रहरै रहरले भरिएको
नयाँ लुगा लगाउने
माटो खन्न जाने
घर सिंगार्ने
होडबाजी चल्थ्यो गाउँमा ।
पिङ थाप्न लठ्ठा बाट्न
बाबियो बटुल्दै घर घर चाहार्थे
रोटे पिङ बनाउन काठ काट्ने
धान उसिन्ने र
चिउरा कुट्नेको चटारो त्यस्तै
भालेको डाकसँगै
घर घरमा सङ्गीत छर्न थाल्थ्यो ढिकीले
ढिकिच्याउँ ढिकिच्याउँ ढिक ।
मगमग बास्ना छर्थ्यो
हावामा मिसिएर गाउँभरी चिउराले
जताततै रौनक छाउँथ्यो
चङ्गा उडाउने होडबाजी चल्थ्यो
कसले कसको चेट पार्ने भनि अनि
आकाश रङ्गिन्थ्यो
थरी थरी चिल झैं उडेका चङ्गाले ।
गुञ्जिन्थ्यो त्यो घर आँगन
दुर्गा भवानीको चण्डी पाठले
पूजाआजा हुन्थ्यो
हरेक दिन गाउँघरको मठ मन्दिरमा
अहिले पूजाआजाको त कुरै छोडौं
झाडी भएका छन् बाटाहरू
न त सफा छन् मठ मन्दिरहरू
न त बजेका छन् शङ्ख घण्ट ।
न त कोही छन् गाउँघरमा
दुर्गा भवानीको प्रसाद लगाएर
आशिष थाप्दै हिँड्ने
न त आशिष दिने हातहरू नै
बन्द छन् ढोकाहरू
निरासामा आशाको दियो खोज्दै ।
न त त्यो रौनक छ अहिले
न त त्यस्तै मज्जा
न त कसैले चिउरा कुट्छन् ढिकीमा
न त सङ्गीत छर्न पाएको छ ढिकीले
न त कसैले घर नै सिँगार्छन्
पट्पटी फुटेर आफन्तलाई कुरिरहेको छ अहिले ।
सुनसान छ गाउँ
झाडी भएको छ घर आँगन
खोज्दैछ सबैलाई उसले
पुकार्दै छ आऊ न आऊ
यो घर आँगनलाई सजाऊ दशैंमा ।
( शिलाकुमारी खरेल )
बनेपा-६, काभ्रेपलाञ्चोक
