ज्ञानमणि नेपाल कालोटोपी
इलाम । निकै पहिलेदेखि नै पूर्वी नेपालको यात्रा गर्न मन थियो तर भनेजस्तो समय मिलाउन सकिएको थिएन । केही दिनदेखि दिदीले पाथीभरा मन्दिर जाउँ, इलामतिर पनि घुम्न जाउँ भन्नु भयो । कुरा ठिकै लाग्यो, मैले भ्रमण गर्ने सल्लाह गरें । सोही अनुसार हामी टिम मिलायौं र मंसिर २१ गते कोही काठमाडौंबाट त कोही बनेपाबाट जाने गरि बीपी राजमार्ग हुँदै पूर्व लाग्यौं । हाम्रो टिममा काठमाडौंबाट दिदी अप्सरा नेपाल, भिनाजु शिवहरि आचार्य, भान्जी बिमला दाहाल घिमिरे, ज्याईं मिलन घिमिरे तथा बनेपाबाट म, श्रीमती पार्वती नेपाल र दिदीहरु लक्ष्मी दाहाल तथा सरस्वती घिमिरे थियौं । हाम्रो टिमका गाडी चालक हुनुहुन्थ्यो विकास महत । हामी ख्यालठट्टा गर्दै, रमाइला कुरा गर्दै लाग्यौं पूर्वतिर ।
हाम्रो गन्तव्य ताप्लेजुङको पाथीभरा मन्दिर दर्शनका साथै इलामको चिया बगान र भारतको दार्जिलिङसम्मको थियो । एउटै बाटो हुँदा हामीले सुनसरीका प्रसिद्ध धार्मिकस्थलहरु बुढासुब्बा मन्दिर, पिण्डेश्र बाबा धाम, दन्तकाली भगवती तथा बराहक्षेत्र पनि घुम्ने योजना थियो । हामी पहिले पाथीभरा जाने र त्यसपछि मात्र अन्य गन्तव्यमा जाने सल्लाह गरेर पूर्वतिर गइरहेका थियौं । हामी सबैजसो पहिलोपटक पूर्वी नेपालको यात्रामा थियौं । त्यसैले सबै ठाउँ नयाँ नै थियो हाम्रो लागि । तर सवारी चालक विकास महत भने धेरै पटक ती भागहरुको भ्रमणमा गइरहेका कारण उहाँले नै हामीलाई त्यहाँका बारेमा जानकारी गराइरहनुभएको थियो ।
पहिलो दिन हाम्रो यात्रा इलामको कन्याम पुगेर बास बस्ने थियो । हामी गइरहेका थियौं । २१ गते बिहान ५ बजे बनेपाबाट हिँडेका हामीहरु बेलुका ८ बजे इलामको कन्याम पुग्यौं । केही थकाइ र केही रमाइलो अनुभव गर्दै त्यो दिन कन्यामको होटल भ्यु प्वाइन्टमा बस्यौं । बिहान सबेरै हामीहरु इलामको सदरमुकाम हुँदै पाँचथरको फिदिम र ताप्लेजुङको फुङलिङका लागि निस्कियौं । साँझ ४ बजेतिर फुङलिङ बजार पुग्यौं । हामी त्यो दिन पाथीभराको तल्लो फेदी हुँदै माथिल्लो फेदीमा बास बस्ने योजनाका साथ अघि बढ्यौं । पहिलो दिनभन्दा दोस्रो दिनको यात्रा अलि कठिन महसुस भइरहेको थियो । किनकी सडकको अवस्था त्यति राम्रो थिएन, जति पहिलो दिनको यात्रामा सहज थियो । तैपनि गन्तव्यमा पुग्नै पर्ने बाध्यतालाई मध्यनजर गर्दै हामी तल्लो फेदीसम्म पुग्यौं । त्यहाँ पुग्दा करिब ७ बजिसकेको थियो । अँध्यारो भइसकेकाले हामीले यात्राको बाटो त्यति राम्ररी देख्न पाएनौं । त्यहाँबाट करिब डेढघण्टाको उकालो कठिनले पार गर्दै हामी माथिल्लो फेदी पुग्यौं । निकै चिसो महसुस भइरहेको थियो । थकाइ लागेकाले हामीले होटलमा खाना खायौं र भोलिपल्ट बिहान ३ बजे उठेर फेरि उकालो लाग्ने योजनाका साथ सुत्यौं ।
मंसिर २३ गते बिहान ३ बजे उठेर हामी उकालो चढ्यौं । करिब ३ घण्टाको उकालो यात्रापछि बल्ल पाथीभरा मन्दिर पुग्यौं । चिसो मौसम, हुरीबतास अनि उकालोको दौडधुपका बीच रमाइलो पनि उस्तै थियो । करिब २ घण्टा मन्दिर परिसरमा रहेर दर्शन गरियो । सूर्योदयको दृष्य हेरियो । भिडियो र फोटाहरु पनि खिचियो । निकै रमाइलो तर त्यहाँ पुग्नै सकस । जे होस् जीवनमा एउटा नयाँ अनुभव पनि लिइयो । हामी त्यो दिन बेलुकासम्म पुनः इलामको कन्याम पुग्नै पर्ने अवस्था थियो । राति ९ बजे गन्तव्यमा पुग्यौं र भोलिपल्ट रमाइलो गन्तव्य दार्जिलिङ जाने सपनाका साथ थकाइ भुल्दै निदायौं । २४ गते बिहान हामी भारतको पश्चिम बंगालस्थित दार्जिलिङका लागि प्रस्थान गर्यौं ।
करिब २ घण्टापछि दार्जिलिङको रेल स्टेशन पुग्यौं । जान सडक निकै साँघुरो थियो तैपनि पक्की र व्यवस्थित पनि उस्तै थियो । दार्जिलिङ कुनैबेला नेपालकै भूभाग थियो तर विसं. १८७१ सालको सुगौली सन्धिपछि नेपालले करिब एकतिहाई भूभाग गुमाउँदा यो सुन्दर नगर पनि अहिले भारतकै भूभाग भएको छ । हामीले त्यहाँको रमाइलो चिया बगान घुम्यौं, चिडियाखाना र महाकालेश्वर महादेवको मन्दिर दर्शन गर्यौं । त्यति मात्र होइन, तत्कालिन राजा वीरेन्द्रले अध्ययन गरेको सेन्ट जोसेफ कलेज पनि देख्यौं । जहाँ पुग्यौं ती सबै हाम्रा लागि विल्कुलै नयाँ ठाउँ थिए । हामी त्यहाँका रमाइला पलहरु मानसपटलमा कैद गर्दै पुनः नेपाल फर्कियौं । जतिबेला साँझको ६ बजिसकेको थियो । भोलिपल्टको बिहान रमाइलो कन्याम चिया बगान घुम्न जाने सपनाका साथ हामीले त्यो दिनको भ्रमण सक्यायौं ।
२५ गते बिहान इलामको प्रसिद्ध कन्याम चिया बगानमा रमाइलो घुमघाम गरियो । त्यसपछि फर्किनु पर्ने बाध्यताका साथ हामीहरु झापाको बिर्तामोड हुँदै सुनसरीको इटहरी पुग्यौं । हाम्रो गन्तव्य धरानका प्रसिद्ध धार्मिकस्थलहरुको भ्रमण गर्नु पनि थियो । दन्तकाली, पिण्डेश्वर धाम र बुढासुब्बा मन्दिरको दर्शनका लागि गयौं । त्यसपछि धर्तीकै पहिलो तीर्थस्थल मानिने बराहश्रेत्र पुग्यौं । त्यहाँ पुग्दा साँझ परिसकेको थियो । हामी उदयपुरको गाईघाट पुगेर बास बस्ने योजनाका साथ अघि बढेका थियौं । नभन्दै बेलुका ८ बजेतिर गन्तव्यमा पुग्यौं ।
२६ गते हामी बनेपा र काठमाडौं आइपुग्ने योजनाका साथ निस्कियौं । हाम्रो गन्तव्य ऐतिहासिक सिन्धुलीगढी र सिन्धुलीको कुशेश्वर महादेवको मन्दिर पनि बाँकी नै थियो । बिहान ११ बजेतिर सिन्धुलीगढी पुग्यौं । त्यहाँका इतिहाससँग सम्बन्धित विषयहरुको अध्ययन गरेर युद्ध संग्रहालय पनि घुम्यौं । त्यसपछि कुशेश्वर महादेवको दर्शनसँगै हाम्रो ५ रात ६ दिनको यात्रा सक्यायौं । बेलुका ८ बजेतिर बनेपा आयौं । यात्रा साँच्चै नै रमाइलो र अविष्मरणीय भयो ।
एक पटक पुग्नै पर्ने गन्तव्य पाथीभरा
नेपालमा हजारौं मठमन्दिरहरु छन् । तर ती सबै ठाउँमा पुग्न सजिलो छैन । केही यस्ता गन्तव्य छन् जसलाई पुग्नै पर्ने ठाउँका रुपमा लिइन्छन् । यसमध्ये ताप्लेजुङको प्रसिद्ध धार्मिक गन्तव्य पाथीभरा पनि एक हो । मनले चिताएको पुग्ने आस्थाका साथ यहाँ हजारौं भक्तजनहरु दैनिकरुपमा पुग्ने गरेका छन् । यहाँ पुग्न केही सहज केही कठिन पनि रहेछ । सबैभन्दा ठूलो समस्या भनेको सिन्डीकेट जस्तै स्थानीयवासीहरुले भनेकै मान्नु पर्ने बाध्यतामा भक्तजनहरु रहेका छन् । फुङलिङ बजारबाट तल्लोफेदीसम्म जम्मा १७ किलोमिटरको दूरी छ । जहाँ स्थानीयहरुका सुमो मात्र चल्छन् र यहाँ प्रतिव्यक्ति ४०० रुपैंयाँ एकतर्फी भाडा तोकिएको छ । धर्मको नाउँमा भएको यो सिण्डीकेटले गर्दा भक्तजनहरु भने निकै समस्यामा रहेका पाइयो । अर्कातर्फ तल्लोफेदीबाट माथिल्लो फेदीसम्म पुग्दा पनि भक्तजनहरुले खासै नराम्रो त भोग्नु पर्दैन तर माथिल्लो फेदीमा पुगेपछि भने बस्ने होटलहरु त्यति भरपर्दो पाइएन । तैपनि जसोतसो रात कटाउनु पर्ने छँदैछ ।
दार्जिलिङ नेपालकै झल्को दिने ठाउँ
नेपालकै परिवेश झल्काउने दार्जिलिङ भारतको पश्चिम बंगालको एउटा जिल्ला हो । यहाँका अधिकांश वासिन्दा नेपाली भाषी छन् । भौगोलिक बनावट पनि नेपालकै र मौसम पनि नेपालकै जस्तो देखिने यहाँ विकासका कामहरु भने राम्रो भएको पाइयो तर सडक संरचनाहरु भने निकै साँघुरा भएका कारण सडक अस्तव्यस्त देखिन्छन् । घरहरुको निर्माण भने राम्रो छ तर नेपालीभाषी दाजुभाइ भए पनि यहाँ नेपाली मुद्रा भने निकै अबमूल्यन रहेछन् । नेपाली पैसा माग्नेले पनि लिँदैनन् । कतै सहयोग दिँदा पनि नलिने रहेछन् । नेपालका सबै भागमा भारतीय रुपैंयाँ चल्तीमा छन् तर नेपालकै परिवेश भएको ठाउँमा नेपाली मुद्रा नचल्नु दुःखलाग्दो कुरा हो ।
यस्तै अर्कोपक्ष नेपालीहरु भारतका ठाउँमा जानुपर्दा नाकाहरुमा निकै कडाइ गरिने रहेछ तर नेपालमा भारतीयहरु भने खुलमखुला आउजाउ गर्ने अवस्थाप्रति पनि त्यति सन्तोषजनक भइएन । नेपाली नेताहरु भारतप्रति निकै झुकाव राख्छन् तर नेपालमा भारतको विकासबाट केही पाठ नसिकेजस्तो गरिरहेका छन् । यो नेपालको लागि निकै दुःखद विषय हो । हामीले हाम्रो ठाउँ बनाउन अरुको भर पर्नु साह्रै दुःखद विषय हो । हामी कहिले आत्मनिर्भर हुने होला ? मैले यात्राका क्रममा अनुभव गरेको यो विषयलाई हामीले सोच्नै पर्ने हो की ।
