काभ्रे । पनौती नगरपालिका वडा नं. ५ ढलमले स्थित गैरिगाउँमा मानव कल्याण समाज (सेवाघर) को नवनिर्मित भवनको उद्घाटन गरिएको छ ।
शुक्रबार बागमती प्रदेश सरकारका सामाजिक विकास मन्त्री हरीप्रभा खड्गी श्रेष्ठले भवन उद्घाटन गरेकी हुन् । विपदमा परेका बालबालिकाहरुको संरक्षणका लागि बागमती प्रदेश सामाजिक विकास मन्त्रालयले भवन निर्माणका लागि ५ करोड बिनियोजन गरेको थियो ।
कार्यक्रममा मानव कल्याण समाज (सेवा घर)मा रहेका दुईजना बालबालिकाको अन्नप्राशन गरिएको छ । सुयस मानव र दर्शिका मानवलाई सामाजिक विकास मन्त्री हरीप्रभा खड्गी श्रेष्ठले खाना खुवाएकी थिइन् ।
भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै सामाजिक विकास मन्त्री खड्गीले मानवता, सम्पदा, संस्कृति, कला नेपालको पहिचान भएको बताइन् । नेपालीको अमूल्य पहिचान संरक्षणको लागि सबैजना एकजुट हुनुपर्ने उनको भनाइ थियो । आफूले आफ्नो पहिचान गर्न सक्नुपर्ने भन्दै खड्गीले गृहणी महिलाको सशक्तिकरणको लागि प्रदेश सरकारले बजेट छुट्याएर काम गरिरहेको जानकारी दिइन् ।
समाजले सडक तथा सार्वजनिक स्थलहरुबाट उद्धार गरिएका ४५ जनालाई गुणस्तरीय शिक्षा दिक्षासहित आश्रय प्रदान गरिरहेको अध्यक्ष सुमित्रा चौंलागाँईले जानकारी दिइन् । ३० बालबालिकालाई स्वास्थ्य उपचार पश्चात घर पत्ता लगाई पारिवारिक पुनर्मिलन गरिएको उनले बताइन् ।
पनौती नगरपालिका वडा नं ५ का वडाअध्यक्ष बिनोद खत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बागमती प्रदेश सांसद कञ्चनचन्द्र बादे, पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारी, रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामा र संविधान सभा सदस्य रामहरि सुवेदी लगायतको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *