा सामान्य उपचारपछि थप उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ ।
दुर्घटनामा संलग्न दुवै सवारीसाधन इलाका प्रहरी कार्यालय पाँचखालको नियन्त्रणमा रहेका छन्। ईभी चालक सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका–७ निवासी ४३ वर्षीय कर्णबहादुर कार्कीलाई जिल्ला प्रहरी कार्यालय काभ्रेले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
