काभ्रे । बाढीपहिरोको गएको दुई महिना बितिसक्दा पुनःनिर्माण र आवासको व्यवस्था हुन नसकेको भन्दै जिल्लाका पीडितले सुरक्षित बासस्थानको माग गरेका छन् । जाडोयाम सुरु भएसँगै सुरक्षित बास आवश्यक पर्ने भएकाले स्थानीय सरकारसँग बासस्थानको व्यवस्था गर्न बाढीपहिरो पीडितले माग गरेका हुन् ।
बेथानाचोक गाउँपालिका–३ का बाढीपहिरो प्रभावित स्थानीयले सोमबार सुरक्षित बासस्थानसहितको माग गर्दै गाउँपालिकालाई ज्ञापनपत्र बुझाएका छन् । पाँच बुँदे ज्ञापनपत्रमार्फत बाढीपहिरोमा परी दुई जनाको मृत्यु भएको जनाउँदै मृतकका परिवारलाई उपयुक्त घरबासको प्रबन्ध गर्न उनीहरुले माग गरेका हुन् ।
भूगर्भविद्को प्राविधिक अध्ययन गराएर स्थायीरूपमा पहिरो नियन्त्रणको व्यवस्था गर्नुपर्ने र बालीनाली लगाउन नहुने गरी पहिरोले पुरिएको बारीलाई पूर्वअवस्थामा ल्याउन गाउँपालिकाबाट सहयोगको व्यवस्था गर्न माग गरिएको ज्ञापनपत्र गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीलाई बुझाएका छन् । साथै पीडितले जाडोयाममा बसोबास तथा स्थायी पुनर्वासमासमेत पहल गरिदिन आग्रह गरे ।
दुई महिनाअघिको बाढीपहिरोले काभ्रेपलाञ्चोकमा ठूलो जनधनको क्षति भएको थियो । बाढीपहिरोमा सयौँ परिवार घरबारविहीन अवस्थामा पुगे । ज्यान गुमाउनेका परिवारले सरकारद्वारा प्रदान गरिएको राहत रकम पाए भने जिल्लाका हजारौँ पीडित परिवार दुई महिनादेखि राहतको पर्खाइमा छन् । बाढीपहिरोबाट जिल्लामा ७९ जनाको मृत्यु भएको थियो भने छ जना अझै बेपत्ता छन् ।
गत असोज १० देखि १३ गतेसम्म परेको अविरल वर्षापछि आएको बाढीपहिरोले जिल्लाका सबैजसो स्थानीय तहमा जनधनमा क्षति पुर्याएको दुई महिना बितिसक्दा पनि स्थानीय तहले क्षतिको यकीन विवरण तयार गरेका छैनन् । सोही कारणले सरकारले दिन लागेको अल्पकालीन राहत रकम प्रदान गर्न सकिएको छैन । जिल्ला विपद् व्यवस्थापन समितिले गत कात्तिक अन्तिम साता बाढीपहिरोले जनधनको क्षति पुर्याएकोबारे छिटो पूर्ण विवरण पठाउन स्थानीय तहलाई निर्देशन दिएको थियो ।
समितिले स्थानीय तहका जनप्रतिनिधि तथा प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन दिँदै क्षतिको पूर्ण विवरण उपलब्ध गराउन भनेको थियो । विवरण उपलब्ध नगराउँदा तत्कालीन राहत तथा पुनर्वासका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत आउने सरकारी राहत उपलब्ध गराउन नसकिएको समितिले जनाएको छ ।
प्राधिकरणको वेभसाइटमा ‘क्षतिको पूर्ण विवरण इन्ट्री’ गरी काभ्रेपलाञ्चोक प्रशासन कार्यालय तथा जिल्ला विपद् व्यवस्थापन समितिमा विवरण बुझाउन निर्देशन दिइएको सहायक प्रमुख जिल्ला अधिकारी सुवास पौडेलले बताउनुभयो । जाडोयाम सुरु भइसकेकाले बाढीपहिरो पीडितलाई थप कष्ट हुने भन्दै तत्काल क्षतिको विवरण पठाउन भनिएको पौडेलले बताउनुभयो ।
समितिद्वारा अस्थायी आवास निर्माणका लागि ५० हजार उपलब्ध गराउने मापदण्ड अनुसारको विवरणसमेत स्थानीय तहसँग माग गरिएको सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो । उहाँका अनुसार सरकारले प्रारम्भिक क्षतिका आधारमा वर्गीकरण गरी पठाएको स्थानीय तहस्तरको अनुदान भने कार्यालयले गत कात्तिक १४ गते सम्बन्धित निकायमा पठाइसकेको छ । प्राधिकरणको पत्रसहित सङ्घीय सरकारबाट सङ्कटग्रस्त क्षेत्र घोषणा भएका स्थानीय तहलाई रकम उपलब्ध गराइएको हो । काभ्रेपलाञ्चोकका १३ स्थानीय तहमध्ये ११ तहमा नौ करोड २५ लाख अनुदान उपलब्ध गराइएको कार्यालयले जनाएको छ ।
यस्तै केन्द्रीय सरकारका तर्फबाट ज्यान गुमाएका परिवारलाई यसअघि प्राप्त दुई लाखका दरले रकम उपलब्ध गराइसकिएको कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *