बनेपा । बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो ३३औँ वार्षिक साधारण सभा तथा निर्वाचनसम्बन्धी सूचना सार्वजनिक गरेको छ । संस्थाले सार्वजनिक गरेको सूचनाअनुसार वार्षिक साधारण सभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, आर्थिक वर्ष २०८१/८२ को आय–व्यय तथा आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटलगायत विभिन्न प्रस्तावमाथि छलफल तथा निर्णय गरिनेछ ।
साधारण सभामार्फत संस्थाको सञ्चालक समिति तथा लेखा सुपरीवेक्षण समितिको निर्वाचनसमेत गरिने सूचनामा उल्लेख छ । निर्वाचनका लागि उम्मेदवारी दर्ता, उम्मेदवारको अन्तिम नामावली प्रकाशन, दाबी–विरोध तथा मतदानलगायतका कार्यक्रमको समयतालिकासमेत संस्थाले सार्वजनिक गरेको छ ।
साधारण सभा तथा निर्वाचनमा सहभागी हुन योग्य शेयर सदस्यहरूलाई तोकिएको समय र स्थानमा उपस्थित हुन संस्थाले आग्रह गरेको छ । निर्वाचनमा सहभागी हुने सदस्यहरूले संस्थाले तोकेको प्रक्रिया तथा आवश्यक कागजात पूरा गर्नुपर्ने सूचनामा जनाइएको छ ।
बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको कार्यक्षेत्र काभ्रेपलाञ्चोक, भक्तपुर, काठमाडौं र ललितपुर जिल्लामा रहेको छ । संस्थाले विभिन्न सेवा कार्यालयमार्फत आफ्ना शेयर सदस्य तथा बचतकर्तालाई वित्तीय सेवा प्रदान गर्दै आएको छ ।
सदस्य विस्तारित भेला तथा सदस्य शिक्षा कार्यक्रम सम्पन्न
बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, भकुण्डे सेवा कार्यालयको आयोजनामा सदस्य विस्तारित भेला तथा सदस्य शिक्षा कार्यक्रम सम्पन्न भएको छ । मंगलबार, साउन २६ गते रोशी गाउँपालिका–९, थाक्ले मंगलटारमा आयोजित कार्यक्रममा संस्थाका सञ्चालक सदस्य बुद्धिमाया लामाको सभापतित्व रहेको थियो ।
सदस्यहरूका गुनासा, सुझाव तथा अपेक्षा संकलन गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा संस्थाका परिवर्तित नीति तथा नियम, साधारणसभा, संस्थाबाट प्रदान गरिँदै आएका सेवा तथा सुविधा, लघुवित्त कार्यक्रम, सदस्य सम्मान कार्यक्रम र संस्थाको समग्र प्रगति विवरणलगायतका विषयमा जानकारी तथा छलफल गरिएको थियो ।
कार्यक्रममा संस्थाका लघुवित्त महाशाखा प्रमुख राजेन्द्र श्रेष्ठले विभिन्न विषयमा सहजीकरण गर्दै संस्थाको नीति, कार्यक्रम तथा सदस्यलाई उपलब्ध सेवासुविधाबारे जानकारी गराउनुभएको थियो। त्यसैगरी, भकुण्डे सेवा कार्यालयका व्यवस्थापक प्रविण धितालले भकुण्डे क्षेत्रको प्रगति तथा सेवा कार्यालयका गतिविधिबारे जानकारी प्रस्तुत गर्नुभएको थियो ।
सेवा कार्यालय व्यवस्थापन उपसमितिका सचिव लक्ष्मीप्रसाद दाहालले सञ्चालन गर्नुभएको कार्यक्रममा उपसमितिका कोषाध्यक्ष विदुरप्रसाद बर्तौलाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा सहभागी सदस्यहरूले संस्थाका सेवा, सुविधा तथा गतिविधिसँग सम्बन्धित विभिन्न गुनासा, जिज्ञासा र सुझाव राखेका थिए । सदस्यहरूबाट प्राप्त गुनासा तथा सुझावलाई संस्थाका सञ्चालक सदस्य बुद्धिमाया लामाले सम्बोधन गर्नुभएको थियो ।
सदस्यहरूसँग प्रत्यक्ष संवाद गर्दै उनीहरूका सुझाव र गुनासो सुन्ने तथा संस्थाका नीति, कार्यक्रम र सेवाबारे थप जानकारी गराउने उद्देश्यले आयोजित कार्यक्रमले संस्था र सदस्यबीचको सम्बन्ध थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ ।
