काभ्रेको पनौती नगरपालिका वडानम्बर १० स्थित खोपासीमा राष्ट्रिय विभूति भृकुटीको जन्मघर निर्माण शुरु हुने भएको छ । यसका लागि तत्काल वागमती प्रदेश सरकारले यस आर्थिक वर्षमा एक करोड बजेट विनियोजन गरेको छ ।
नेपाल सरकार, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय तथा भृकुटी स्मृति प्रतिष्ठानको सहकार्यमा राष्ट्रिय विभूति राजकुमारी भृकुटीको जन्म कुर्पासी (खोपासी) मा भएको ऐतिहासिक तथ्य आधिकारिकरूपमा पुष्टि गरिएको छ । भृकुटी स्मृति प्रतिष्ठानले जन्मघरको पुरानो फोटोसहित पेश गरेको निवेदनअनुसार, पनौती नगरपालिका, वडानम्बर १० बाट माग भएअनुसार भृकुटी जन्मघर पुनर्निर्माणका लागि वागमती प्रदेश, भौतिक पूर्वाधार विकास मन्त्रालयसँग तीन करोड माग गरिएको थियो । सो अनुरोधलाई मन्त्रालयको क्रमागत बहुवर्षीय योजना शीर्षकमा दर्ता भई आ.व. २०८२÷८३ को बजेटमा एक करोड विनियोजन भएको छ ।
लिच्छवीकालीन वास्तुकलाको मौलिकतामा ध्यानकेन्द्र, संग्रहालयसहितको भवन निर्माण गर्न भृकुटी स्मृति प्रतिष्ठानको माग अनुसार, शहरी विकास तथा भवन कार्यालय, काभ्रेपलाञ्चोकको सहभागितामा पनौती नगरपालिकाको व्यवस्थापन सहयोगमा जनप्रतिनिधिहरू, इतिहासविद्हरू, संस्कृतिविद्हरू, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अधिकारीेहरू, भौतिक पूर्वाधार विकास मन्त्रालयका सम्बद्ध निकायहरू, सम्बन्धित विज्ञ तथा पत्रकारहरूबीच बृहत छलफल र गोष्ठी आयोजना भयो ।
पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारीले पनौती ऐतिहासिक शहर भएकाले यहाँ राष्ट्रिय विभूति भृकुटीको जन्मघर तथा भृकुटी पार्क निर्माण हुनु निकै गौरवको कुरा भएको बताउनुभयो । यसका लागि नगरपालिकाले सक्दो सहयोग गर्ने बताउँदै उहाँले सबैलाई आआफ्नो ठाउँबाट सहयोग गर्न अनुरोध पनि गर्नुभयो ।
कार्यक्रममा भृकुटी स्मृति प्रतिष्ठानका अध्यक्ष विश्व उलकले भृकुटीको जीवनी र यससँग सम्बन्धित ऐतिहासिक प्रमाणहरुका बारेमा उल्लेख गर्नुभयो । उहाँले कुर्पासी (खोपासी) को इतिहास, लिच्छवीकालका ठकुरी प्रशासकहरुको इतिहास्, राजा अंशुवर्मा, उदयदेव, नरेन्द्र देवलगायतका जीवनी, भृकुटीको विवाह र बिदाईको प्रशंग तथा खोपासी गुठीको जानकारी लगायतका विषयमा कार्यपत्र प्रस्तुत गर्नुभयो ।
यस्तै कृष्ण इञ्जिनियरिङ एण्ड डिजाइन कन्सल्टेन्सीका निर्देशक इञ्जिनियर पारस महतले भृकुटी जन्मघर र पार्क निर्माणका लागि लाग्ने खर्चका बारेमा जानकारी दिनुभयो । उहाँका अनुसार जन्मघर निर्माणका लागि १३ करोड ३९ लाख तथा पार्क र अन्य संरचना निर्माणको समग्र खर्च २५ करोड ५५ लाख लाग्नेछ । कार्यक्रममा प्रा डा सोमप्रसाद खतिवडाले इतिहासका कुराहरु लेख्दा कतिपय लेखकहरुले तोडमोड गरेका प्रशंग उल्लेख गर्दै प्रमाणिक अनुसन्धान गरेर सबैलाई मान्य हुने इतिहास लेख्नुपर्नेमा सुझाव दिनुभयो ।
यसरी सबै तयारी भएर भृकुटीको जन्मघर निर्माण हुन लाग्नु समग्र काभ्रेकै लागि गौरवको विषय हो । यसमा सबैले हातेमालो गर्दै सहयोग गर्नु जरुरी देखिन्छ ।
