बनेपा । आदर्श विद्या मन्दिर बनेपाले जनचेतनामुलक सडक नाटकको आयोजना गरेको छ ।

बिहीबार पनौती रोडस्थित खड्पुचोकमा आयोजित कार्यक्रममा सवारी चलाउँदा होशियार नगर्दा हुनसक्ने दुर्घटना र आउनसक्ने समस्याका बारेमा विद्यार्थीहरुले सडक नाटक प्रदर्शन गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथी जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख बशुन्धरा खड्काले आदर्श स्कूलले समय सान्दर्भिक कार्यक्रमको आयोजना गरेको भन्दै यस्ता कार्यक्रमले सवारी चालकहरुलाई सचेत गराउने बताउनुभयो । उहाँले सडकमा सवारी चलाउँदै गर्दा चालकले धेरै होशियारी अपनाउनु पर्नेमा जोड दिनुभयो । सडकमा सुरक्षामा रहेका ट्राफिक प्रहरी चालकको चिट काट्नका लागि मात्रै खटिएका हुन्छन् भन्ने कतिपयको सोच गलत भएको र यस्ता सुरक्षाकर्मीलाई चालकहरुले पनि सहयोग गर्नुपर्ने उहाँको भनाइ थियो । बेलाबेलामा प्रदर्शन गरिने यस्ता सडक नाटकमा यी विषय पनि समावेश गराउन उहाँले विद्यालयलाई अनुरोध गर्नुभयो ।

कार्यक्रममा विद्यालयका प्रिन्सिपल रामप्रसाद तिमल्सिनाले आफ्नो विद्यालयले जनचेतना छर्ने यस्ता कार्यक्रम पहिले पनि आयोजना गर्दै आएको र अहिले यसकै निरन्तरतास्वरुप सडक नाटक प्रदर्शन गरिएको बताउनुभयो । नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष बिनोद न्यौपानेले विद्यालयको प्रयास एकदमै अनुकरणीय रहेको र अरु विद्यालयले पनि यस्ता अतिरिक्त क्रियाकलापमा विद्यार्थीहरुलाई संलग्न गराउन अनुरोध गर्नुभयो ।

ट्राफिक नियमको पालना गरौं, दुर्घटनाबाट बचौं भन्ने नाराका साथ विद्यार्थीहरुले सडक नाटक प्रस्तुत गरेका थिए । कार्यक्रममा सुरक्षाकर्मी, सर्वसाधारण, विद्यार्थी तथा शिक्षक र पत्रकारहरुको उल्लेख्य उपस्थिती रहेको थियो । सडक नाटकसहित विद्यार्थीहरुले विभिन्न चेतनामूलक प्लेकार्डहरु बोकेर ¥यालीको पनि आयोजना गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *