बनेपा । सञ्चार क्षेत्रमा पुर्‍याएको योगदानको उच्च मूल्याङ्कन गर्दै शब्दयात्रा प्रकाशनले कालोटोपी डटकमलाई २०८३ सालको ‘शब्दयात्रा हरिगोपाल प्रधान कदरपत्र’ प्रदान गरेको छ । शब्दयात्रा प्रकाशनले कात्तिक १४ गते शनिबार बनेपास्थित आफ्नै सभाकक्षमा आयोजना गरेको ‘शब्द साधना प्रस्तुतिकरण, विद्वत्वृत्ति, शब्दयात्रा सम्मान तथा पुस्तक सार्वजनिकीकरण समारोह’मा कालोटोपी डटकमलाई उक्त कदरपत्र प्रदान गरेको हो । कार्यक्रममा कर्पोरेट खबर डटकमका संस्थापक सम्पादक उज्ज्वलजङ्ग पराक्रम शाह र बिजनेस पोस्ट डटकमका सम्पादक तथा आर्थिक लेखक रिसब गौतम पनि ‘शब्दयात्रा हरिगोपाल प्रधान कदरपत्र’बाट सम्मानित हुनुभएको छ ।

त्यसैगरी, शब्दयात्रा प्रकाशनले डा. इन्दुल केसी, स्वयम्भू शाक्य, सुदीप अधिकारी, निर्मला श्रेष्ठ र नवराज दाहाल ‘उत्साही’लाई विद्वत्वृत्ति समर्पण गरेको छ । लोकमान मास्केले विद्वत्वृत्ति तथा हरिगोपाल प्रधानाङ्गले सम्मान पत्र प्रदान गर्नुभएको कार्यक्रममा साहित्य, भाषा, संस्कृति तथा सञ्चारलगायतका क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तित्वहरूको सम्मान गरिएको थियो ।

कार्यक्रममा विष्णुप्रसाद आचार्य र सहदीप पलाञ्चोकेका कृतिहरू सार्वजनिक गरिएको थियो । यसै अवसरमा हरि मञ्जुश्रीको रचना तथा सङ्गीत रहेको र रश्मि अधिकारी हुमागाईंको स्वरमा सजिएको शब्दयात्रा प्रकाशनको नयाँ गानसमेत सार्वजनिक गरियो । उक्त गान खड्गप्रसाद सापकोटाले सार्वजनिक गर्नुभएको थियो । शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीले सञ्चालन गर्नुभएको कार्यक्रमको अध्यक्षता संस्थाका कार्यबाहक अध्यक्ष कृष्णमणि कुईंकेलले गर्नुभएको थियो ।

साहित्य, भाषा, संस्कृति र समाजका विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने व्यक्ति तथा संस्थाहरूलाई सम्मान एवं पुरस्कृत गर्दै आएको शब्दयात्रा प्रकाशन स्थापना भएको १५ वर्ष पूरा भएको छ । यस अवधिमा संस्थाले सयौँ व्यक्ति तथा संस्थालाई सम्मान र पुरस्कृत गरिसकेको छ । आगामी दिनमा पनि सिर्जना, साहित्य, पत्रकारिता, भाषा, संस्कृति र सामाजिक क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तित्व तथा संस्थाहरूको सम्मान गर्ने कार्यक्रमलाई निरन्तरता दिइने संस्थाका अध्यक्ष हरि मञ्जुश्रीले जानकारी दिनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *