सिन्धुपाल्चोक । इन्द्रावती गाउँपालिकाका विद्यालयहरूमा विद्यार्थीहरूको गुनासो सुन्न र समस्या समाधान गर्न ’गुनासो सुनुवाइ संयन्त्र’ निर्माण तथा लागू गर्न ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठी (रेष्ट) पैरवी समूह सिन्धुपाल्चोकको आयोजना तथा इन्द्रावती गाउँपालिकाको समन्वयमा इन्द्रावती–५ स्थित श्री ऐंसेलुखर्क माध्यमिक विद्यालयमा आयोजित एक विशेष बैठक तथा अन्तर्क्रिया कार्यक्रम आयोजना गरिएको छ ।
कार्यक्रममा ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठी (रेष्ट) पैरवी समूह सिन्धुपाल्चोकका संयोजक यज्ञप्रसाद दंगालको अध्यक्षता, इन्द्रावती गाउँपालिका उपाध्यक्ष सोभना तामाङ्गको प्रमुख आतिथ्यता, इन्द्रावती गाउँपालिकाका शिक्षा शाखा प्रमुख मीनबहादुर धामीको विशेष आतिथ्यता रहेको थियो भने इन्द्रावती गाउँपालिकाका उद्यम विकास सहजकर्ता सपना नेपालीका साथै इन्द्रावती गाउँपालिकाका विभिन्न माध्यमिक विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरुको उपस्थिती रहेको थियो ।
इन्द्रावती गाउँपालिकामा माध्यामिक (९–१२) चलेका विद्यालयहरु १२ वटा रहेका छन् । हालसम्म कुनैपनि विद्यालयले विद्यार्थीका गुनासो सुन्न गुनासो सुनुवाइ समितिको गठन तथा व्यवस्था गरिएको नपाइएको र विद्यालयमा गुनासो पेटिका र गुनासो सुनुवाइ समितिको गठन नहुँदा विद्यार्थीहरु विभिन्न प्रकारका हिंसामा परेको र त्यसको सुनुवाई गर्ने निकायको अभावमा हिंसा झन बृद्धि भइरहेको महसुस गरी विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुलाई समस्या परेको गुनासोहरु आइरहेका छन् । साथै विद्यालय हाताभित्र, विद्यालय आउँदाजाँदा, घरपरिवार र समुदायमा बालबालिकामाथि हुन सक्ने सबै प्रकारका भेदभाव, दुव्र्यवहार, शोषण, लैङ्गिक हिंसा, बेवास्ता वा हेलचेक्रयाइँ, शारीरिक वा मानसिक दण्डसजाय, बुलिङ लगायतको रोकथाम गर्न कार्यक्रमको आयोजना गरिएको हो ।
यस्तै कुनै घटना घटेमा निश्चित प्रक्रिया अपनाई त्यसलाई सम्बोधन गरी विद्यालयमा सबै बालबालिकाको सहभागिता वृद्धि गर्दै गुणस्तरीय शिक्षा सुनिश्चित गर्नका लागि संयन्त्र निर्माण तथा लागू गर्नका लागि विद्यालयमा विद्यार्थीका गुनासो सुन्न गुनासो सुनुवाइ समिति (रेष्ट) को गठन तथा व्यवस्था गर्न पालिकासँग पहल तथा पैरवी गर्ने उद्देश्यले यो कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रम सहजीकरण तथा प्रस्तुतीकरण पैरवी समूह इन्द्रावती कलस्टरका संयोजक जगन्नाथ रिजालले गर्नुभएको थियो । कार्यक्रमको उद्देश्य तथा रेष्ट कार्यक्रमहरुको बारेमा कार्यक्रम संयोजक कुमार भट्टराईले जानकारी दिनुभएको थियो । यस्तै अन्तक्र्रियामा उठान गरिएका सवाल तथा जिज्ञासाहरुको सहजीकरण कार्यक्रम अधिकृत सुरज शर्माले गर्नुभएको थियो ।
कार्यक्रमका प्रमुख आतिथी तथा इन्द्रावती गाउँपालिका उपाध्यक्ष सोभना तामाङ्गले रेष्टको कार्यक्रमले समाजमा गरेको सहयोग महत्वपूर्ण रहेको र यो संयन्त्र कार्यान्वयन गर्न आगामी कार्यपालिका वैठकमा अनुमोदनका लागि पहल गर्ने प्रतिबद्धता जनाउनु भयो । साथै उहाँले यस्ता कार्यहरुमा रेष्टको सहयोग तथा सहकार्य आवश्यक पर्ने भन्दै धन्यवाद व्यक्त गर्नुभयो ।
कार्यक्रममा इन्द्रावती गाउँपालिकाका शिक्षा शाखा प्रमुख मीनबहादुर धामीले यो कार्यक्रम एकदमै महत्वपूर्ण रहेको र गाउँपालिकाले गुनासो सुनुवाइ समितिको गठन तथा व्यवस्थाले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने महसुस भएको र संयन्त्र निर्माण तथा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउनु भयो ।
कार्यक्रममा इन्द्रावती गाउँपालिकाका विभिन्न माध्यमिक विद्यालयका प्रधानाध्यापकहरू, शिक्षक प्रतिनिधि र सरोकारवालाहरूको सहभागिता रहेको थियो । सहभागीहरूले विद्यालयमा विद्यार्थीहरूले खुलेर आफ्नो समस्या राख्ने वातावरण बनाउन आफूहरू प्रतिबद्ध रहेको बताएका छन् ।
अन्त्यमा कार्यक्रम अध्यक्ष तथा ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठी (रेष्ट) पैरवी समूह सिन्धुपाल्चोकका संयोजक यज्ञप्रसाद दंगालले सबैको उपस्थितीले कार्यक्रम प्रभावकारी भएको र यसका लागि धन्यवाद व्यक्त गर्दै कार्यक्रम समापन भएको थियो ।
