पनाैती । संस्थागत सुशासन, प्रभावकारी व्यवस्थापन र गुणस्तरीय सेवा प्रवाहलाई प्राथमिकता दिँदै ज्योति मिर्मिरे सामूहिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले दुईदिने आन्तरिक कार्यविधि सभा सम्पन्न गरेको छ । संस्थाको आयोजनामा कार्तिक १३ र १४ गते संस्थाकै सभाहलमा सम्पन्न सभामा विद्यमान कार्यविधिहरूको अध्ययन, समीक्षा, सुधार तथा समयानुकूल परिमार्जनका विषयमा विस्तृत छलफल गरिएको थियो ।
संस्थाका अध्यक्ष उद्वव सापकोटाको सभापतित्व तथा प्रेमनाथ वाग्लेको सहजीकरणमा सम्पन्न सभामा संस्थामा प्रचलित कार्यविधिहरूलाई थप व्यावहारिक, प्रभावकारी र समयसापेक्ष बनाउने विषयलाई प्राथमिकता दिइएको थियो । संस्थागत सुशासनलाई थप सुदृढ बनाउने, आन्तरिक व्यवस्थापनलाई चुस्तदुरुस्त बनाउने, कार्यसञ्चालनमा एकरूपता कायम गर्ने तथा सदस्यहरूलाई प्रदान गरिने सेवाको गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले सभा आयोजना गरिएको संस्थाले जनाएको छ ।
सभामा संस्थाका पदाधिकारी, लेखा सुपरिवेक्षण समितिका प्रतिनिधि, सेवाकेन्द्र सञ्चालन उपसमितिका सदस्य तथा कर्मचारीहरूको सहभागिता रहेको थियो। दुई दिनसम्म सञ्चालन भएको छलफलका क्रममा सहभागीहरूले कार्यविधिमा आवश्यक सुधार, संस्थाको कार्यसम्पादनलाई थप व्यवस्थित बनाउने उपाय तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयमा आ–आफ्ना सुझाव प्रस्तुत गरेका थिए।
सभाबाट प्राप्त सुझाव तथा निष्कर्षले संस्थाको आन्तरिक कार्यप्रणालीलाई थप पारदर्शी, व्यवस्थित र जवाफदेही बनाउनुका साथै संस्थाको समग्र कार्यसम्पादन र सदस्य सेवामा सकारात्मक सुधार ल्याउन महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ।
