गुफाडाँडा कुनैबेला गुमनाम थियो । ०७५ साल पुस १६ र १७ गते यहाँ राष्ट्रिय जलवायु सम्मेलन भयो । त्यसपछि गुफाडाँडा एकाएक चर्चामा आएको हो । अहिले भरपर्दो पर्यटकीय गन्तव्यकारुपमा यसलाई लिने गरिन्छ । काठमाडौंको कुलाहलयुक्त वातावरणबाट केही समयका लागि भएपनि छुटकरा लिँदै घुम्न जाउँ भन्नेहरुका लागि गुफाडाँडा उपयुक्त छ । काठमाडौंबाट करिब ५४ किलोमिटरको दूरीमा रहेको गुफाडाँडा पदयात्राका लागि पनि निकै नै राम्रो गन्तव्य रहेको स्थानीयवासी बताउँछन् ।
मेलम्ची नगरपालिका वडानम्बर ९ मा रहेको गुफाडाँडा आफैंमा मनोरम प्राकृतिकस्थल हो । यहाँ ०७५ साल पुस १६ र १७ गते आयोजना गरिएको जलवायु सम्मेलनलाई तत्कालिन राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नुभएको थियो । यहाँ भएको जलवायु सम्मेलनमा देशका सबै जिल्लाका प्रतिनिधिहरु आएका थिए । सो सम्मेलनले १० बुँदे घोषणापत्र जारी गर्दै आगामी दिनमा जलवायु परिवर्तनबाट हुन सक्ने क्षतिका बारेमा सचेत गराई नयाँ कार्यक्रमसहितको रणनिती तयार गर्ने जनाएको थियो ।
त्यसयता यहाँ धेरै मन्त्री र नेताहरु पुगेका छन् । पछिल्लोपटक बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा पनि यहाँ पुग्नुभएको थियो । लामाले यहाँको पर्यटकीय विकासका लागि प्रदेश सरकारले सक्दो सहयोग गर्ने बताउनुभयो तर उहाँले यसपटक एक रुपैंयाँ पनि बजेट विनियोजन गर्नुभएन । मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले यसबारेमा गुनासो गर्दै संघ र प्रदेशबाट गुफाडाँडा उपेक्षामा परेको बताउनुभयो । यसवर्ष नगरपालिकाले २ करोड बजेट छुट्याएको जानकारी दिँदै उहाँले आगामी दिनमा पालिकाले यसको मुहार फेर्न सक्दो पहल गर्ने बताउनुभयो ।
मेलम्ची वडानम्बर ९ का वडाध्यक्ष किरणदीप खड्काले गुफाडाँडाको महत्व र इतिहास निकै पुरानो भएकाले यसमा सबैको सहयोग आवश्यक रहेको बताउनुभयो । उहाँले यहाँसम्म जाने सडक निर्माण र यहाँ राखिएका ७७ वटै जिल्लाका झण्डालाई व्यवस्थित बनाउन वडाले सोचिरहेको बताउनुभयो । उहाँले प्रकृतिले दिएको हरियाली सुन्दरतासँगै त्यहाँबाट देखिने अनेकन हिमशृङ्खलाले गुफाडाँडा थप मनमोहक रहेको बताउनुभयो । गुफाडाँडामा जलवायु संरक्षण गरौं भन्ने सन्देश दिने स्तम्भ पनि राखिएको उहाँले जानकारी दिनुभयो ।
यहाँ पुग्ने जो कसैलाई वरिपरिको हरियाली, खेतबारीको मनोरम दृश्य, खोलाहरू र हिमाली हावाको स्पर्शले टोलीलाई स्वागत गरिरहेको हुन्छ । गुफाडाँडा, मेलम्ची–९ मा अवस्थित एउटा रमणीय डाँडो हो, जहाँबाट सगरमाथा क्षेत्रका हिमशृंखलाहरू, इन्द्रावती नदीको खोँच र वरिपरिका बस्तीहरू स्पष्ट देखिन्छन् । यो डाँडोको विशेषता भनेको यहाँ अवस्थित एक ऐतिहासिक गुफा हो, जसलाई स्थानीयले “शिवगुफा” भन्ने गर्दछन् । स्थानीयहरूका अनुसार, यो गुफा आध्यात्मिक साधनाका लागि प्रयोग हुने गथ्र्यो भने केहीले यसलाई गोप्य आश्रयस्थलका रूपमा समेत प्रयोग गरिएको पाइन्छ । गुफाडाँडा जस्तो रमणीय ठाउँ अझै पनि राज्यको बेवास्ताको शिकार बनेको त्यहाँ पुग्नेहरु बताउँछन् । गुफाडाँडालाई एक सम्भावनायुक्त आन्तरिक पर्यटकीय गन्तव्यका रूपमा प्रवद्र्धन गर्न सके यसबाट राम्रो फाइदा लिन सकिनेमा दुईमत छैन । यस्तो ठाउँमा राज्यले ध्यान दिनुपर्छ । यहाँबाट देशको पर्यटनमा धेरै फाइदा पनि हुन्छ । तर किन सरकारले उपेक्षा गरेको हो ? यसमा सम्बन्धित निकायको ध्यान जाओस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *