पनौती । कृषि उत्पादनको प्रमुख क्षेत्रका रूपमा परिचित काभ्रेको पनौती नगरपालिकाले आर्थिक वर्ष २०८२÷८३ अन्तर्गत १२० जना किसानलाई ५० प्रतिशत अनुदानमा ट्याक्टर वितरण गर्ने भएको छ । नगरपालिकाको यो कार्यक्रमले कृषि यान्त्रिकीकरणलाई थप प्रभावकारी बनाउँदै किसानको श्रम र उत्पादन लागत घटाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
नगरपालिकाको कृषि शाखाका अनुसार छनोटमा परेका १२० जना किसानले अनुदानमा ट्याक्टर प्राप्त गर्नेछन् । यस योजना अन्तर्गत किसानले प्रति ट्याक्टर १६ हजार रुपैयाँ व्यहोर्नुपर्नेछ । विगतका वर्षहरूमा पनि नगरपालिकाले विभिन्न कृषि उपकरण तथा सामग्री अनुदानमा वितरण गर्दै आएको र आगामी वर्षहरूमा समेत यस्ता कार्यक्रमलाई निरन्तरता दिइने जनाएको छ ।
पनौती नगरपालिकामा २० हजारभन्दा बढी किसान कृषि पेशामा आबद्ध रहेका छन् । यहाँका अधिकांश किसानले व्यवसायिकरूपमा तरकारी खेती गर्दै आएका छन् । उत्पादनको हिसाबले अग्रणी क्षेत्र भए पनि उत्पादित तरकारी तथा अन्य कृषि उपजले उचित बजार मूल्य नपाउँदा किसानहरू चिन्तित छन् । उत्पादन बढे पनि बजार व्यवस्थापन र मूल्य सुनिश्चितताको अभावले किसानले अपेक्षित आम्दानी लिन नसकेको उनीहरूको गुनासो छ ।
स्थानीय किसानका अनुसार कृषि यन्त्रको प्रयोग बढ्दै जाँदा खेती गर्न सहज हुने, उत्पादन लागत घट्ने र समयको बचत हुने विश्वास गरिएको छ । तर, कृषि उत्पादनसँगै बजार व्यवस्थापन, भण्डारण र उचित मूल्य सुनिश्चित गर्न सम्बन्धित निकायले थप प्रभावकारी योजना ल्याउनुपर्ने आवश्यकता औँल्याइएको छ ।
नगरपालिकाले सञ्चालन गरेको अनुदान कार्यक्रमले कृषि यान्त्रिकीकरणमा महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको भए पनि किसानको दिगो समृद्धिका लागि उत्पादनसँगै बजारीकरण र मूल्य सुनिश्चिततामा पनि उत्तिकै ध्यान दिनुपर्ने देखिन्छ ।
