धुलिखेल । विश्व दुध दिवसको अवसरमा पशु सेवा कार्यालय काभ्रे तथा धुलिखेल नगरपालिकाको संयुक्त आयोजनामा जुन १ अर्थात विश्व दूध दिवस मनाएको छ।
धुलिखेल नगरपालिकामा दूधको खपत बढाऔं, अर्थतन्त्रलाई सबल बनाऔं भन्ने नाराका साथ दुग्ध क्षेत्रसँग सम्बन्धित सरोकारवाला निकायहरुसँग अन्तर्क्रिया कार्यक्रम गरिएको थियो । धुलिखेल नगरपालिकाका नगरप्रमुख अशोककुमार ब्यान्जुको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा जिल्ला दुग्ध उत्पादक सहकारी संघ, जिल्लामा रहेका दुग्ध क्षेत्रसँग सम्बन्धित सरोकारवाला निकायहरुको सहभागिता रहेको थियो ।
पशु सेवा कार्यालय प्रमुख डा. सृजा वाग्लेले दूध दिवसको महत्वलाई दर्शाउँदै दुग्ध क्षेत्रसँग सम्बन्धित विविध विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कृषकहरुको प्रतिनिधित्व गर्दै सेतीदेवी दुग्ध उत्पादक सहकारी संस्थाबाट समेत कार्यपत्र प्रस्तुत गरिएको थियो । धुलिखेल नगरपालिका तथा पशु सेवा कार्यालयमा सेवा लिन आउने सेवाग्राहीहरुलाई निःशुल्क दुग्ध, दही खुवाइएको थियो ।
दुधको महत्वलाई विश्वव्यापीरुपमा दर्शाउन विश्वभर जुन १ तारिखलाई विश्व दूध दिवशको रुपमा मनाइँदै आइएको र विश्व खाद्य संगठनले सन् २००१ बाट अन्तर्राष्ट्रिय दूध दिवस मनाउने निर्णय गरेकोमा नेपालले सन् २०११ बाट दूध दिवस मनाउन थालिएको हो । दुधको फाइदा र महत्वका साथै दूधले स्थानीय अर्थतन्त्र र समुदायलाई कसरी फाइदा पुर्याउँछ भन्ने बारे सर्वसाधारणमा जनचेतना अभिबृद्धि गर्ने उद्देश्यले हरेक वर्ष दूध दिवस मनाईंदै आएको छ ।
काभ्रेपलाञ्चोक जिल्लाले समग्र बागमती प्रदेशमा दुध उत्पादनको क्षेत्रमा ठूलो योगदान पुर्याई जिल्लालाई दुध उत्पादनको क्षेत्रमा आत्मनिर्भर जिल्लाको रुपमा चिनाएको छ । जिल्लागत तथ्यांकका आधारमा १ लाख ४७ हजार ८ सय ७४ गाई र १ लाख ३८ हजार ४ सय ९९ भैंसीमार्फत १ लाख ४९ हजार २ सय ८० मेट्रिक टन दूध काभ्रे जिल्लामा उत्पादन हुँदै आएको जिल्ला पशु सेवा कार्यालय काभ्रेका प्रमुख डा. सृजा वाग्लेले कार्यक्रममा जानकारी दिनुभएको थियो ।
सो दिवसको अवसरमा दुध तथा दुग्ध पदार्थको उत्पादन, पौष्टिक महत्व तथा उपभोगलाई प्रवर्द्धन गर्न धुलिखेल नगरपालिका, नगर कार्यपालिकाको कार्यालय र पशु सेवा कार्यालयले आगामी दिनहरुमा कार्यलयमा संचालन हुने कार्यक्रमहरु गोष्ठी, सेमिनार, तालिम, बैठकमा प्रयोग हुने खाजामा दुध तथा दुग्ध पदार्थहरुलाई उच्च प्राथमिकतामा राख्ने निर्णय गरेको छ । सोहि प्रयोजनका लागि सम्बन्धित स्थानीय तहका स्थानीय बजार, पशुपालक कृषक, फर्म, संस्था, कम्पनीबाट उत्पादित दुध तथा दुग्ध पदार्थहरुलाई प्राथमिकता दिने निर्णयसमेत गरेको थियो ।
