सिन्धुपाल्चोक । २०७८ सालको विनाशकारी बाढीले बगाएको मेलम्ची–फट्टे–दुवाचौर पक्की मोटरेबल पुल पुनर्निर्माणका लागि ठोस पहल सुरु भएको छ । सोमबार मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले पुल निर्माण प्रस्तावितस्थलको स्थलगत अवलोकन गर्दै पुनर्निर्माण कार्यलाई प्राथमिकतामा राखेर अघि बढाइने बताउनु भयो ।

अवलोकनका क्रममा नगरप्रमुख तामाङले फट्टे पुल केवल एउटा भौतिक संरचना मात्र नभई स्थानीय जनजीवन, आवागमन, शिक्षा, स्वास्थ्य सेवा तथा आर्थिक गतिविधिसँग प्रत्यक्षरूपमा जोडिएको अत्यावश्यक पूर्वाधार भएको उल्लेख गर्नुभयो । २०७८ को बाढीपछि स्थानीयवासीले भोग्दै आएको कठिनाइ अब धेरै समय सह्य नहुने बताउँदै उहाँले पुल निर्माणमा थप ढिलाइ हुनु भनेको जनताको दैनिक जीवन झन् कष्टकर बनाउनुसरह हुने धारणा व्यक्त गर्नुभयो ।
जोखिमयुक्त भूगोललाई मध्यनजर गर्दै दिगो, सुरक्षित र दीर्घकालीन समाधान दिने खालको पुल निर्माण आवश्यक रहेकोमा जोड दिँदै नगरप्रमुख तामाङले संघीय, प्रदेश र स्थानीय सरकारबीचको प्रभावकारी समन्वय र सहकार्यबाट मात्र यस्तो ठूला पूर्वाधार परियोजना समयमै सम्पन्न गर्न सकिने बताउनुभयो ।

त्यस्तै, मेलम्ची नगरपालिका वडा नं. ८ का वडाध्यक्ष जितबहादुर दोङ्गले पुल निर्माण प्रक्रियाले गति लिनु सकारात्मक संकेत भएको बताउँदै शीघ्र निर्माण कार्य सुरु हुने अपेक्षा व्यक्त गर्नुभयो । उहाँले पुल निर्माणपछि बाढीपछिको पीडाबाट स्थानीयवासी मुक्त हुने, सुरक्षित आवागमन सुनिश्चित हुने र स्थानीय विकासको नयाँ अध्याय सुरु हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले आवश्यक समन्वय भएमा स्थानीयवासीबाट सहजीकरण र सहयोगमा कुनै कसर बाँकी नराखिने प्रतिबद्धतासमेत जनाउनुभयो ।

नगरप्रमुख तामाङको निरन्तर पहल तथा बागमती प्रदेश सरकारका खानेपानी, ऊर्जा तथा सिंचाइ मन्त्री माननीय कृष्णकुमार तामाङको सक्रियताका कारण प्रदेश सरकारले पुल निर्माणप्रति चासो देखाएको हो । यसैक्रममा प्रदेश सरकारका प्राविधिक टोलीले स्थलगत अध्ययन गर्दै सम्भावित डिजाइन, लागत अनुमान र प्रयोग हुने प्रविधिबारे प्रारम्भिक छलफलसमेत गरेको थियो ।
स्थलगत अवलोकन कार्यक्रममा नगरप्रमुख आइतमान तामाङसहित प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्र, वडा अध्यक्षहरू जितबहादुर तामाङ र गणेश तामाङ, बागमती प्रदेश सरकारका प्राविधिक तथा मेलम्ची नगरपालिकाका प्राविधिकहरूको सहभागिता रहेको थियो ।

मेलम्ची फट्टे दुवाचौर पुलको निर्माण यसै आर्थिक वर्षमै सुरु हुन्छः मन्त्री तामाङ

बागमती प्रदेशका खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङले मेलम्ची फट्टे दुवाचौर पुलको निर्माण यसै आर्थिक वर्षमै सुरु हुने बताएका छन् ।

मेलम्ची नगरपालिका ७ दुबाचौर स्थित बालुङ्गे गोल्मे डाँडामा नवनिर्मित तेर माने छोर्तेनको समुद्घाटन राप्ने तथा आयु अभिषेक कार्यक्रमका प्रमुख अतिथि मन्त्री तामाङले आफ्नो भनाइ राख्दै मेलम्ची फट्टे पुलको लागि यसै आर्थिक वर्षमा प्रदेश सरकारले बजेट विनियोजन गरेर निर्माणको लागि फाइल अघि बढिसकेको जानकारी दिए ।

यो पुल निर्माणको लागि छिट्टै फाइल अघि बढ्ने प्रक्रियामा रहेको जानकारी दिँदै तिनै तहका सरकार मिलेर छिट्टै पुल निर्माण सम्पन्न गरी यहाँका नागरिकको समस्या समाधान गर्ने उनले प्रतिबद्धता जनाए ।

सिँचाइ र खानेपानीको समस्या समाधानमा सहयोग गर्नुका साथै भौतिक पूर्वाधार निर्माणका कामहरूलाई निरन्तरता दिँदै यस क्षेत्रको चुनौतीको रुपमा रहेको उक्त पुल निर्माणमा प्रदेश सरकार प्रतिबद्ध रहेको उनको भनाइ छ । स्थानीय सरकारको आफ्नै स्रोतबाट निर्माण गर्ने योजना बनाए पनि उक्त पुल प्राविधिकरुपमा सम्भव नदेखिएपछि प्रदेश सरकारले आफ्नो दायित्वको रुपमा लिएर काम अगाडि बढाउने तयारीमा रहेको उनले जानकारी दिए ।

कार्यक्रमको अवसरमा वडा अध्यक्ष पासाङ तामाङले संस्कृति र सम्पदा जगेर्ना र विकासका लागि सधैं तत्पर रहेको बताए । कार्यक्रममा बौद्ध धर्मका लामा गुरुहरू, विभिन्न राजनीतिक दलका प्रतिनिधि, समाजसेवी तथा स्थानीयवासीको उल्लेख्य उपस्थिती रहेको थियो ।

धार्मिक विधि अनुसार सम्पन्न छोडतेन समुद्घाटन तथा वाङ अभिषेक कार्यक्रमले स्थानीय धार्मिक सांस्कृतिक पहिचान संरक्षणमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ। कार्यक्रममा सहभागी वक्ताहरुले धार्मिक सहिष्णुता सामाजिक एकता र सांस्कृतिक सम्पदाको संरक्षणमा यस्ता कार्यक्रमहरूको महत्व रहेको बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *