काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगन थापालाई आगामी फागुन २१ गतेको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा प्रधानमन्त्रीको उम्मेद्वार घोषणा गरेर जाने निर्णय गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबार बसेको कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले सभापति थापालाई प्रधानमन्त्रीको उम्मेद्वार घोषणा गरेर प्रतिनिधिसभा सदस्यको निर्वाचनमा जाने निर्णय गरेको हो । यो सहितका ५ वटा निर्णय गरेको पार्टी प्रवक्ता देवराज चालिसेले जानकारी दिएका छन् ।
बैठकका ५ निर्णयः–
(१) २०८२ फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा पार्टीका तर्फबाट नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई पार्टीको तर्फबाट भावी प्रधानमन्त्री उम्मेद्वारका लागि नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले गर्नुभएको प्रस्ताव र उपसभापति पुष्पा भुसालले गर्नुभएको समर्थनलाई कार्यसमितिको यो बैठक सर्वसम्मत पारित गर्दछ ।
(२) २०८२ फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि पार्टीका प्रवक्ता देवराज चालिसेको संयोजकत्वमा केन्द्रीय प्रचार प्रसार समिति गठन गर्ने ।
(३) नेपाली कांग्रेस केन्द्रीय कार्यालय भवन पुनर्निर्माणका लागि पार्टीका निवर्तमान कोषाध्यक्ष उमेश श्रेष्ठको संयोजकत्वमा केन्द्रीय कार्यालय भवन पुनर्निर्माण समिति गठन गर्ने ।
(४) २०८२ माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा पार्टीका तर्फबाट आवश्यक समन्वय गर्न उपसभापति पुष्पा भुसाललाई जिम्मेवारी प्रदान गर्ने ।
(५) नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति गठन गर्ने ।
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सभापति गगनकुमार थापाको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी. नगर, ललितपुरमा आज बसेको थियो । बैठकमा महामन्त्री प्रदीप पौडेलले विभिन्न प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।
त्यसअघि नव निर्वाचित सभापति थापाले पदबहाली गर्नुभएको थियो । उहाँले सो अवसरमा बदल्यौँ कांग्रेस, बदल्छौँ देश भन्ने सन्देश लेखिएको संकल्पपत्रमा हस्ताक्षरसमेत गर्नुभएको थियो ।
