धुलिखेल । काभ्रेपलाञ्चोकका पाँच वटा स्थानीय तह विपद्को उच्च जोखिममा रहेको जानकारी दिँदै विपद् पूर्वतयारी तथा प्रतिकार्यलाई प्रभावकारी बनाउन सरोकारवाला निकायबीच समन्वय र सहकार्य अपरिहार्य रहेकोमा जोड दिइएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय, काभ्रेपलाञ्चोकको आयोजनामा धुलिखेलमा मंगलबार सम्पन्न “विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनासम्बन्धी सरोकारवालाबीच समन्वयात्मक बैठक” मा जिल्लाका विभिन्न निकायका प्रतिनिधिहरूले विपद्को समयमा अपनाउनुपर्ने सतर्कता, जिम्मेवार निकायको भूमिका तथा उद्धार एवं उपचार व्यवस्थापनका विषयमा छलफल गरेका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दीपक गौतमले विपद्का बेला उद्धार तथा उपचारमा खटिनुपर्ने जिम्मेवार व्यक्तिहरू समयमै घटनास्थलमा नपुग्दा घाइतेहरूको उद्धार र उपचारमा ढिलाइ हुने गरेको उल्लेख गर्दै सबै सम्बन्धित निकाय उच्च सतर्क अवस्थामा रहनुपर्ने बताउनुभयो ।
विशेष अतिथि प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले काभ्रेपलाञ्चोक जिल्ला विपद्को उच्च जोखिममा रहेको उल्लेख गर्दै कुनै पनि जिम्मेवार व्यक्तिले “मलाई थाहा भएन“ भन्ने अवस्था आउन नदिन सूचना प्रवाह र समन्वय प्रणालीलाई प्रभावकारी बनाउनुपर्ने बताउनुभयो । उहाँले अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा आधारभूत स्वास्थ्य सामग्री र सेवामा कुनै कमी हुन नदिन सम्बन्धित निकायलाई निर्देशन दिनुभयो ।
धुलिखेल नगरपालिका स्वास्थ्य शाखा प्रमुख सन्दीप केसीले विपद् जुनसुकै बेला आउन सक्ने भएकाले घटनास्थलमा उपलब्ध स्रोत–साधन र जनशक्तिको अधिकतम परिचालन गर्दै तत्काल व्यवस्थापन गर्नुपर्ने बताउनुभयो। उहाँले स्थानीय तहले आफ्ना विपद् व्यवस्थापन संयन्त्रहरूलाई सदैव सक्रिय राख्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रमकी अध्यक्ष तथा जिल्ला जनस्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोककी प्रमुख रागिश्री कक्षपति श्रेष्ठले विपद् व्यवस्थापन संघीय, प्रदेश वा स्थानीय सरकारको मात्र दायित्व नभई प्रत्येक नागरिकको साझा जिम्मेवारी भएको बताउनुभयो । विशेषगरी रेबिजको जोखिम व्यवस्थापन अहिले ठूलो चुनौतीका रूपमा रहेको उल्लेख गर्दै जनस्वास्थ्य कार्यालयले आफ्नो जिम्मेवारीअनुसारका काम गरिरहेको भए पनि प्रभावकारी नतिजाका लागि सबै क्षेत्रको सहकार्य आवश्यक रहेको उहाँले बताउनुभयो ।
बैठकमा जिल्लाका विभिन्न अस्पतालका प्रतिनिधि, स्वास्थ्यकर्मी, नेपाल रेडक्रस सोसाइटीका प्रतिनिधि, नेपाल पत्रकार महासंघका प्रतिनिधि तथा अन्य सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन जनस्वास्थ्य अधिकृत दिपेन्द्रकाजी श्रेष्ठले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *