चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो चौमासिकमा करिब सात खर्ब रेमिट्यान्स भित्रिएको छ । गत कात्तिक महिनासम्म विप्रेषण आप्रवाह ३१ दशमलव चार प्रतिशतले बृद्धि भई छ खर्ब ८७ अर्ब १३ करोड पुगेको नेपाल राष्ट्र बैङ्कले जनाएको छ । कात्तिक महिनामा मात्रै एक खर्ब ३३ अर्ब ८२ करोड बराबर विप्रेषण आप्रवाह भएको थियो ।

केन्द्रीय बैङ्कका अनुसार यही अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) सात खर्ब ५४ अर्ब ९३ करोड पुगेको छ । चालु आवको पहिलो चौमासिकमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या एक लाख ४५ हजार ९७३ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या एक लाख २७ हजार ८३७ रहेको बैङ्कले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।

केन्द्रीय बैंकले चालु आर्थिक वर्ष २०८२÷८३ को पहिलो चौमासिकसम्मको देशको आर्थिक तथा वित्तीय स्थिती प्रतिवेदन सार्वजनिक गरेको छ । नेपाल राष्ट्र बैंकका अनुसार गत कात्तिक मसान्तसम्ममा वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति एक दशमलव ११ प्रतिशत रहेको छ ।

यो अवधिसम्ममा कूल विदेशी विनिमय सञ्चिति ३० खर्ब ५५ अर्ब ५२ करोड रहेको छ । अमेरिकी डलरमा उक्त सञ्चिति २१ अर्ब ५२ करोड बराबर हो । हालको विदेशी विनिमय सञ्चितिले १७ दशमलव ४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैंकले जनाएको छ ।
गत कात्तिक मसान्तसम्ममा चालु खाता दुई खर्ब ७९ अर्ब ६५ करोड र शोधनान्तर तीन खर्ब १८ अर्ब ४० करोड बचतमा रहेको छ । पहिलो चौमासिकमा विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ३१ दशमलव ४ प्रतिशतले र अमेरिकी डलरमा २५ दशमलव ३ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको कात्तिक महिनाको विप्रेषण आप्रवाह एक खर्ब ३३ अर्ब ८२ करोड रहेको छ ।

यही अवधिमा निर्यात ७७ दशमलव ५ प्रतिशतले बढेर ९३ अर्ब ५० करोड बराबर पुगेको छ । त्यस्तै आयात १८ दशमलव ७ प्रतिशतले बढेर छ खर्ब नौ अर्ब ४५ करोड पुगेको पनि राष्ट्र बैंकले जनाएको छ ।

पहिलो चौमासिकमा नेपाल सरकारको खर्च चार खर्ब ६८ अर्ब ८८ करोड र राजस्व परिचालन तीन खर्ब २६ अर्ब ५५ करोड रहेको छ । यही अवधिमा विस्तृत मुद्राप्रदाय तीन प्रतिशतले बढेको छ । कात्तिक मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाको निक्षेप परिचालन तीन दशमलव एक प्रतिशत अर्थात् दुई खर्ब २२ अर्ब ३८ करोडले बढेर ७४ खर्ब ८६ अर्ब २५ करोड पुगेको छ ।

त्यस्तै निजी क्षेत्रमा प्रवाहित कर्जा एक दशमलव दुई प्रतिशत अर्थात् ६५ अर्ब चार करोडले बढेर ५५ खर्ब ६२ अर्ब ७५ करोड पुगेको छ । वार्षिक विन्दुगत आधारमा निक्षेपको वृद्धिदर १३ दशमलव चार प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ६ दशमलव नौ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । यसरी हेर्दा देशको समग्र अर्थतन्त्रमा सुधारको संकेत देखिएको छ । तर रेमिट्यान्सकै भरमा देश चलाउनु पर्ने अवस्थालाई सुधार मान्न पनि सकिँदैन । देश आफ्नै भरमा चल्न सक्ने अवस्था आउनु पर्छ । यसतर्फ हामीले वस्तु आयातभन्दा निर्यातमा जोड दिनु आवश्यक छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *