काभ्रे । प्रसिद्ध साहित्यकार स्वर्गिय रमेश विकलका सुपुत्र महेन्द्र चालिसेद्वारा लिखित नियात्रा संग्रह ‘लेकबेँसीका सुगन्ध’ काभ्रेको मण्डनदेउपुरमा विमोचन गरिएको छ ।
गत शनिबार एक कार्यक्रमका बीच सो कृतिको विमोचन गरिएको हो । अर्जुन–राधा फाउण्डेशनको आयोजनामा भएको कार्यक्रमका सभापतित्व सोही फाउण्डेशनका संरक्षक अर्जुन नेपालले गरेका थिए भने प्रमुख आतिथ्यको मुख्य पात्र वरिष्ठ साहित्यकार रोचक घिमिरे रहेका थिए । विशिष्ट पाहुनाको रूपमा साहित्यकारहरू गोपी मैनाली, ठाकुर शर्मा भण्डारी र विजय चालिसे रहेका थिए ।
सुमन नेपालको स्वागत मन्तव्यबाट प्रारम्भ भएको कार्यक्रममा प्रमुख अतिथि लगायतका अतिथिहरूको हातबाट ‘लेकबेँसीका सुगन्ध’ पुस्तक विमोचन गरिएको हो । कार्यक्रममा पुस्तकका समीक्षक ठाकुर शर्मा भण्डारीले पुस्तकभित्र लेखिएका शीर्षक यात्राहरूको समीक्षा गर्दै नपुग र आवश्यक विषयवस्तुबारे टिप्पणीसहितको सुझाव सन्देश प्रस्तुत गरेका थिए ।
कार्यक्रमलाई निरन्तरता दिँदै सो ठाउँमा विमोचन गर्न पुग्नुको औचित्य र सो स्थानको पुख्र्यौली महत्वबारे साहित्यकार विजय चालिसेले स्पष्ट पारेका थिए । समीक्षाकै क्रममा साहित्यकार, समालोचक गोपी मैनालीले विमोचित पुस्तकभित्रका अक्षरांकलाई केलाएर प्रशंसासहितको सुझाव र सल्लाह दिएका थिए । प्रमुख अतिथि रोचक घिमिरेले चालिसे परिवारको साहित्यिक यात्रामा सहभागि हुन अन्तर्मनदेखि नै साहस जुटेको आशय व्यक्त गर्दै यो साहित्यिक यात्रामा चार पुस्ताका सन्तानले अविरल बगिरहने इन्द्रावती नदी झैँ हजुरबुबादेखि पनातिसम्मले साहित्यलाई अंगालेर सम्हालिरहेको देख्दा आफ्नो ८४ वर्षको उमेरमा पनि जागरुकता पैदा भएको बताए ।
विमोचित पुस्तकका लेखक महेन्द्र चालिसेले सहभागि विशिष्ट साहित्यकारदेखि उपस्थितजनप्रति हार्दिकता व्यक्त गर्दै सधैंजसो जुनसुकै साहित्यिक समारोहहरू काठमाडौंमा मात्र केन्द्रीत रहेकोमा यस पुस्तकलाई आफ्नो मावली धरातलीय परिवेशमा विमोचन गर्ने शुभचिन्तक र आफन्तहरूको मनशायले उत्प्रेरित भएर सो स्थलमा पुगेको बताए ।
कार्यक्रमको अध्यक्षता गरिरहेका अर्जुन नेपालले आफ्नो जन्मघर आँगनको परिवेशमा साहित्यिक खुराक बाँड्न काठमाडौंदेखि उत्साहित हुँदै मण्डन जोगिटार र माझीगाउँ आएकोमा सबैमा आभार व्यक्त गरे । समारोहमा विशिष्ट साहित्यकारहरू केके कर्माचार्य, गोविन्द गिरी वेदमणि, दोलखाली साहित्यकार अमरकुमार प्रधान, नेपाल बालसाहित्य समाजका व्यक्तित्व तेजप्रकाश श्रेष्ठ लगायतका स्रष्टा सर्जकहरूको विशेष उपस्थिति रहेको थियो ।
