काठमाडौँ । काठमाडौँ विश्वविद्यालयका संस्थापक उपकुलपति तथा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त शिक्षाविद् डा. सुरेशराज शर्माको निधन भएको छ । मल्टिपल अर्ग्यान फेलियरका कारण उपचारका क्रममा काठमाडौँस्थित ह्याम्स अस्पतालमा असोज ७ गते बुधबार साँझ ६ः५० बजे उहाँको निधन भएको हो । नेपालको शिक्षा तथा लेखन क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउनुभएका डा. शर्माको निधनले नेपाली शैक्षिक तथा साहित्यिक क्षेत्रमा अपूरणीय क्षति पुगेको छ । उहाँलाई नेपालको प्राविधिक शिक्षाको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने व्यक्तित्वका रूपमा स्मरण गरिन्छ ।

डा. शर्मा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का प्रथम कार्यकारी निर्देशक हुनुहुन्थ्यो । उहाँकै सक्रियतामा जुम्ला, दोलखा, धनकुटा, सिन्धुलीलगायत जिल्लामा विभिन्न प्राविधिक शिक्षालय तथा टेक्निकल इन्स्टिच्युट स्थापना गर्न महत्वपूर्ण भूमिका निर्वाह भएको थियो । उहाँ राष्ट्रिय शिक्षा समितिको सदस्य–सचिवसमेत रहनुभएको थियो । नेपालको शैक्षिक नीति निर्माण र प्राविधिक शिक्षाको विस्तारमा उहाँको योगदान महत्वपूर्ण मानिन्छ ।

रसायनशास्त्रका प्राध्यापकसमेत रहनुभएका डा. शर्माले लामो समय नेपालको शिक्षा क्षेत्रमा योगदान दिनुभयो । शिक्षा, यात्रासंस्मरण, व्यक्तिवृत्त तथा अनुसन्धानका क्षेत्रमा उहाँका एकल लेखनका १० वटा पुस्तक प्रकाशित छन् । अन्य लेखकसँगको संयुक्त लेखनमा पनि उहाँका पुस्तकहरू प्रकाशित भएका छन् भने विभिन्न जर्नलको सम्पादनसमेत गर्नुभएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *